नेपाली क्रिकेटको ऐतिहासिक फड्को
काठमाडौँ । नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो । तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौँदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमानसमेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यान विवादले उग्ररूप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेट नेतृत्वविहीन अवस्थामा छ ।
क्रिकेट सङ्घ निलम्बनकै अवस्थामा गत वर्षमात्र एक दिवसीय मान्यता पाएको नेपालले अहिले एक दिवसीय शृङ्खला नै जितेर विश्व क्रिकेटको ध्यान आफूतिर तान्न सफल भएको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्ड्ससँग ‘डेब्यु’ (पहिलो) एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । शृङ्खला १–१ जीत सहितको बराबरीमा सकिएको थियो ।
क्यानको विवाद तथा नेतृत्वविहीन अवस्थामा पनि नेपालले दुईवटा ऐतिहासिक उपलब्धि हासिल गर्नु गर्वको विषय भएको बताउँछन्, राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास । क्यान विवाद समाधान पूर्वाधार विस्तारमा उनको जोड छ । “नेपालले एक दिवसीय मान्यता पाएपछि र एक दिवसीय शृङ्खला नै जितिसकेपछि अब नेपालमा पनि एक दिवसीय शृङ्खला खेल्नसक्ने पूर्वाधारको आवश्यकता छ, कीर्तिपुरको एउटा मैदानले कहिलेसम्म नेपाली क्रिकेटलाई धानिरहने ?”
“आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकार निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस्”, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे भन्छन् ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरूको हेरचाहलगायतमा ध्यान जानु जरुरी रहेको बताए । क्रिकेटको विकासका लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा
आइसिसीको सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो थियो । नेपालले नामिवियामा अघिल्लो वर्ष सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो ।
२०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटको व्यवस्थापकीय पक्ष सबै आइसिसीले हेर्दै आएको छ । निलम्बन फुकुवाको विषयमा लामो समयदेखि पहल शुरु भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।
आइसिसीले निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । “आइसिसीले निलम्बन फुकुवाका लागि राखेको शर्त हामीले पूरा गरिसकेका छौँ, फेबु्रवरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्बन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”, निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने ।
वि सं. २०७२ मा राखेपले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।
सीमित स्रोतसाधनमा नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालबाट शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान ग¥यो । पहिलोपल्ट २०५२ सालमा मलेशियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो ।
२०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो । त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो ।
सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता बन्यो । उपाधि युएईले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो ।
त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन–५ खेल्न जर्सीको भ्रमण ग¥यो । समूह ‘ए’ को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।
सन् २०१० को फेब्रुवरीमा काठमाडौँमा सम्पन्न डिभिजन–५ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन–४ मा नेपाल तेस्रो हुँदै ‘रेलिगेसन’बाट जोगियो । सन् २०१२ मा डिभिजन–४ जितेर डिभिजन–३ मा उक्लिएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन–३ मा पनि विजेता बन्दै डिभिजन–२ मा उक्लियो ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











