ताजा समाचार

हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा साम्पाङले आफू उम्मेदवार बन्ने निर्वाचन क्षेत्र सार्वजनिक गरेका हुन्। उनले उम्मेदवारी घोषणा गरेको सुनसरी–१ बाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राई निर्वाचित भएका थिए। त्यसबेला राईलाई नेकपा एमालेको समर्थन रहेको थियो। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन ख्युङ्बा तामाङलाई झिनो मतान्तरले पराजित गरेका थिए।

साम्पाङको उम्मेदवारी घोषणा भएको सुनसरी–१ क्षेत्र विगतमा कम्युनिस्टहरूको किल्लाका रूपमा चिनिँदै आएको छ। पटक–पटक यस क्षेत्रबाट कम्युनिस्ट नेताहरू निर्वाचित हुँदै आएका छन्। यही कम्युनिस्ट प्रभाव रहेको क्षेत्रमा यसपटक साम्पाङले कडा चुनौती प्रस्तुत गर्ने तयारी गरेका हुन्।

हाल उनी निर्वाचन प्रचारका लागि देश दौडाहामा रहेका छन्। विशेष गरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा उनले आक्रामक चुनावी प्रचार अभियान सञ्चालन गरिरहेका छन्।

साम्पाङले ‘हर्कवाद’लाई आफ्नो प्रमुख राजनीतिक धारका रूपमा अघि सार्दै श्रम संस्कृतिबाट मात्रै देश समृद्ध र विकसित बन्न सक्ने विचारलाई चुनावी एजेन्डा बनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org