मनाङमा एउटै ठेकेदारको राज, ठेक्का लिने, काम नगर्ने
काठमाडौं । मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ ।
पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो ।
एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ । मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लगाइएको थियो ।
विसं २०७४ साउन २३ मा सक्नुपर्ने शुरुको सम्झौता भए पनि हालसम्म तीनपटकसम्म म्याद थप भयो तर कामको प्रगति छैन । भ्याटबाहेक रु तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब रु एक करोड ३२ लाख निकासा गरिसकेका छन् ।
पूर्वाधार कार्यालय मनाङका अनुसार हालसम्म दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ । “फिल्डमा त्यति काम देखिँदैन । दुईतिर पर्खाल उठाएर मात्रै छाडिएको छ । पुल बन्ला भनेर वारिपारि सडक खनिसक्यौँ । वर्षौँ बितिसक्दा पुल बनेन”, नासो गाउँपालिका अध्यक्ष चन्द्र घले भन्छन्, “ठेकेदारलाई कारवाही गर्नुको सट्टा म्याद थपेर झन् समस्या भयो ।”
यो पुल नबन्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई हिँड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन् स्थानीयवासी । मस्र्याङदी नदीमाथि हुम्डेमा पुल बनाउनका लागि जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को बोलपत्र निकाल्यो । श्री गाल्वा र क्याराभान कम्पनीले नै यसको ठेक्का पायो ।
भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल विसं २०७४ माघमा सक्नुपर्ने हो । समयमा काम नसकिएपछि २०७७ असारसम्म सक्ने गरी म्याद थपिएको थियो । पछिल्लो म्यादसम्म ४० प्रतिशतभन्दा काम हुन सकेन । तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का दिइएको थियो । यी दुईवटा मात्रै होइन, मनाङका छवटै पुल निर्माणको जिम्मा क्याराभानले लिएको थियो ।
त्यसमध्ये लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलाको पुल ढिलो गरी सकिएर गाडी गुड्न थालेको छ भने अरु सबैजसो पुल अलपत्र अवस्थामा छन् । तिमाङखोलाको पुल अन्तिम चरणमा पुगेको बेँसीशहर–चामे सडक आयोजनाका प्रमुख सुमन अधिकारीले बताए । “म्यार्दीमा केही सोलिङ बाँकी छ, तिमाङको सकिन लाग्यो”, उनले भने, “तिमाङमा त डिजाइन नै फेर्नुपर्ने भयो । त्यसैले केही ढिलो हुन गएको हो ।” विसं २०७४ असार ८ मा रु दुई करोड २६ लाख लागतमा तिमाङखोला पुलको सम्झौता भएको थियो ।
विसं २०७५ पुस ८ मा सक्नुपर्ने म्याद भए पनि हालसम्म यसको म्यादसमेत थपिएको छैन । म्यार्दीको पुल निर्माण करिब सकिएपछि बाढीले बगाएको थियो । सडक डिभिजन कार्यालय दमौलीले मनाङमा दुईवटा पुल निर्माण गर्दै छ । पिसाङ र मुङ्जीमा निर्माणाधीन पुल अहिलेसम्म सकिएको छैन । रु तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सक्नुपर्ने पिसाङ पुल विसं २०७४ जेठमा सम्झौता भएको थियो । “दुईपटकसम्म यसको म्याद थप भइसकेको छ । यद्यपि काम अझै बाँकी छ ।
पुस १४ सम्म म्याद छ, यसपालि सकिन्छ होला”, डिभिजन सडक दमौलीका इञ्जीनियर नारायण पौडेलले भन्नुभयो, “मुङ्जीको म्याद पुस १० सम्म छ । यही म्यादभित्र सक्न दबाब दिएका छौँ ।” मुङ्जी पुल निर्माणका लागि विसं २०७४ पुस २६ मा सम्झौता भएको हो । यसको दुई वर्ष म्याद थियो । पुल निर्माणका लागि रु नौ करोड लागत अनुमान गरिएको छ ।
जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेको बताए। “धेरैपटक भनिसक्यौंँ, अनुगमनमा जाँदा कम्पनीका मान्छे भेटिँदैनन् । कहिलेकाहीँ सामान ल्याएजस्तो मात्रै गर्छन्”, उनले भने, “बाढीपहिरो झर्ने बेला काम गरेजस्तो देखाउने अनि बगाएर लैजान्छ । काम नगर्नेलाई सरकारले कारवाही गर्नुपर्छ ।”
“ठेकेदारले समयमा काम नगरीदिँदा मुख्य सडकमा कतै काठेपुल तर्नुपरेको छ भने कतै खोलामै गाडी छिराउनुपरेको छ । ठेकेदार अटेरी छ । धेरैपटक ताकेता गर्दा पनि सुन्दैन”, मनाङकै एक उच्च कर्मचारी भन्छन्, “कारवाही गर्न सम्बन्धित निकाय डराउँछ । साह्रै शक्तिशाली रहेछ ।” पुरानै ठेक्का अल्झाइराखेको क्याराभान कम्पनीलाई नै अहिले घोप्टेखोलाको बेलिब्रिज निर्माणको जिम्मा दिइएको छ ।
बेँसीशहर–चामे सडक आयोजनाले रु ३२ लाख लागतमा पुल बनाउने ठेक्का क्याराभानलाई सुम्पेको हो । अहिले थपिएको समयमा पनि काम नसके नियमानुसार कारवाही अघि बढाउने पूर्वाधार कार्यालय मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताए । “धेरैपटक म्याद थप भइसक्यो, यो सिजनमा जसरी पनि सक्नुपर्छ”, उनले भने, “सकिएन भने नियमानुसार कारवाही अघि बढाउने हो । अब म्याद थप्ने ठाउँ छैन ।”
ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक–पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरे तर कुनै सुनुवाइ नभएको उनीहरु बताउँछन् । निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जीनियर नारायण लामाले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताए ।
“हिउँद लागेपछि हिउँ पर्छ, बर्खामा बाढीपहिरो छ । भनेको बेला सामान ल्याउन सकिँदैन”, उनले भने, “कति पुल बनाउँदाबनाउँदै बगाएको छ । मौसमकै कारण तोकिएको समयमा काम गर्न नसकिएको हो ।” निर्माण सामग्रीको ढुवानीमा समस्या भएको उनले बताए ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ठेक्का ओगट्ने र काम नगर्ने ठेकेदारलाई आँखा चिम्लेर कारवाही गर्ने बताए । “अहिलेसम्मका योजना सङ्घ सरकारको थियो । केही योजना हाम्रो मातहत आएको छ”, उहाँले भन्नुभयो, “अहिले थपिएको म्यादभित्र काम नभए कारबाही हुन्छ ।
कुनै पनि बहानामा उम्किन मिल्दैन ।” मनाङका अधिकांश ठेक्का क्याराभानले नै पाएको छ । अहिले यही कम्पनीले रु १० करोड लागतको जिल्ला कारागारको भवन निर्माण गरिरहेको छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












