हिमाल तथा पहाडमा हर्षोल्लासका साथ मनाइँदै होली, कुन देशमा कसरी मनाइन्छ ?
काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । विशेषगरी युवतीहरुलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि छ्यापेर मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो ।
यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहज रुपमा हिँड्डुल गर्न सकेको भक्तपुरको सूर्यविनायकबाट पुतलीसडकमा निजी क्षेत्रमा काम गर्न आउनुभएकी रमा केसीले बताउनुभयो । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।
उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चिरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा तोयराज नेपालले राससलाई जानकारी दिए ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चिरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेल बताउँछन् । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।
यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । तराइका जिल्लामा मङ्गलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएका छन् ।
यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङगिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।
रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक वेशभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी, श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ । फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवद्र्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिएको पाइन्छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












