अस्पतालमा दक्ष जनशक्ति र उपकरण अभावमा बिरामीलाई कष्ट
दाङ । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ ।
अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो गरिरहेका छन् । सोमबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी ४५ वर्षीया राधा पाण्डेयलाई चिकित्सकले इन्डोस्कोपी गराउनुपर्ने र सो सेवा उक्त अस्पतालमा हुन नसक्ने भएकाले घोराही जान सल्लाह दिनुभयो ।
पाण्डेयले भन्नुभयो, “अस्पताल छ चिकित्सक, उपकरण छैनन्, कति दिनसम्म हामीले नाम मात्रको अस्पतालबाट सेवा लिनुपर्ने हो ।” त्यसैगरी टाउकोमा चोट लागेर अस्पताल आउनुभएका दङ्शीशरण गाउँपालिका–३ का ४८ वर्षीय हरिहर अधिकारीलाई पनि अस्पतालले सिटीस्क्यान उपकरण नभएकाले घोराही जान सल्लाह दिएको उहाँको गुनासो छ ।
त्यसो त राधा, हरिहर त उदाहरण मात्र हुनुहुन्छ । सो अस्पतालमा उपचार गराउन आउने धेरै नागरिकको एउटै गुनासो छ कि उपकरण र चिकित्सक हुनुप¥यो ताकि उपचारका लागि धेरै दुःख र खर्च हुने गरी अन्यत्र जान बाध्य हुन नपरोस् । कूल १६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा अहिले छ चिकित्सकमात्र रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालका प्रशासन अधिकृत नीमबहादुर केसीले भौतिक पूर्वाधार, उपकरण तथा दक्ष जनशक्तिको अभावका कारण सघन उपचार कक्ष र अति सघन उपचार कक्ष सेवा सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा हाल कुल ७४ कर्मचारीको दरबन्दी रहेता पनि ५६ मात्र कार्यरत छन् ।
सर्पदंशका बिरामी उपचार गर्न आउँदा समस्या हुने गरेको पनि अधिकृत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने हुन्छ तर अस्पतालमा भेन्टिलेटर छैन, अन्यत्र सिफारिश गरेर पठायो केहीको ज्यान बाटोमा नै जानसक्ने हुन्छ ।”
त्यस्तै अस्पतालमा बेहोस गराउने चिकित्सक नहुँदा पनि समस्या हुने गरेको केसीले बताउनुभयो । गत वर्ष सघन उपचार कक्ष अति सघन उपचार कक्ष सञ्चालनका लागि केही सामग्री आएकोमा त्यो पनि पूरा छैन । दक्ष जनशक्ति नहुँदा उक्त सामग्री त्यतिकै थन्किएको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) सर्वे शर्माले पर्याप्त जनशक्ति, उपकरण, बजेट अभाव तथा भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आवश्यक पर्ने सिटीस्क्यान, इन्डोस्कोपीलगायतका उपकरण, आवश्यक पर्ने चिकित्सकसहितका अन्य जनशक्ति नै छैनन् तर पनि सेवा व्यवस्थित गर्न गम्भीर भएर लागि रहेको छु ।” शर्माले आफूले मेसुको जिम्मेवारी पाएको तीन महीना भएको बताउँदै अस्पतालको सेवालाई प्रभावकारी बनाउने विषयमा यहाँका सरोकारवाला निकाय, नागरिक अगुवा, बुद्धिजीवी, व्यापारी, समाजसेवी, स्थानीय सरकार तथा प्रदेश सरकारका प्रमुख सबैसँग छलफल तथा समन्वय गरिरहेको बताउनुभयो ।
त्यस्तै अस्पताललाई आवश्यक पर्ने उपकरणलगायतका लागि प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयमा कार्यक्रम पेश गरिएको छ मेसु शर्माले जानकारी दिनुभयो । अस्पतालले पछिल्लोपटक मिर्गौलाको डायलायसिस सेवा पनि शुरु गरेको छ । सो सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो छ तर उपकरण अभावका कारण सेवा दिन सकिएको छैन ।
अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका समाजसेवी तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष विमल रिजालले अस्पतालको सेवालाई प्रवाभकारी गराउन माग गर्नुभएको छ । नागरिकको अथक मेहनत र आर्थिक सहयोगबाट स्थापना गरिएको अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद् भएको भन्दै सेवालाई प्रभावकारी गराउन सरकारसँग माग गर्नुभयो ।
नागरिकको व्यापक दबाबपछि सरकारले विसं २०६५ मा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरको स्तरवृद्धि गरेर राप्ती अञ्चल अस्पतालको स्थापना गरिएको थियो । यस क्षेत्रका नागरिकले महापुराण लगाएर सङ्कलन गरेको रु दुई करोड र पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
प्रदेश नम्बर ५ का दाङ, रुकुम, रोल्पा र कर्णाली प्रदेशका सल्यान जाजरकोटबाट समेत सेवाग्राही उपचारका लागि आउने गरेकामा उचित स्वास्थ्य उपचार पाउन नसक्दा छिमेकी जिल्ला बाँके, रुपन्देही, काठमाडौँ र भारतको लखनउ जानुपर्ने बाध्यता रहेको छ । रासस
Comments
अरु समाचार
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...
-
भोटेकोशी नदीमा ज्यान गुमाएकाको डीएनए परीक्षण तीव्र, ६३ प्रतिशत प्रोफाइलिङ सकियो
काठमाडौँ। भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डिएनए प्रोफाइलिङ्गको काम धमाभम हुँदैछ । चिनियाँ र नेपाली वैज्ञानिकहरुको संयुक्त टोलीबाट नेपाल...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको ज्यान गयो
विराटनगर, जेठ ५ गते । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको ज्यान गएको छ । हनुमान...












