आलेख : बरदान बन्दै म्याग्दीका तातोपानी कुण्डहरु
गलेश्वर । प्राकृतिक चिकित्सामा विश्वास गर्नेहरुका लागि म्याग्दीमा रहेका प्राकृतिक तातोपानीका कुण्डहरु बरदान सावित भएका छन् ।
खास गरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको जस्ता समस्याहरुबाट आक्रान्त व्यक्तिहरुका लागि यहाँका तातोपानी कुण्डहरु लाभदायी भएका हुन् ।
जाडोयाममा बाथ, ग्याष्टिक, चर्मरोग तथा नशासम्बन्धी रोगले बढी दुःख दिने हुँदा अहिले देशैभरिबाट बेनी नपा–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न आउनेहरुको भीड लागेको छ । कात्तिक अन्तिम साता पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा सपरिवार तातोपानी कुण्डमा डुबेर फर्किए पछि देशभित्र र बाहिर सिङ्गा तातोपानीको चर्चा बढेको छ ।
म्याग्दी जिल्लाका काली, म्याग्दी र रघुगङ्गाको किनाराका धेरै ठाउँमा तातोपानीका कुण्डहरू छन् । जिल्लाका दग्नाम, भुरुङ, मुदी र सिङ्गामा रहेका प्राकृतिक तातोपानी कुण्डहरू पछिल्लो समय प्राकृतिक चिकित्सालयका रुपमा विकास हुँदै गएका छन् ।
सदरमुकाम बेनीबजारबाट नौ किलोमिटर पश्चिम बेनी नपा–४ मा म्याग्दी नदीको किनारमा अवस्थित सिङ्गा–तातोपानीे कुण्ड देशकै प्रशिद्ध तातोपानीको कुण्ड हो । कुल ४१ फिट लम्बाइ र २१ फिट चौडाइमा फैलिएको यस कुण्डमा एकैसाथ ४०० जनाले स्नान गर्न, डुबेर उपचार गर्न वा आनन्द लिन सक्ने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । यो तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्री सेल्सियस र मूलमा ५४–५७ डिग्री सेल्सियस रहेको छ । यो कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुई हप्तासम्म नुहाउने गरिन्छ ।
यहाँ डुबेर उपचार गराउन देशैभरबाट बिरामीहरु आउने गरेका छन् । पछिल्लो समय पक्षाघात भएका बिरामीहरुसमेत तातोपानी कुण्डमा उपचारका लागि आउने गरेका र पहिलाको भन्दा निको भएर फर्किने गरेका समितिका कर्मचारी मेखी खत्रीले बताउनुभयो ।
बाथ रोगबाट पीडित आफ्नो बुबालाई उपचारका लागि तातोपानीमा लिएर आउनुभएका झापा दमकका सोमप्रसाद सिग्देलले एक हप्ता तातोपानीमा डुबेर उपचार गर्दा बुबालाई धेरै निको भएको र अरु एक हप्ता यहाँ डुबेर फर्किने बताउनुभयो । यहाँ नेपालका मात्र होइन नेपालसँग सिमाना जोडिएको भारतका रुपैडिया, नानपारा, विहार, गोरखपुरलगायत भारतका विभिन्न ठाउँहरुबाट समेत बिरामीहरु डुब्न आउने गरेका समितिले जनाएको छ ।
यो कुण्डमा स्नान गर्न सजिलो होस् भनेर वरिपरि पर्खालले घेरेर पोखरी बनाइएको छ । तातोपानी कुण्डमा विसं २०४२ सालभन्दा पहिले आजभोलिको जस्तो सुविधा थिएन । होटल, लजको व्यवस्था नभएको हुनाले ओडारमा बस्नु पर्दथ्यो । स्थायी स्नान कुण्डको व्यवस्था नभएको हुनाले माघ, फागुन र चैत महिनामा मात्र कुण्डमा डुब्न आउने मानिसको भीड हुन्थ्यो । यातायातको अभावले टाढाटाढाबाट मानिसहरू आउन सक्दैनथे । विसं २०४२ सालमा म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारीको पहलमा तातोपानी व्यवस्थापन समिति गठन भएको थियो । तथापि सो समितिले खासै काम गर्न सकेन ।
तातोपानी कुण्डको महत्व बढाउन र यसको संरक्षण गर्न विसं २०४५ सालमा प्रबुद्धकुमार शाक्यको अध्यक्षतामा ‘तातोपानी कुण्ड भौतिक सुधार तथा व्यवस्थापन समिति’ गठन भएपछि यो कुण्ड व्यवस्थित तरीकाले सञ्चालन हुँदै आएको स्थानीय विक्रम बुढाथोकीले जानकारी दिनुभयो । यो तातोपानी कुण्डको महत्व बढ्दै गएपछि यहाँ स्नान गर्न आउने मानिसहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यसकारण कुण्डमा स्नान गर्न आउने मानिसहरूको चापलाई ख्याल गरी व्यवस्थापन समितिले यो कुण्डको मर्मत र क्षमता विस्तार गरेको छ ।
