मोरङमा वाम गठबन्धन अगाडि, ‘हेभिवेट’ नेताहरुको रोचक भिडन्त
विराटनगर, १४ कात्तिक । यतिबेला दलहरु आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेका छन् । दुई गुटमा देखिएका राजनीतिक दलहरु यतिबेला उम्मेदवारको चर्चा परिचर्चा गर्नमा व्यस्त छन् । दलहरु यतिबेला स्थानीय तह निर्वाचनको मतपरिणामलाई केलाउँदै आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन रणनीति बनाउनमा व्यस्त छन् ।
खासगरी एमाले र माओवादी सम्मिलित वाम तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कारण मोरङमा निर्वाचन निकै रोचक बन्दै गएको छ । अर्को कुरा दुवै गठबन्धनका ‘हेभिवेट’ नेताहरु एकअर्काका प्रतिस्पर्धी बनेका छन् । जसले गर्दा पनि जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दुवै गठबन्धन मात्र होइन, स्वयं नेताहरुका लागि पनि यो निर्वाचन अस्तित्व रक्षाको चुनौती बन्ने देखिएको छ ।
मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशका १२ निर्वाचन क्षेत्र छन् । विगतका नौबाट ६ वटा संसदीय क्षेत्र बनाइँदा कांग्रेसले आफूअनुकुल गराएको टिप्पणी हुने गरेको छ । मोरङमा ६ लाख ४४ हजार सात सय ८२ मतदाता छन् ।
स्थानीय तह निर्वाचनको परिणामका आधारमा वाम गठबन्धन बलियो देखिँदा कांग्रेस नेतृत्वको गठबन्धन मत बढाउने र वामपन्थी दल जोगाउने अभियानमा देखिन्छन् । सिट बाँडफाँटको क्रम जारी रहेकाले उम्मेदवारको अन्तिम नामावली आइसकेको छैन ।
यतिबेला स्थानीय तह निर्वाचनको मतपरिणाको आधारमा पनि वाम गठबन्धन अगाडि देखिन्छ । स्थानीय तह चुनावमा वडाध्यक्षहरुको मतलाई आधार मान्दा वाम गठबन्धनको अवस्था बलियो देखिन्छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १, २ र ३ मा वाम गठबन्धन बलियो देखिएको छ । भने ४ र ६ मा कांग्रेस नेतृत्वको गठबन्धनको अवस्था राम्रो छ । यस्तै, निर्वाचन क्षेत्र ५ मा दुवै गठबन्धनबीच तीव्र प्रतिस्पर्धाको अवस्था छ । उक्त क्षेत्रमा कांग्रेस र संघीय समाजवादी फोरमबीच तालमेल भएमा भने वाम गठबन्धन कमजोर देखिन सक्छ ।
मोरङ क्षेत्र नम्बर १ः
क्षेत्र नम्बर १ मा एक लाख सात हजार दुई सय ३५ मतदाता छन् । त्यसमा स्थानीय तहका ३७ वटा वडा समेटिएका छन् । स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवारले २४ हजार दुई सय आठ मत पाएका थिए । कांग्रेस उम्मेदवारले २३ हजार ६ सय २६ र माओवादी केन्द्रका उम्मेदवारले आठ हजार नौ सय ६२ मत प्राप्त गरेका थिए । एमाले र माओवादीको मत ३३ हजार एक सय ७१ छ, जुन कांग्रेसको मतभन्दा करिब १९ हजार बढी हो ।
क्षेत्र नम्बर २ः
क्षेत्र नम्बर २ मा एक लाख ११ हजार तीन सय २१ मतदाता छन् । जिल्लाको पूर्वी भेगस्थित स्थानीय तहका २९ वटा वडा समेटिएका छन् । २ नम्बर क्षेत्रमा कांग्रेसले २२ हजार तीन सय ५०, एमालेले १९ हजार ४१ र माओवादी केन्द्रले ११ हजार दुई सय ३२ मत पाएका थिए । एमाले र माओवादीको मत जोड्दा ३० हजार दुई सय ७३ मत हुन आउँछ, जुन कांग्रेसको भन्दा करिब आठ हजार बढी हो ।
क्षेत्र नम्बर ३ :
क्षेत्र नम्बर ३ मा एक लाख २७ हजार चार सय ९६ मतदाता छन् । त्यस क्षेत्रका २६ वटा वडामा एमालेले २९ हजार एक सय ६२, कांग्रेसले २१ हजार ८७ र माओवादीले १३ हजार चार सय ९५ मत पाएका थिए । अब वाम गठबन्धनको मत ४२ हजार ६ सय ७५ पुगेको छ । उक्त क्षेत्रमा कांग्रेसभन्दा २१ हजार बढीको मतान्तर देखिन्छ । राप्रपाको एक हजारभन्दा कम मत निर्णायक हुने अवस्था छैन ।
विराटनगर महानगरपालिका जोडिएका जिल्लाका ४, ५ र ६ नम्बर क्षेत्रमा भने मधेसकेन्द्रित दलको प्रभाव राम्रो देखिन्छ । क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको तथा ४ र ६ मा फोरम लोकतान्त्रिकको मतको प्रभाव बढी देखिन्छ । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भइसकेकाले यी क्षेत्रमा कांग्रेस बलियो देखिएको छ । संघीय समाजवादीसँग पनि कांग्रेसको गठबन्धन भएमा ५ नम्बर क्षेत्रमा पनि बलियो बन्नेछ ।
