ताजा समाचार

टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा

डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे सुरु हुनेछ। नेपाल ‘ए’ दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ।

नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो। त्यसअघि नेपाल ‘ए’ले नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा बङ्गलादेश हाइपरफर्मेन्स–११सँग नौ विकेटको हार व्यहोरेको थियो। तीन खेलबाट दुई अंक जोडेको नेपाल हाल प्रतियोगिताको अंक तालिकामा सातौँ स्थानमा छ। सेमिफाइनलको सम्भावना कायम राख्न नेपालका लागि आजको खेल महत्वपूर्ण बनेको छ। यता एसिटीले प्रतियोगितामा हालसम्म तीन खेल खेले पनि कुनै खेल जित्न सकेको छैन। त्यसैले उसले पनि पहिलो जितको खोजीमा नेपाल ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

नेपाल ‘ए’को टोली

टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’को टोलीमा कप्तान अनिलकुमार शाहसहित कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री रहेका छन्। आजको खेलमा नेपाल ‘ए’ले जित निकाल्न सके प्रतियोगिताको सेमिफाइनल सम्भावनालाई थप बलियो बनाउन सक्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org