ताजा समाचार

विशेष महाधिवेशनपछि कांग्रेस कार्यसमिति भोलि सानेपा जाने

काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भोलि केन्द्रीय कार्यालय सानेपा जाने भएको छ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। तर थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म केन्द्रीय कार्यालय सानेपा गएको थिएन। यसबीच दुईवटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक पार्टी प्यालेस र होटलहरूमा बसेका थिए।

पार्टीका प्रवक्ता देवराज चालिसेले सभापतिसहित कार्यसमिति भोलि सानेपा जाने जानकारी दिएका छन्। ‘सभापतिसहित हामी भोलि केन्द्रीय कार्यालय सानेपा जान्छौं। त्यहीँ केन्द्रीय समिति बैठक पनि बस्छ,’ उनले बताए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका कारण अधिकांश केन्द्रीय नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा गइसकेकाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूबीच बैठक बस्न लागेको हो। केन्द्रीय समिति बैठक भोलि दिउँसो बस्नेछ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहमतिबीच विशेष महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएको थियो। उक्त कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ। त्यसविरुद्ध निवर्तमान सभापति देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष सर्वोच्च अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिएको छैन।

यसअघि देउवा पक्ष निकट तरुण दलका नेता–कार्यकर्ताहरू केही दिन केन्द्रीय कार्यालय सानेपामा बसेका थिए। तर हाल उनीहरूले कार्यालय छाडिसकेका छन्। तरुण दल अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै सबैलाई चुनावमा होमिन आग्रह गरेका छन्।

उल्लेखनीय छ, भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी भएको थियो। आगजनीबाट क्षति पुगेको कार्यालयको मर्मत कार्य हाल पनि जारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org