ताजा समाचार

भौतिक पूर्वाधार मन्त्री घिसिङकाे पहल पश्चात कोदारी राजमार्ग सञ्चालनमा !

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु सहित पाँच स्थानमा पहिरो हटाएर सोमबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक सहितको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे टोलीले जानकारी समेत लिएका छन् ।

चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो। त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरूलाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो।

सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौँको सङ्ख्यामा रहेका दसैँका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org