ताजा समाचार

आज रास्वपाको बैठक, १० एजेन्डामा छलफल केन्द्रित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने भएको छ । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको छ । यस्तै, पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे समेत बैठकमा जानकारी गराइनेछ । बैठकमा सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा हुने बताइएकोछ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने रास्वपाको तयारी छ ।

यस्तै, रास्वपाले निर्वाचन केन्द्रित वाचापत्र बनाउन बनाएको कार्यदल पनि विस्तार गर्नेबारे छलफल गर्नेछ । संविधान संशोधनको मुद्दा उठिरहेका बेला संविधान परिमार्जन कार्यदल संयोजक तोक्नेबारे रास्वपा बैठकमा छलफल हुने बताइएको छ । रास्वपाले संयोजक मनोनयन गरेर तत्काल काम शुरु गर्न निर्देशन दिने भएको छ ।

यस्तै, रास्वपाले मिडिया अध्ययन कार्यदल बनाउने तयारी गरेको छ । आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवम् विश्लेषण, केन्द्रीय तहमा नियमित ब्रिफिङ, आवश्यकता अनुसार घटना ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्न यो कार्यदल बनाउन लागिएको हो ।रास्वपा राजनीति अध्ययन कार्यदल बनाउने विषयमा छलफलमा जुट्ने भएको छ । राजनीतिक दल, समूह, शक्तिको गतिविधि नियमित अध्ययन एवम विश्लेषण, केन्द्रीय तहमा ब्रिफिङ, आवश्यकताअनुसार घटनाको ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ यसको उद्देश्य हुने छ ।

यस्तै, आगामी निर्वाचनमा उम्मेदवार छनौट सिफारिस समिति विस्तारबारे पनि रास्वपाले छलफल गर्ने भएको छ । राजनीतिक दल–संगठन अध्ययन कार्यदल बनाउने, केन्द्रीय संगठन विभागबाट ठूला एवम् वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीति अध्ययन गर्ने र जेन्जी युवा लक्षित अभियान चलाउने बारे पनि आजको बैठकमा एजेन्डा बनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org