ताजा समाचार

हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले अपत्ती जनाएका छन् ।

उनले मुआब्जा बिना जनताको निजी सम्पत्तिमाथि हस्तक्षेप गर्न नहुने भन्दै बाइपास कै उत्तम विकल्प भएको बताएका छन् । सडक विस्तारको विरोधी नभए पनि घना बस्तीको बिचबाट राजमार्ग लैजानु तर्कसङ्गत नहुने उनको भनाइ छ ।

थापाले महेन्द्र राजमार्ग बन्नु अगाडि नै हेटौँडाको मुख्य बजार बसिसकेकाले ती संरचनालाई अतिक्रमण भन्न नमिल्ने स्पष्ट पारे । थापाले २०७४ सालमा देउवा नेतृत्वको सरकारले बजार क्षेत्रमा १६–१६ मिटर सडक कायम गर्ने र रातोमाटे–राप्ती खोला हुँदै सामरीसम्म बाइपास बनाउने निर्णय गरेको स्मरण गराए ।

आफ्नो चुनावी पराजयपछि उक्त निर्णय दबाइएको र स्थानीय जनप्रतिनिधिले सशक्त आवाज उठाउन नसक्दा अहिले हेटौँडावासीले यो नियति भोग्नुपरेको उनको आरोप छ ।

थापाले फेसबुकमा लेखेका छन्ः

कानुनी राज्यको नाङ्गो उपहास!
सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नु’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दै छ। बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती अनि जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबर्जस्ती कब्जा गर्ने कार्य जघन्य अपराध हो। शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org