ताजा समाचार

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

शुक्रबार युवराज सफलले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्। रिट दायर गरेपछि सफलले भने, “रिट पेस गरेको छु। सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ।” गत पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्।

रविले आफूविरुद्ध राजनीतिक प्रतिशोधको नियतले मुद्दा दायर गरिएको दाबी गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। सोही आधारमा महान्यायाधिवक्ता भण्डारीले निर्णय गरेको उल्लेख छ।

भण्डारीद्वारा जारी निर्णयमा पीडित बचतकर्ताहरूको हक–हितलाई प्राथमिकतामा राख्दै रवि लामिछाने प्रतिवादी रहेका ठगी तथा सहकारी ठगीसम्बन्धी मुद्दा भने कायम राख्ने उल्लेख छ।

कास्की, काठमाडौं, रुपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा दायर ठगी तथा सहकारी ठगीका अभियोग यथावत् रहने गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग भने लागू नहुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन गर्न स्वीकृति दिइएको निर्णयमा जनाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org