रकम अभावले महाकाली नदी तटबन्ध निर्माणको काम प्रभावित
भीमदत्तनगर, ७ जेठ । रकम अभावका कारण कञ्चनपुरको महाकाली नदी कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्ध निर्माण प्रभावित बनेको छ ।
सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयलाई तटबन्ध निर्माणका लागि अपुग रु ४५ करोड माग गरेपनि ६ महिना बितिसक्दा पनि रकम निकासा नहुँदा निर्माण प्रभावित बनेको हो ।
केही समयअघि रु दुई करोड निकासा भएको जानकारी दिँदै जनताको तटबन्ध फिल्ड कार्यालय नं ७ भीमदत्तनगरका प्रमुख प्रचण्डदेव विष्टले रकम अभावका कारण महाकाली नदीमा तटबन्ध निर्माण प्रभावित बनेको बताए ।
“महाकाली नदीमा साढे तीन किलोमिटर तटबन्धका लागि रु ६० करोडको ठेक्का सम्झौता भएको थियो,” उनले भने, “निर्माण कम्पनीलाई दुई चरणमा रु १५ करोड दिए पनि बाँकी रकम समयमा नआउँदा कामले गति लिन सकेन ।”
थप बजेटका लागि अर्थमन्त्रालयसँग रु ४५ करोड माग गरेर फाइल पठाएको भए पनि अहिलेसम्म निकासा हुन नसकेको उनले बताए ।
“भुक्तानी नहुँदा निर्माण कम्पनीले अति जोखिम क्षेत्रको तटबन्ध जेनतेन निर्माण गरेको छ,” विष्टले भने, ‘रकम अभावकै कारण समयमा काम पूरा नहुने समस्या बढ्दै छ ।” महाकाली नदी वारि भुजेला, ओदाली, पिपरिया तथा पारिका विभिन्न स्थान निकै जोखिमयुक्त छन् । “मन्त्रालय, विभागबाट पनि त्यसको अनुगमन भएर ठेक्का अगाडि बढाइएको भए पनि बजेट आउन सकेको छैन,” विष्टले भने ।
गुरुयोजनाअनुसार रकम नआए पनि उपलब्ध रकमअनुसार वार्षिक काम अगाडि बढाउँदै लगेको उनकाे भनाइ छ । यसअघि पनि वर्षात्का बेला जोखिमयुक्त स्थानमा सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा अस्थायी तटबन्ध बनाएर क्षति टार्ने काम गरिएको थियो ।
कञ्चनपुरका तीनवटा र कैलालीको एउटा गरी चारवटा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्दै आइरहेको जनताको तटबन्ध कार्यालयले हाल कञ्चनपुरको महाकाली, दोदा र मोहना नदीका साथै कैलालीको खुटिया नदीमा तटबन्ध निर्माण गरिरहेको छ । विसं २०६६ मा स्थापना भएको कार्यालयले हालसम्म यहाँका विभिन्न नदीमा गरेर १८ किलोमिटर तटबन्ध निर्माण गरिसकेको जनाएको छ ।
“यहाँका चारवटा नदीमा गरेर हालसम्म रु एक अर्ब ३५ करोड लागतको काम भइसक्यो,” कार्यालय प्रमुख विष्टले भन्नुभयो, “हामीले नदी कटानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम गरिरहेका छौँ ।”
अघिल्लो आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तसम्म महाकाली नदीको दुवैतर्फ (वारि र पारि) गरी सात किलोमिटर लम्बाइको तटबन्ध निर्माण गरिएको छ । निर्माणमा रु ७३ करोड खर्च भएको तटबन्ध कार्यालयले जनाएको छ ।
महाकाली नदीमा दुवैतर्फको कटान नियन्त्रणका लागि तटबन्ध कार्यालयले २० किलोमिटर लामो तटबन्ध निर्माणका लागि रु छ अर्ब आठ करोड लागत अनुमानसहित डिपिआर तयार गरेको छ । लामो समय वर्षात्मा कटान समस्याका रुपमा देखिएको महाकाली नदीमा अझै डिपिआरअनुसार १३ किलोमिटर तटबन्ध निर्माण हुन बाँकी छ । रकम नहुँदा निर्माण कम्पनी काम गर्न नसक्ने अवस्थामा पुगेको छ ।
चालू आवमा महाकालीमा साढे तीन किलोमिटर तटबन्ध निर्माणको काम चलिरहेको छ । दशकौँअघि महाकाली नदीको दुवैतर्फ जापानी सहयोग नियोग (जाइका) को सहयोगमा महाकालीमा तटबन्ध निर्माण भएको थियो ।
त्यसैगरी कञ्चनपुरको मध्य भूभाग भएर बग्ने दोदा नदी र सहायक नदीको समेत विस्तृत परियोजना प्रतिवेदनसहित जनताको तटबन्ध कार्यालयले तटबन्ध निर्माणलाई अघि बढाएको छ । संशोधित डिपिआरअनुसार दोदा र सहायक नदीमा गरी रु छ अर्ब ७६ करोडको डिपिआर तयार गरिएको विष्टले बताउनुभयो । करिब ३७ किलोमिटर तटबन्ध बनाउनुपर्ने उनकाे भनाइ छ ।
दोदामा हालसम्म रु ३७ करोडको लागतमा आठ किलोमिटर तटबन्ध निर्माण भइसकेको छ भने चालू आवमा डेढ किलोमिटर तटबन्ध निर्माणाधीन अवस्थामा छ । कञ्चनपुर–कैलालीको सीमा नदीको रुपमा रहेको मोहना नदीमा पनि तटबन्ध निर्माण भइरहेको छ ।
“मोहना नदीको दुवैतर्फ गरी १५ किलोमिटर तटबन्ध बनाउनुपर्ने हो ।” विष्टले भने, “अहिलेसम्म तीन किलोमिटरसम्म निर्माण भएको छ ।” मोहनामा करीब ७० किलोमिटर लम्बाइ भएको तटबन्ध निर्माण गर्नुपर्नेछ । मोहना नदी कटान नियन्त्रणका लागि जनताको तटबन्ध कार्यालयले रु चार अर्बको डिपिआर तयार गरेर माथिल्लो निकायमा पेश गरेको छ । चालू आवमा मोहनामा एक किलोमिटर तटबन्ध बन्दैछ ।
यस्तै, कैलालीको खुटिया नदीमा हालसम्म रु चार करोड खर्चेर एक किलोमिटर लामो तटबन्ध निर्माण गरेर नदी छेउको बस्ती सुरक्षित गरिएको छ । यहाँ नौ किलोमिटर तटबन्ध बनाउनुपर्ने छ । नदी कटान जोखिम हेरेर यहाँको रु ४० करोड लागत इस्टिमेटसहित डिपिआर बनाएर कामको शुरुवात गरिएको छ ।
चारवटा नदीको योजनासहित नदी कटान एवं डुबान न्यूनीकरणमा तटबन्ध कार्यालय खटिएको छ भने यहाँ जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय धनगढीले पनि आवश्यकताअनुसार नदी कटान नियन्त्रणको काम गर्दै आएको छ । कञ्चनपुरमा वर्षात्का बेला महाकाली, दोदा र मोहना नदीले वर्षेनी कटान गर्दै आएका छन् । रासस
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...













