ताजा समाचार

मुख्यमन्त्री लामाले सचिवालय सदस्य मार्फत बुझाए राजीनामा पत्र

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ ।

लामाले आफ्ना सचिवालय सदस्य छत्र लामामार्फत प्रदेश प्रमुखको प्रमुख स्वकीय बलराम गैरेलाई राजीनामा पत्र बुझाएका हुन् । प्रदेश प्रमुख दिपक देवकोटा उपचारपछि सोमबार हेटौँडा फर्केका छन् । उनी निवासमा आराम गरिरहेका छन् ।

मुख्यमन्त्रीको राजीनामा पत्र प्राप्तपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।

यसअघि १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब बढेकाे थियाे ।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । सभापतिसहितको भेटपछि राजीनामा दिन लामा तयार भएका हुन् ।

लामाले राजीनमा दिएपछि नेपाली कांग्रेसकै इन्द्रबहादुर बानियाँले सत्तकाे नेतृत्व गर्नेछन्र । सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।

त्यस्तै, मुख्यमन्त्री लामाको प्रस्ताव अनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएका हुन् ।

लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा सपथ ग्रहण रोकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org