माथिल्लो त्रिशुली थ्री बीको शेयर बाँडफाँट, प्रधानमन्त्रीलाई २० कित्ता
काठमाडौ ।
मुलुकको कार्यकारी प्रमुख नै पहिलो पटक धितोपत्र बजारमा औपचारिक रुपमा प्रवेश गरेका छन् । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनीको शेयर खरीद गरी प्रधानमन्त्री केपी शर्मा ओली शेयर बजारमा शेयरधनीको रुपमा प्रवेश गरेका हुन् । आज भएको बाँडफाटमा प्रधानमन्त्रीलाई २० कित्ता शेयर परेको छ ।
प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन गर्नुभएको थियो । प्रधानमन्त्रीले आवेदन गरे लगत्तै शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारणलाई शेयर बिक्री गरेको थियो । यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत २० कित्ता शेयर परेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतलाई समान २० कित्ता शेयर परेको छ । उक्त कार्यक्रमको पहिलो शेयरमा नै जनताको उल्लेख्य सहभागिता देखिएको छ ।
मुलुकको शेयर बजारमा धेरै भन्दा धेरै नागरिकलाई सहभागी गराउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रम शुरु गरिएको हो । कार्यकारी प्रमुख, मन्त्री तथा उच्च पदस्थ सरकारी कर्मचारी नै शेयर बजारमा शेयरधनीका रुपमा प्रवेश गरेपछि त्यसले सकारात्मक प्रभाव मात्रै पार्ने छैन, लगानीका लागिसमेत अभिप्रेरित गर्नेछ ।
नेपालमा १५ लाखको हाराहारीमा शेयर लगानीकर्ता रहेका छन् । नेपाल क्लियरिङ हाउसका अनुसार हालसम्म १४ लाख ७१ हजार ६४४ वटा हितग्राही खाता खोलिएका छन् । प्रधानमन्त्री र मन्त्री पुनले ग्लोबल आइएमई क्यापिटलमा शेयर खरीदका लागि नै हितग्राही खाता खोलेका थिए ।
सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा जलविद्युत् क्षेत्रलाई राखेको सन्दर्भमा आम नागरिकलाई शेयरधनी बनाउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रम अगाडि सारिएको हो । स्वदेशी लगानीमा नै ठूला तथा मझौला जलविद्युत् आयोजनाका लागि लगानी जुटाउने लक्ष्यका साथ सरकारले ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत् को शेयरधनी’ अभियान सञ्चालन गरेको छ ।
सो अभियानको पहिलो कार्यक्रमको रुपमा त्रिशुली जलविद्युत् कम्पनीले अग्रिम रुपमा साधारण शेयर बिक्री गरेको थियो । यही चैत ७ गतेदेखि ११ गतेसम्म सो कम्पनीको शेयर बिक्री गरिएको थियो । कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोडको १५ प्रतिशतले हुन आउने रु ३७ करोड पाँच लाख बराबरको ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गरिएको थियो ।
कूल निष्काशनको तीन प्रतिशत शेयर कम्पनीका कर्मचारीका लागि संरक्षण गरिएको छ । अग्रिम शेयर भएकाले शुरुमा आवेदनका साथ प्रति शेयर रु दशका दरले मात्रै उपलब्ध गराए हुने व्यवस्था गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
अग्रिम रुपमा रु तीन करोड ७० लाख ५० हजार मात्र भुक्तानी अग्रिम माग गरिएको हो । उक्त शेयर वापत चुक्ता हुन बाँकी रहने रकम नियमानुसार कम्पनीले पछि माग गर्ने गरी व्यवस्था मिलाइएको छ । माथिल्लो त्रिशुली थ्री बी आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सम्पन्न भएपछि थप ९० प्रतिशत रकम उपलब्ध गराउनुपर्नेछ ।
नेपाल धितोपत्र बोर्डले गत फागुन ३० गते शेयर बिक्रीका लागि स्वीकृति दिइएको थियो । कूल एक लाख ५६ हजार ७११ जनाले शेयर आवेदन गरेका एक लाख ५४ हजार ५५९ आवेदन मात्रै सही ठहरिएको थियो । दोहोरो आवेदन तथा अन्य केही प्राविधिक समस्याका कारण ६७ आवेदन भनेपछि खारेज भएको थियो ।
