ताजा समाचार

सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन

भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले नागरिकलाई प्रदान गरिने सेवामा सुधार गर्दै सरकारी कार्यालयमा आउने सेवाग्राहीप्रतिको व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

असोज ८ गते बिहीबार भोजपुरमा आयोजित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँगको अन्तर्क्रिया तथा निर्देशन कार्यक्रममा मुख्य सचिव कार्कीले “सुशासन कायम हुनेगरी काम गर्न, वर्तमान सरकारको स्पिरिटअनुसार अघि बढ्न र नागरिकमैत्री शासन कायम गर्न” निर्देशन दिएका हुन्।

जिल्लामा सञ्चालित विकास निर्माणका कामलाई चुस्तदुरुस्त बनाउन, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा नागरिकले सहज र सरल रूपमा सेवा पाउने वातावरण निर्माण गर्न कार्यालय प्रमुखहरूलाई मुख्य सचिवको निर्देशन भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले जानकारी दिएका छन् ।

कार्कीले सरकारी निकायको कार्यसम्पादन प्रत्यक्ष रूपमा नागरिकसँग जोडिने भएकाले कार्यालय प्रमुखहरूले आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ निर्वाह गर्नुपर्ने बताए। नागरिकले सरकारी कार्यालयबाट पाउने सेवा र व्यवहारमा सकारात्मक परिवर्तन महसुस गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा भोजपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

अन्तर्क्रियाका क्रममा जिल्लामा सरकारी सेवा प्रवाह, विकास निर्माण तथा कार्यालयगत कार्यसम्पादनसँग सम्बन्धित विषयमा छलफल गरिएको थियो। मुख्य सचिव कार्कीले कार्यालय प्रमुखहरूलाई आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या पहिचान गरी प्रभावकारी कार्यसम्पादनमार्फत समाधानतर्फ अघि बढ्न निर्देशन दिए।

   

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org