बेनी अस्पतालको मुहार फेरिएपछि जनविश्वास बढ्यो
म्याग्दी । हर्नियाको समस्या भएका रघुगंगा गाउँपालिका–३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनीस्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गराउनुभयो । ‘बि’ नेगेटिभ रगत र मुटुको समस्याले थलिएकी धौलागिरी–२ लुलाङकी ५१ वर्र्षीया मनकुमारी बिकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गर्नुभयो ।
पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा बिकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु¥याएका थिए । चिकित्सकका अनुसार बि नेगेटिभ रगतको कमी र उनको मुटुको चाल प्रतिमिनेट ७५ भन्दा माथि हुनुपर्नेमा ४६ मा झरेको थियो ।
दाहिने खुट्टा र कम्मरलाई जोड्ने ठाउँमा भएको सङ्क्रमणका कारण एउटा खुट्टा चलाउनै नसक्ने गरी कुँजिएपछि गत माघमा बेनी अस्पताल ल्याइएकी लुलाङकै पानु बिक एक वर्षदेखिको स्वास्थ्य समस्याबाट मुक्त भई आफैं हिँडेर घर फर्किइन् ।
क्षयरोग र कुपोषणको शिकार भएकी बिकको शल्यक्रियाका साथै दुई महिनासम्म चिकित्सकको निगरानीमा उपचार गरिएको थियो । अस्पतालमा ल्याउँदा २३ किलोग्राम तौल भएकी उनी फर्कंदा ४३ केजीकी भइन् ।
पिप्लेका खत्री, लुलाङका मनकुमारी र पानु जस्ता सयौं बिरामीले जिल्लाकै सरकारी अस्पतालमा सर्वसुलभ र सहज रुपमा शल्यक्रिया सहितको सुविधा पाएपछि राहत महसुस गरेका छन् ।
अस्पतालले जटिल प्रसूति, हाडजोर्नी, हाइड्रोसिल, हर्निया, पत्थरी, एपेन्डिसाइटिस, पाठेघर खस्ने, छालाको प्रत्यारोपण गर्नुपर्ने लगायत समस्या भएका बिरामीलाई शल्यक्रिया सहितको सेवा प्रदान गरेको छ । बेनीमा शल्यक्रिया सेवा पाएपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने समस्यामा कमी आएको छ ।
गरिब तथा विपन्न सर्वसाधारणको उपचार सेवामा पहुँच बढ्नुका साथै समय र पैसाको बचत भएको हर्नियाको शल्यक्रिया गर्नुभएका खत्रीले बताउनुभयो । “काठमाडौ, पोखरा, चितवन जाँदा धेरै खर्च र समय लाग्दथ्यो,” खत्रीले भन्नुभयो – “बेनीमै सुविधा पाएपछि सजिलो भयो । राहत मिलेको छ ।”
अस्पतालमा अहिलेसम्म ८४ वटा जटिल र साउनदेखियता १४९ वटा मध्यम किसिमका शल्यक्रिया सम्पन्न भएका छन् । विसं २०७१ देखि शल्यक्रियामार्फत जटिल किसिमको प्रसूति गराउने सेवा सुरु गरेको अस्पतालले गत वर्षदेखि अन्य शल्यक्रिया समेत सुरु गरेको थियो ।
पाठेघर बाहिर बच्चा बसेको, छालाको प्रत्यारोपण, अण्डकोष तल नझरेको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर अचेत भएका, नसा चुँडिएका, हड्डीले ठाउँ छाडेर जटिल अवस्थामा पुगेका बिरामीको सफल शल्यक्रिया गरिएको चिकित्सक धीरेन मल्लले बताउनुभयो ।
“सीमित उपकरणका बाबजुद पनि जटिल किसिमका शल्यक्रिया सफल भएका छन्,” मल्लले भन्नुभयो – “सम्भव भएसम्म बिरामीलाई अन्त जान र मृत्युवरण गर्न नपरोस् भनेर प्रयास गरिरहेका छौं ।” अस्पतालले दुई सयदेखि सात हजार रुपैयाँ शुल्कमा दिने शल्यक्रिया सेवा लिन जिल्ला बाहिर जाँदा कम्तीमा पचास हजार रुपैयाँ खर्च हुन्छ ।
सुविधा विस्तारसँगै चिकित्सक, कर्मचारीको सक्रियता, व्यवस्थापन समितिको समन्वयात्मक भूमिका र समुदायको सहयोगबाट जिल्ला अस्पतालको सेवा प्रवाहमा सुधार आएको हो । पछिल्लो समय बेनी अस्पतालप्रति सर्वसाधारणको विश्वास बढेको अस्पतालमा बुवालाई उपचार गराउन आएका अन्नपूर्ण–८ राम्चेका भक्तबहादुर पुर्जाले बताउनुभयो ।
“पहिले सिधै पोखरा, काठमाडौँ जाने बिरामी अहिले जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि सम्भव नहुने सेवाका लागि मात्र बाहिर जाने गरेका छन्,” उहाँले भन्नुभयो । शल्यक्रिया सेवाका लागि बागलुङ, पर्वत र मुस्ताङबाट समेत बिरामीहरु आउन थालेका छन् । उपचारमा चौबीसै घण्टा सेवामा तल्लीन रहने युवा चिकित्सकहरुको सक्रियता र जाँगर देखेर म्याग्दीका बासिन्दा खुसी भएका छन् ।
समयमै सही उपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य यस जिल्लाका बासिन्दाको स्वास्थ्य स्थिति सुधार्न उनीहरु लागिपरेका छन् । देशका कतिपय सरकारी अस्पतालले दरबन्दी अनुसारको चिकित्सक अभावको समस्या झेलिरहेको बेला बेनी अस्पतालमा भने १३ र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना चिकित्सक कार्यरत छन् ।
