एकीकृत माझी बस्तीः चौथो दशैं पनि बित्ने भो टहरोमा
ऋणमा डुबिन् श्वेता, भन्छिन्– थाकेकी छैन
सिन्धुपाल्चोक २२, असोज। विनाशकारी भूकम्प पछिको चौथो दशैं र तिहार आफ्नै घरमा मनाउने भिमटार माझी बस्तीका स्थानीयको यो वर्षको दशैैं र तिहार पनि टहरोमा नै बित्ने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ भिमटार माझी बस्तीमा नायीका श्वेता खड्काको समन्वयमा निर्माण सुरु गरिएको एकीकृत माझी बस्ती निर्माणमा ढिलाई भएपछि माझी समुदायको यो दशैैं पनि टहरोमा नै बित्ने भएको हो ।
भिमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायीका खड्काले श्वेता श्री फाउण्डेशनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । २०७४ जेठ १५ गते औपचारिक उदघाटन गरी यो तिहारसम्म माझी समुदायलाई बस्ती हस्तान्तरण गर्नै योजना भए पनि लक्ष्यअनुसार काम भएको छैन । मेलम्चीको गिरानचौरमा धुर्मुस–सुन्तली फाउण्डेसनले एकीकृत बस्ती निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेपछि श्वेताले चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित झ्याँडीमा एकिकृत बस्ती निर्माणको अगुवाइ गरेकी थिइन् ।
निर्माण सुरु भएको डेढ वर्षसम्म पनि घर सम्पन्न नहुँदा माझी समुदायमात्र होइन, स्वयम् श्वेता पनि चिन्तित भएकी छन् ।
यसरी भयो ढिलाइ
डेढ वर्ष अघिदेखि निर्माण सुरु भएको एकीकृत बस्तीमा ३५ घरमा मात्रै छानो हाल्ने काम सम्पन्न भएको छ । त्यस्तै ६ घरमा छानो हाल्ने तयारी छ भने नौवटा घरमा झ्यालको लेभलसम्म गाह्रो लगाइएको छ । अन्य घरहरु भने डीपीसी लेभल मात्रै सकिएको छ ।
एकीकृत बस्ती निर्माणको जिम्मा फाउण्डेशनले सुरुमा ठेकेदारलाई दिएको थियो । माझीगाउँको एकीकृत बस्ती निर्माणको जिम्मा पाएको सिन्धु क्रियटिभ मेलम्चीले आर्थिक अभाव देखाई काम गर्न नसक्दा बस्ती निर्माणमा ढिलाई भएको फाउण्डेशनको दाबी छ ।
बस्ती बनाउने ठेक्का लिएको सिन्धु क्रियटिभ मेलम्चीले ‘मोबिलाइजेसन’ खर्च नै छैन भनेर काममा ढिलाई गरेपछि माझी समुदाय आफैं बस्ती निर्माणमा जुटेका थिए । ‘हामीले ठेकेदारलाई काम दिएका थियौं तर उसँग सञ्चालन पैसा नै रहेनछ त्यही भएर उसलाई काम गर्न दिएनौ,’ श्वेता श्री फाउण्डेशनका परियोजना व्यवस्थापक यज्ञराज कार्कीले भने, ‘ठेकेदारले काम नगरेपछि स्थानीय समुदायले उपभोक्ता समिति बनाएर घर निर्माण गरिरहेका छन् ।’
अनुदान र ऋण नपाउँदा समस्या
श्वेता श्री फाउण्डेशनले शौचालयसहित ३ कोठे घर बनाएको छ । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत ७ लाख रुपियाँ पर्न आउँछ । फाउण्डेशनले स्थानीयसँग घर निर्माणमा लाग्ने ७ लाख आफैले व्यहोर्न पर्ने र अन्य भौतिक पूर्वाधारको काम मात्रै फाउण्डेशनले गर्ने सहमतीमा काम सुरु गरेको थियो ।