सो कम्पनीको शेयरमा रु ६६ करोड ९० लाख ९९ हजार २०० बराबरको आवेदन परेको थियो । कूल एक लाख ५६ हजार ७११ आवेदकले छ करोड ६९ लाख नौ हजार ९२० कित्ता आवेदन गरेका थिए । त्यसमध्ये केही आवेदन प्रक्रिया नमिलेका कारण रद्द भएको थियो ।
कूल रकमका आधारमा करीब दुई गुणा बढी र शेयर सङ्ख्याका आधारमा भने करीब १८ गुणा आवेदन परेको थियो । आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रु १०० अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । अग्रिम रूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ ।
मन्त्रालयले १९ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशुली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशुली थ्री बी आयोजना छनोट गरिएको हो । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत शुरु भइसकेको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ ।
शेयर बाँडफाँड समारोहमा मन्त्री पुनले प्रधानमन्त्री, मन्त्री, सरकारी अधिकारी र आम लगानीकर्ताको समेत लगानी परेका कारण आयोजनाको काम निर्धारित समय अगावै सकिनुपर्ने बताए । “आयोजनामा सबैको चासो बढेको छ । शेयर लगानीकर्ताले समेत असाध्यै उत्साहका साथ सहभागिता जनाउनुभयो”, मन्त्री पुनले भने, “आयोजना एक दिन पनि ढिलो हुनुहुन्न । तोकिएको समय भन्दा अगावै कसरी सम्पन्न गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” मन्त्री पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिरकण, निर्माणकर्ता कम्पनी, निर्माण व्यवसायी तथा स्थानीयवासीले समेत आयोजनालाई भरमग्दूर सहयोग गर्ने विश्वास व्यक्त गरे ।
अन्य आयोजनाको पनि धमाधम शेयर
मन्त्री पुनले जनताको जलविद्युत् कार्यक्रममा सूचीकृत भएका अन्य आयोजनाको पनि अग्रिम रुपमा धमाधम शेयर बिक्री शुरु हुने जानकारी दिए। मन्त्रालयले तयार पारेको सूचीअनुसार दोस्रो चरणमा तामाकोशी पाँचौ जलविद्युत् आयोजनाको शेयर बिक्री हुने छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजना निर्माणमा जाने तयारीमा रहेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्केको पानीलाई सदुपयोग गरेर सिंगटी बजार नजिकै विद्युत् गृह बनाइ कूल १०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि प्राधिरकणले कम्पनीसमेत स्थापना गरिसकेको छ ।
यस्तै तेस्रो चरणमा भेरी–बबई डाइभर्सन आयोजनाको शेयर बिक्री गरिनेछ । बहुउद्देश्यिय आयोजनाको रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखमा सुरुङ निर्माण सकिनेछ । टनेल बोरिङ मेशिनको प्रयोग गरेर २०७४ को कात्तिकदेखि खन्न थालिएको सुरुङ निर्माण सम्पन्न हुन लागेको हो ।
कूल १२ दशमलव एक किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएपछि बाँधस्थल तथा विद्युत् गृह निर्माणको काम शुरु हुने छ । ठेक्काका लागि आवश्यक कागजात तयारी अन्तिम चरणमा पुगेको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन हुनेछ । यस्तै ऊर्जा मन्त्री पुनका अनुसार जगदुल्ला, फूकोट कर्णाली, घुन्सा खोला, शिम्वुवा खोला तथा माथिल्लो अरुण जस्ता आयोजनाको समेत क्रमैसँग शेयर बिक्री गरिनेछ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












