ताजा समाचार

एशियन थाइ फुड्सले आईपीओ जारी गर्ने, हिमालयन सेक्युरिटीज निष्कासन प्रबन्धक

काठमाडाैं। नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एशियन थाइ फुड्स लिमिटेड (एटीएफ) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ ।

सम्झौतामा एशियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहक उपस्थित थिए ।

यो साझेदारीले एटीएफलाई सार्वजनिक बजारमा प्रवेश गर्न तथा विस्तारका लागि सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरूसहित एटीएफले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दछ । कम्पनीका लोकप्रिय ब्रान्डहरू जस्तै रमपम, टू पीएम र प्रितीले आफ्नो प्रामाणिक स्वाद र सुलभताका कारण बलियो पहिचान बनाएका छन् ।

एटीएफका प्रबन्ध निर्देशक महेश जाजुले भने, “हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँगको यो सम्झौताले हाम्रो विकास यात्रामा एउटा रोमाञ्चक अध्यायको सुरुवात गरेको छ । पुँजी बजारमा उहाँहरूको विशेषज्ञताले आईपीओ प्रक्रियालाई सहज बनाउनेछ, जसले हामीलाई नवप्रवर्तन र विश्वव्यापी पहुँचमा थप लगानी गर्न मद्दत गर्नेछ ।”

आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँट आउँदो महिनाहरूमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org