पुनर्निर्माण प्राधिकरणबाट निजी आवास अनुदान ३ लाख र लक्ष्मी बैंकसँग ४ लाख सहुलियत अनुदान लिएर घर निर्माण गर्ने स्थानीयसँग सम्झौता भएको फाउण्डेशनका परियोजना व्यवस्थापक कार्कीले बताउँछन् ।
तर अहिलेसम्म न लक्ष्मी बैंकले सहुलीयतको अनुदान नै दिएको छ न त निजी आवसबापत प्राप्त हुने सबै अनुदान नै माझी समुदायले पाएका छन् । हालसम्म २ करोड २२ लाख रुपियाँ बस्ती निर्माणमा सकिए पनि अनुदान भने जम्मा १ करोड १४ लाख रुपैयाँ मात्रै आएको कार्कीले बताए ।
डेढ वर्षदेखि बैंकसँग सहुलियत अनुदानका लागि पहल गरेपनि अहिलेसम्म पाउन नसकेको कार्कीले बताए । ‘बल्ल एक जनाले ऋण पाएको सूचना आएको छ, अब त्यो ऋण र प्राधिकरणबाट पाउने अनुदान जति छिटो प्राप्त हुन्छ त्यति नै छिटो बस्ती निर्माण सकिन्छ,’ कार्कीले भने ।
जग्गा सम्याउने, प्लटिङ गर्ने र प्राविधिक सामग्री मात्रै फाउण्डेशनले गर्ने स्थानीयसँग सहमति भएको थियो । बस्ती निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा विभिन्न संघ संस्थासँग सहकार्य गरेर बाल बगैँचा, बाटो, नाला, ढल, मन्दिर, सामुदायिक भवन, खुल्ला रंगमञ्च, सेफ्टी ट्याङ्की, खानेपानी र पानीको फोहरा (वाटर फाउण्टेन) मात्रै फाउण्डेशनले निर्माण गर्ने छ ।
उधारोमा सामग्री,ऋणमा श्वेता
आफ्नो पति श्रीकृष्ण श्रेष्ठको जिल्लामा केही गरेर देखाउने र श्रीमानको सम्झना चिरकालसम्म गराउने योजनाका साथ नायीका खड्काले एकीकृत बस्ती निर्माणको सुरुवात त गरिन् तर यतिबेला उनी बस्ती निर्माणमा आर्थिक स्रोत नजुटेपछि ऋणमा डुबेकी छन् ।
बानेश्वरको इन्द्रेणी सहकारीबाट ३ महिनाको लागि भनेर २२ प्रतिशत ब्याजदरमा २८ लाख ऋण लिएर एकीकृत बस्तीमा लगाएकी थिइन् श्वेताले । तीन महिनाको लागि भनेर ऋण लिए पनि अहिले ६ महिना बढी भइसकेको छ । ‘सरकारी अनुदान र सहुलीयतको ऋण आएपछि तिर्ने गरी म्यामले ऋण लिनु भयो तर त्यो नहुँदा समस्या भएको छ,’ श्वेता श्री फाउण्डेशनका परियोजना व्यवस्थापक कार्कीले भने । निर्माण सामग्री खरिद गर्दा अहिले पनि बजारमा ७२ लाख बढी ऋण रहेको कार्कीको भनाइ छ ।
अनियमितताको आरोप लागेपछि
ऋण गरेरै माझी समुदायका लागि एकीकृत बस्ती निर्माण गरिरहेकी नायीका खड्काको संस्था श्वेता श्री फाउण्डेशनलाई बस्ती निर्माणका क्रममा अनियमितता भएको आरोप समेत लागेको छ । पती वियोगको पीडा सहेरै बस्ती निर्माणमा लागेकी खड्कालाई यस्तो आरोप लगोपछि सांसद सहितको टोलीलाई बस्ती निर्माण स्थलमा राखेर फाउण्डेशनले सार्वजनिक सुनुवाई समेत गरेको थियो । पूर्व कानुन मन्त्री तथा यस क्षेत्रका सांसद शेरबहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङ र श्वेता खड्काको समेत सहभागीतामा सार्वजनिक सुनुवाई गरिएको थियो । कार्यक्रममा आफूहरुले बस्ती निर्माणमा अनियमितता नगरेको फाउण्डेशनले प्रष्ट पारेको थियो ।