रघुगङ्गा तातोपानी कुण्ड ः रघुगङ्गा गाउँपालिका–५ को दर्मिजा भन्ने गाउँको पुछारमा रघुगङ्गाको किनारमा एक तातोपानीको कुण्ड छ । यो कुण्डलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दाले विभिन्न किसिमका पूर्वाधारको विकास गरिरहेका छन् । यो कुण्डमा स्नान गर्न कुइनेमङ्गले, चिमखोला, झिं, दग्नाम, दोवा, पाखापानी, पात्लेखेत, बेग, राखु पिप्ले र भगवतीका बासिन्दा आउने गर्दछन् । यहाँ माघ महिनादेखि असार महिनाको पहिलो हप्तासम्म स्नान गर्न सकिन्छ ।
भुरुङ–तातोपानी कुण्ड ः अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ तातोपानी भन्ने ठाउँमा कालीगण्डकीको किनारमा तातोपानीको कुण्ड छ । यसलाई तप्तकुण्ड भनिन्छ । यसको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरूले आफूलाई पायक पर्ने मुहानमा नुहाउने चलन छ । यद्यपि तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ ।
मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानीको तप्तकुण्डको विशेष चर्चा गरिन्छ । मुक्तिनाथ जाने तीर्थ यात्री र मुस्ताङको भ्रमणमा आउने पर्यटकहरूले यो तातोपानीको भरपूर उपयोग गर्ने हुनाले यसको महिमा बढेको हो भन्ने कुरामा कुनै द्विविधा छैन । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरू प्रशस्त मात्रामा आउने गर्दछन् । तिनीहरूले विश्राम गर्ने स्थलको रूपमा तातोपानी क्षेत्रलाई रोजेको हुनाले यहाँ बाह्रैमास पर्यटकहरू भेटिन्छन् । तातोपानी बजारमा सँधै नै पाश्चात्य मुलुकका मानिसहरू भेटिने हुनाले यो क्षेत्रलाई नेपालको युरोप भन्ने पनि चलन छ ।
मुदीको (फल्तीखेत) तातोपानी कुण्ड ः म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरि गाउँपालिका–३ मुदीको बगर भन्ने ठाउँमा म्याग्दीखोलाको किनारमा तातोपानीको कुण्ड छ । यो कुण्ड व्यवस्थित नभएको हुँदा स्थानीय मानिसले मात्र स्नान गर्दछन् । धवलागिरि हिमाल आरोहणका लागि आउने पर्वतारोहीहरूले पनि यसको उपयोग गर्ने गर्दछन् ।
तातोपानीमा गन्धकको गन्ध र बीरेनूनको विशेष किसिमको स्वाद आउँछ । गन्धक आफैंमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिँदैन । त्यसकारण तातोपानी कुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना नहुने चिकित्सकहरुले बताएका छन् । तातोपानीको कुण्डमा डुब्नाले गाँठा–गुठी परेको, सुन्निएको, बाथ रोग, पेट दुख्ने, फुल्ने र डकार आउने जस्ता पेटसम्बन्धी रोग, छालामा आउने विभिन्न चर्मरोग तथा हाड जोर्नी, दुख्ने, सुनिने, नशासम्बन्धी रोग, सड्केको, मर्केको र बज्रेको ठाउँमा चिसोका कारण दुख्ने रोग निको हुन्छ । तर, उच्च रक्तचाप र विविध कारण रिङ्गटा लाग्ने व्यक्तिले तातोपानी कुण्डमा स्नान गर्दा विशेष ख्याल गर्नु पर्दछ । म्याग्दीका तातोपानीका कुण्डमध्ये सिङ्गा–तातोपानी र भुरुङ–तातोपानीको विशेष महिमा छ ।
समितिको तथ्याङ्कअनुसार सिङ्गा–तातोपानीमा २०६२ पुषदेखि २०७४ साल कात्तिक २० गतेसम्ममा अर्थात करीब १२ वर्षमा १ लाख १० हजार जनाले स्नान गरेको देखिन्छ । यसमध्ये ३० हजार भन्दा बढी व्यक्तिहरु पूर्णरुपमा निको र अन्य आंशिक रुपमा निको भएर फर्केका कुण्ड समितिको भनाइ छ ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