क्षेत्र नम्बर ४ः
विराटनगर महानगरपालिकासहित आसपासका २३ वडा रहेको क्षेत्र नम्बर ४ मा ९९ हजार दुई सय ८७ मतदाता छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसको १७ हजार सात सय ११, एमालेको १६ हजार ६ सय ४४, लोकतान्त्रिक फोरमको सात हजार चार सय ९६ र माओवादी केन्द्रको ६ हजार चार सय ६१ मत थियो । वाम गठबन्धनको मत २३ हजार एक सय पाँच पुगेको छ भने कांग्रेस गठबन्धनको २५ हजार दुई सय सात । यस हिसाबबाट करिब दुई हजार मतको अग्रतामा कांग्रेस देखिएको छ ।
क्षेत्र नम्बर ५ः
यस्तै, ८९ हजार दुई सय ८७ मतदाता रहेको क्षेत्र नम्बर ५ का २४ वडामा कांग्रेसको १३ हजार तीन सय ६९ र संघीय समाजवादी फोरमको १२ हजार नौ सय ५४ मत स्थानीय तह चुनावमा आएको थियो । फोरम लोकतान्त्रिकको तीन हजार मत छ । माओवादी केन्द्रको ११ हजार एक सय ८१ र एमालेको आठ हजार नौ सय ७९ गरी वाम गठबन्धनको मत १९ हजार नौ सय ६० छ । कांग्रेस र लोकतान्त्रिक फोरमको मत १६ हजार छ ।
क्षेत्र नम्बर ५ मा संघीय समाजवादी फोरमको १२ हजार नौ सय ५४ मत नै निर्णायक मत देखिन्छ । उक्त क्षेत्र पूर्वप्रधानमन्त्रीहरु बीपी कोइराला, मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको पुख्र्यौली घर रहेको क्षेत्र पनि हो । सोही कारण उक्त क्षेत्रमा कांग्रेसलाई बलियो मानिन्छ । एमाले र माओवादीबीच गठबन्धनका कारण कांग्रेसका उम्मेदवारले चुनौती सामना गर्नुपर्ने देखिन्छ ।
क्षेत्र नम्बर ६ः
कुल एक लाख १० हजार तीन सय २२ मतदाता रहेको क्षेत्र नम्बर ६ मा २९ वडा छन् । स्थानीय तहमा कांग्रेसको २९ हजार नौ सय ४९ मत पाएको थियो । एमालेले १७ हजार नौ सय ८२, माओवादी केन्द्रको आठ हजार तीन सय ९८, फोरम लोकतान्त्रिकको आठ हजार ४८ र संघीय समाजवादी फोरमको पाँच हजार तीन सय २८ मत छ । उक्त क्षेत्रमा वाम गठबन्धनको मत २६ हजार तीन सय ८० र कांग्रेस–लोकतान्त्रिक फोरमको २८ हजार नौ सय ८८ मत देखिन्छ । उक्त क्षेत्रमा पनि करिब १५ सय मत राप्रपाको छ ।
वाम गठबन्धनको क्षेत्र बाँडफाँडः
एमाले र माओवादीबीच क्षेत्र बाँडफाँट भइसकेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर ४ र ५ माओवादीको भागमा परेको छ, १, २, ३ र ६ एमालेले लिएको छ । १ र ३ मध्ये एउटामा माओवादीले दाबी गरेपछि सहमति जुट्न कठिन भएको थियो ।
माओवादी केन्द्रका मोरङ संयोजक गोपी अछामीले शीर्ष नेतृत्वले क्षेत्र बाँडफाँट टुंग्याएको बताए । माओवादीले प्रतिनिधि सभाका हरेक क्षेत्रअन्तर्गत प्रदेशतर्फको एउटा सिट पाएको छ ।
प्रतिनिधिसभातर्फको क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाका टिकट पाएका छन् । कांग्रेसले पनि जिल्ला अध्यक्ष तथा पूर्वसभासद डिकबहादुर लिम्बूलाई अगाडि सार्ने भएको छ ।
क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेलको नाम टुंगिएको छ । कांग्रेसले हेभिवेट उम्मेदवार मानिएका डा. मिनेन्द्र रिजाललाई उठाउँदैछ ।
क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ एमालेका भानुभक्त ढकाललाई अघि सार्ने तयारी भएको छ । कांग्रेसले विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई ल्याउने तयारी गरेको छ ।
क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका सचिवालय सदस्य साबित्रीकुमार काफ्लेलाई उठाउने तयारी छ । कांग्रेसले पूर्वअथमन्त्री महेश आचार्यलाई उम्मेदवार बनाउने भइका छ ।
क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका सचिवालय सदस्य शिवकुमार मण्डल सर्वसम्मत उम्मेदवार बन्दैछन् । कांग्रेसबाट पूर्वजिल्ला सभापति तथा पूर्वसभासद अमृत अर्याललाई उठाउने तयारी छ ।
क्षेत्र नम्बर ६ मा हेभिवेट भनिएका एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितको नाममा यसअघि नै सहमति जुटिसकेको छ । काग्रेसले डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