हैरान भएँ, तर थाकेकी छैनः श्वेता
एकीकृत बस्ती शिलान्यास कार्यक्रममा आफ्ना पती स्वर्गीय श्रीकृष्ण श्रेष्ठको तस्वीर सामु आँसु खसाउँदै श्वेताले भनेकी थिइन्, ‘म पतिको कसम खाएर भन्छु, एकीकृत बस्ती कुनै हालतमा पनि बन्नेछ, उहाँको आत्माको शान्तिको लागि म जस्तोसुकै समस्यामा पनि बस्ती बनाएरै छाड्ने छु ।’
पतिको तस्वीर छोएर कसम खाएकी खड्कालाई यतिबेला भने समस्या छ, एकीकृत बस्तीका लागि उनी पटक–पटक सरकारी कार्यालयमा पुगेकी छन् । ‘म यति धेरै सिंहदरबार पुगेँ कि, सायद न योभन्दा अघि नै पुगेकी थिएँ, न अब नै पुग्छु होला,’ सरकारी ढिलासुस्तीको आफू पीडित भएको पूर्वमन्त्री तामाङको अगाडि श्वेताले गुनासो गरिन् । ‘लाग्दालाग्दै हिँड्दाहिँड्दै हैरान भएँ, तर पनि थाकेको छैन,’ खड्काले भनिन् ।
विदेशमा कार्यक्रमहरुमा जाँदा भन्नै लाज हुने गरी समेत पैसा उठेको नायीका खड्काले बताइन् । ‘भन्नै लाज लाग्ने गरी पैसा उठ्छ, नलिउँ भने आफूले सुरु गरेको बस्तीको याद आउँछ अनि सहेरै भएपनि पैसा लिन्छु,’ गुनासो मिश्रित स्वरमा खड्काले भनिन् ।
एकीकृत बस्ती टोक्नु न बोक्नु
एकीकृत बस्ती निर्माण सुरु हुँदा माझी समुदायको अनुहारमा जति खुसी देखिन्थ्यो, त्यो खुसी अहिले क्रमशः हराउँदै गएको छ । माझी समुदायलाई अहिले त्यो घर टोक्नु ल बोक्नु झैँ भएको छ ।
३ लाख सरकारी अनुदान र ४ लाख बैंकको ऋणमा घर निर्माण हुँदैछ । बैंकको ऋण सम्बन्धित घर धनीले नै तिर्नु पर्छ । ‘कोठा सानो छ, एउटा कोठामा भान्सा गरेपछि दुई कोठामा कसरी गुजारा चलाउनु,’ स्थानीय कमला माझीले भनिन् । सानो कोठा मात्रै होइन घरहरु वातावरण र मौसममैत्री नभएको आवाज समेत उठ्न थालेको छ ।
९ फिटको गारोमाथि जस्तापाताको छानो हाल्दा गर्मीयाममा घरभित्र बस्नै नसकिने स्थानीय बताउँछन् । झट्ट हेर्दा चिटिक्क देखिने भएपनि गर्मीमा घरभित्र बस्न नसकिने उनीहरुको भनाइ छ । स्थानीयले छानोमुनि सिलिङ हालिदिन श्वेता श्री फाउण्डेसनलाई आग्रह पनि गरेका छन् ।
तर आर्थिक अभावमा सिलिङ भने हाल्न नसकिने पाउण्डेशनले जानकारी दिएको छ । ‘उहाँहरुले नै हाल्ने हो भने मिल्छ तर हामी सिलिङ हाल्दैनौं,’ फाउण्डेशनका परियोजना व्यवस्थापक कार्कीले भने ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












