तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम
काठमाडौँ, ३० चैत । पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढी देखिएको छ ।
क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा ६.० प्रतिशत, पहाडमा ५.६ प्रतिशत र काठमाडौँ उपत्यकामा ४.५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा २.८ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौँ उपत्यकामा १.९ प्रतिशत रहेको थियो ।
यस्तै २०७३ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेकामा २०७४ फागुन महिनामा सो मुद्रास्फीति ६.० प्रतिशत कायम भएको छ ।
तरकारीको भाउ बढ्यो
पछिल्लो विवरणअनुसार तरकारीजन्य वस्तुको मूल्यमा आएको वृद्धिका कारण समग्र मुद्रास्फीति बढ्न गएको हो । आठ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.० प्रतिशतमा नै रहेको छ । खाद्य मुद्रास्फीति २०७४ फागुन मसान्तमा खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा मूलतः तरकारीजन्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।
गैरखाद्य मुद्रास्फीति समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको शिक्षा, घरायसी सामान तथा सेवालगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा बढी रहेकाले गैरखाद्य मुद्रास्फीति बढ्न गएको हो ।
चालू आवको आठ महिनासम्ममा कूल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा भारततर्फ ९.८ प्रतिशत, चीनतर्फ ६२.० प्रतिशत र अन्य मुलुकतर्फ ९.१ प्रतिशतले निर्यात बढेको छ ।
अलैँची, जुटको बोरा, धागो, पोलिस्टरलगायत वस्तुको निर्यात बढेको छ भने जिआई पाइप, जुस, ऊनी गलैँचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु आयात २२.१ प्रतिशतले बढेर रु सात खर्ब ६७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४.२ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.३ प्रतिशत, चीनबाट भएको आयात २२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा सो अवधिमा पेट्रोलियम पदार्थको आयात रु एक खर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर रु ९७ अर्ब पाँच करोड र यातायातका साधन तथा पार्टपूर्जाको आयात रु ८४ अर्ब ९१ करोड पुगेको छ ।
भन्सार नाकाका आधारमा वीरगञ्ज, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको छ । सो अवधिमा कूल वस्तु व्यापार घाटा २३ प्रतिशतले बढेर रु सात खर्ब १३ अर्ब ९३ करोड पुगेको छ । सो अवधिमा निर्यात–आयात अनुपात ७.० प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.७ प्रतिशत रहेको थियो ।
चार खर्ब ७१ अर्ब विप्रेषण आप्रवाह
चालू आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले वृद्धि भई रु सात खर्ब ७१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले बढेको थियो ।
यस्तै खुद ट्रान्सफर आयमा भने ०.७ प्रतिशतले कमी आई रु पाँच खर्ब ३९ अर्ब १९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.४ प्रतिशतले बढेको थियो ।
श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सो अवधिमा ५.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो ।
विदेशी सञ्चिति घट्यो
राष्ट्र बैंकका अनुसार २०७४ असार मसान्तको रु १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कूल विदेशी विनिमय सञ्चिति २०७४ फागुन मसान्तसम्ममा २.८ प्रतिशतले कमी आई रु १० खर्ब ४९ अर्ब २२ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा २०७४ फागुन मसान्तमा ०.७ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ३३ अर्ब ५० करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु एक खर्ब ५२ अर्ब १७ करोड रहेकामा २०७४ फागुन मसान्तमा २३.९ प्रतिशतले कमी आई रु एक खर्ब १५ अर्ब ७३ करोड पुगेको छ । फागुन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