जनशक्ति पर्याप्त भएपछि विस्तार गरेको सेवालाई निरन्तरता दिन र दिगो बनाउन अस्पतालमा पूर्वाधार र उपकरण थप गर्न लागिएको अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताउनुभयो । “जनशक्ति भएपछि सेवा विस्तार गरेका हांै,” न्यौपानेले भन्नुभयो – “यसलाई निरन्तरता दिन पूर्वाधार निर्माण र उपकरण थप गर्न पहल गरेका छौं ।”
शल्यक्रिया सेवाका लागि निक साइमन इन्स्टिच्युटले अत्याधुनिक उपकरणहरु प्रदान गरेर सहयोग गरेको छ । यसअघि बिरामीको ढाडमा सूई लगाएर बेहोस बनाई शल्यक्रिया गरिँदै आइएको अस्पतालमा श्वासप्रश्वासको माध्यमबाट बेहोस बनाउने अत्याधुनिक एनेस्थेसिया उपकरण प्रयोगमा आएको छ । उपचारमा प्रयोग हुने थप सहयोगी सामग्रीहरुको खरिद प्रक्रिया अघि बढाइएको चिकित्सक न्यौपानेले बताउनुभयो ।
गत वर्ष हङकङमा रहेका म्याग्देलीहरुले विद्युतीय एक्स–रे उपकरण उपलब्ध गराउनुका साथै त्यसको नियमितताका लागि अक्षय कोष समेत स्थापना गरेका थिए । दक्षिण कोरिया, बेल्जियम, बहराइनमा रहेका म्याग्देलीहरुले आकस्मिक कक्ष, रक्तसञ्चार र बिरामी कुरुवा भवन बनाएका छन् । निर्माण व्यवसायी नारायण जिसीले शल्यक्रिया गरेका बिरामीहरु राख्न व्यक्तिगत लगानीमा तीन कोठे भवन बनाउनुभएको छ ।
दैनिक १०० देखि १५० जनाले सेवा लिने बेनी अस्पतालमा आकस्मिक, अन्तरङ्ग र बहिरङ्गका अतिरिक्त दन्त, एक्स–रे, ल्याब, सुरक्षित प्रसूति, बालस्वास्थ्य, क्षयकुष्ठ, एचआइभी परीक्षण, एआरभी औषधि वितरण, सुरक्षित गर्भपतन र निःशुल्क औषधि वितरण कक्ष रहेका छन् । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा अस्पताल परिसरमा रक्तसञ्चार गृह र आँखा उपचार केन्द्र सञ्चालन भइरहेका छन् ।
हाल ४ शय््याको आकस्मिक कक्षमा २ वटा कक्ष थप गर्ने, प्रत्येक कक्षको कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार सेवामा गुणस्तर ल्याउन अस्पतालको सरसफाइ, चिकित्सक, कर्मचारीको व्यवस्थापन, विशेषज्ञ जनशक्तिको व्यवस्था, पूर्वाधार निर्माण र उपकरण जुटाउन मन्त्रालयसँग पहल गरिएको छ । चिकित्सकसहितको टोली गाउँमा पुगेर घुम्ती शिविरमार्फत सेवा दिने गरेको अस्पतालले बरिरङ्ग कक्षबाट अतिरिक्त विस्तारित सेवा समेत सुरु गरेको छ ।
विसं २०७२ असोजमा १५ देखि बढाएर ५० शय््याको बनाइएको बेनी अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकसहित ६९ जना विभिन्न तहका प्राविधिक जनशक्तिको दरबन्दी छ । यसअघि दुईजना मात्रै चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञबाहेक अरु सबै दरबन्दीमा पदपूर्ति भएको छ । जनशक्ति, उपकरण र पूर्वाधारसँगै जिल्ला अस्पतालको सेवा विशिष्टीकरणतर्फ अघि बढेको हो ।
सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले पहिलो चरणमा ५० शय््या क्षमताको अस्पताल भवन निर्माणका लागि १८ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । गत कात्तिकमा सम्झौता गरेको रफिना–गल्वा–महादेव खिम्ती जेभीले भवन निर्माणको तयारी गरेका डिभिजन प्रमुख इञ्जिनियर प्रकाश अर्यालले जानकारी दिनुभयो । विसं २०७६ सम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हाल अस्पतालले प्रयोग गरिरहेको भवन रहेको ठाउँमा नयाँ भवन बनाउने तयारी भएको हो । अस्पताल परिसरको खाली जग्गामा अस्थायी भवन र जनस्वास्थ्य कार्यालयको नयाँ भवनबाट सेवा सञ्चालन गर्ने अस्पताल विकास समितिको योजना छ । अस्थायी भवन तयार भएपछि पुरानो भवन भत्काएर नयाँ निर्माणको काम सुरु हुने जनाइएको छ ।
अस्थायी संरचना निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा ६० लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । “स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध नगराए पनि अस्पतालको स्रोतबाट वैकल्पिक पूर्वाधार तयार पारेर अहिले प्रवाह भैरहेको सेवा, सुविधामा कटौती हुन नदिने प्रयास गरेका छौं,” अध्यक्ष रेग्मीले भन्नुभयो ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












