ताजा समाचार

प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन एमाले सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम निर्णय गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले त्यसअघि नै नामावली टुङ्ग्याउन पार्टीले तयारी तीव्र पारेको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला तथा प्रदेश कमिटीहरूले सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा हालसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको जनाइएको छ।

अहिलेसम्म अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने कुनै औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न ‘सूर्य’बाट उम्मेदवार उठाउने तयारी गरेको छ। दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई मनोनयनका लागि समय लाग्ने भएकाले पनि सचिवालयले समयमै निर्णय गर्ने तयारी गरेको शाहीले बताए।

यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको अन्तिम अधिकार सचिवालयलाई दिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org