ताजा समाचार

ठेक्का लिएर अलपत्र पार्ने २५ ठेकेदार सँगकाे ठेक्का तोडियो !

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि काम सम्पन्न नगरी अलपत्र पारेका २५ ठेक्का सोमबार रद्द गरेको छ। सडक निर्माणका लागि विभिन्न आर्थिक वर्षमा—२०६७/६८ देखि २०७९/८०—सम्झौता गरिएका यी ठेक्काहरू वर्षौंदेखि रुग्ण अवस्थामा रहेपछि कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ठेक्का तोडिएको जानकारी दिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयका मन्त्री कुलमान घिसिङले काम नगर्ने तथा आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई कडा निर्देशन दिएपछि सडक विभागअन्तर्गतका कार्यालयहरूले रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका थिए।

गत कात्तिक ११ गते सडक डिभिजन कार्यालयले सम्बन्धित २५ निर्माण व्यवसायीलाई ‘किन ठेक्का नतोड्ने ?’ भनी स्पष्टीकरण सोधेको थियो। तर व्यवसायीहरूले दिएको जवाफ असन्तोषजनक रहेको ठहरपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले बताए।

कानून बमोजिम ठेक्का सम्झौता अन्त्यसँगै सम्बद्ध व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत, धरौटी, पेश्की जमानत जफत गर्ने तथा पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। साथै अधुरो काम पूरा गर्न लाग्ने खर्चसमेत सरकारी बाँकीसरह असुलउपर गरिने छ।

निर्माण व्यवसायीहरू पटक–पटक म्याद थप हुँदासमेत काम अघि नबढाई वर्षौंदेखि कार्यस्थलमा उपस्थित नहुँदा ठेक्का उल्लङ्घन भएको स्पष्ट देखिएको कार्यालयको निष्कर्ष छ। लिखित तथा मौखिक अनुरोधहरू बेवास्ता गर्दै निर्माण कार्यमा चासो नदेखाएकाले अन्ततः ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org