ताजा समाचार

जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार गर्दै जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबार जिल्लाभरिका ९ वटै स्थानीय तहहरूलाई सम्बोधन गर्दै छाउगोठ भत्काउने अभियानमा लाग्न पत्राचार गरेका हुन्। शनिबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेर मृत्यु भएको थियो।

‘हामीले सोमबार ९ वटै स्थानीय तहहरूलाई पत्राचार गरेका छौं। त्यहाँ रहेका सबै छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि स्थानीय तहहरूलाई अनुरोध गरेका छौं। त्यसमा हाम्रो प्रहरी पनि सहभागी हुन्छ। यो कुप्रथा उन्मूलन गर्न अभियान नै सञ्चालन गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने।

प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको पत्रमा भनिएको छ, ‘कृष्णपुर नगरपालिका–१ की कमला आउजीको छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भएको सन्दर्भमा यस जिल्लाका ९ वटै स्थानीय तहमा रहेका छाउगोठ हटाएर परम्परागत रूपमा रहेको कुप्रथा हटाउन आवश्यक देखिएकाले पालिकाबाट आवश्यक निर्णय गरी उक्त सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध छ।’

प्रमुख जिल्ला अधिकारी ढकाल र कृष्णपुरका मेयर हेमराज ओझा सोमबार मृतकको घरको निरीक्षणमा गएका थिए। कमलाको घरमा रहेको छाउपडी मर्मत नगरेको भएकाले उनी जेठाजुको घरमा सुत्न गएकी थिइन्। सोमबार उनको जेठाजुको घरको छाउगोठ भने भत्काएको अवस्थामा थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org