ताजा समाचार

सिरियाली रक्षा मन्त्रालयमा इजरायली आक्रमण युद्ध विरामको सुरुवातः अमेरिका

दमासकस, सिरिया । इजरायली सेनाले बुधबार राति सिरियाको राजधानी दमासकसमा रहेको रक्षा मन्त्रालयमाथि आक्रमण गरेको छ। सिरियाको दक्षिणी क्षेत्र ड्रुज प्रान्तमा चार दिनदेखि जारी हिंसात्मक झडपपछि इजरायलको यो प्रतिघात आएको हो।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुज समुदायको सुरक्षाका लागि आफूहरू बाध्य भएर आक्रमणमा उत्रिएको बताउँदै, “हामी त्यहाँ रहेका सत्ताका ग्याङहरूलाई हटाउनेछौँ,” भनेका छन्।

ड्रुज र बेडुयन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा हालसम्म ३०० भन्दा बढीको मृत्यु भइसकेको छ। घटनाक्रमप्रति अमेरिका पनि गम्भीर बनेको छ। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गर्दै, “केही घण्टामै स्थिति साम्य हुने संकेत देखिएको छ,” बताएका छन्।

रुबियोले अरब मुलुकहरू र अमेरिका मिलेर शान्तिपूर्ण समाधानको प्रयास गरिरहेको उल्लेख गरेका छन्। युद्धविराम प्रस्तावबारे इजरायली पक्षबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

सिरियाली समाचार संस्थाहरूका अनुसार सुयडाबाट त्यहाँ खटिएको सरकारी सेना फिर्ता भइसकेको छ। सिरियाली सरकार र सुयडाका धार्मिक नेताबीच सहमति भएपछि सेना हटाइएको पुष्टि गरिएको छ।

गत डिसेम्बरमा सुन्नी विद्रोही समूहले राष्ट्रपति बशर अल(आसादको सरकारलाई अस्थिर बनाएको थियो। त्यसपछि सिरियाली सेनाले सुयडामा आक्रमण गरेको यो पहिलोपटक हो। पछिल्लो तनाव पनि सोही घटनाको प्रतिक्रिया स्वरूप भएको बताइन्छ।

यद्यपि राष्ट्रपतिले ड्रुज समुदायसहित अल्पसंख्यकहरूको सुरक्षाको प्रतिबद्धता दोहोर्‍याइरहे पनि लगातार आक्रमण र झडपका कारण उनीहरू अझै असुरक्षित महसुस गरिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org