टेकु अस्पतालमा राति देखिएका कहाली लाग्दा दृश्य
उपचारका लागि होइन, पिसिआरका लागि यो दुःख
काठमाडाैँ । मंगलबार मध्यरात, झमझम पानी परिरहेको छ । पानीले भिजेको चिसो भुइँमा कागज, कार्टुन र रुमाललाई बिछ्यौना बनाएर निदाउने प्रयास गरिरहेका छन् । बेन्च र टेबलमा पनि निदाइरहेका छन्, निदाउने प्रयास गरिरहेका छन् ।
यिनीहरू रोजगारी माग्न जम्मा भएका होइनन्, उपचारका लागि पनि आएका होइनन् । कोभिड परीक्षण गरिपाऊँ– उनीहरूको यत्ति माग हो । तर, दिनभर लाइन लाग्दा पनि पालो नआएपछि उनीहरू रातिदेखि नै यसरी लाइन लाग्न बाध्य भएका हुन् । के गर्नु ? यो देशमा महामारीविरुद्ध सरकारको बन्दोबस्त यस्तै छ ।
यो दृश्य हो राजधानीको टेकुस्थित कोभिड– डेडिकेटेड शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको । अस्पतालको गेटबाहिरको अवस्था पनि यस्तै छ । सडक किनारमा उभिएका, बसेका सबैसँग छाता छैन । छाता हुनेहरू छातामा ओत लागेका छन् । छाता नहुनेहरू बाटोछेउका घरका सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् । उभिएर थाकेकाहरू भिजेको भुइँमै पल्टिएका छन् ।
महोत्तरी गौशालाका रामबाबु साह सोमबार साँझ काठमाडौं आइपुगे । सरासर लगनखेलस्थित आफ्नो कोठामा जान खोजेका साहलाई घरबेटीले गेटमै रोके । पिसिआर जाँच गरेको रिपोर्ट देखाएपछि मात्र घरभित्र छिराउने निर्देशन दिएको खबर आजको नयाँ पत्रिकामा सागर चन्दले लेखेका छन।
आँगनमै झोला छाडेर साह पिसिआर जाँच गराउन टेकु आइपुगे । उनी सोमबार साँझ अस्पताल आएका हुन् । मंगलबार रातिसम्म पालो पाएका छैनन् । बुधबार त परीक्षण होला कि भनेर उनी अस्पताल गेटबाहिर चिसो सिँढीमा ओत लाग्ने प्रयास गरिरहेका छन् ।
महात्तरीमा शाहको आठजनाको परिवार छ, कमाउने उनी मात्रै हुन् । निर्माण मजदुरको काम गर्ने साह भन्छन्, ‘पेटका लागि जस्तो पनि सहनै प¥यो ।’
सोमबार बिहानैदेखि पिसिआर जाँचको पालो पर्खेर बसिरहेका वीरगन्जका अबुराहन आलमले त खाना पनि खाएका छैनन् । अस्पतालको आँगनमा कागज ओछ्याएर निदाउने प्रयास गरिरहेका आलमलाई घरबेटी मात्र होइन, टोलकै मानिसले घरभित्र छिर्न दिएनन्।
‘घरबेटी र टोलका मान्छेले भित्र पस्न दिएनन् । परीक्षणका लागि यता आएको पनि दुई दिन भइसक्यो, खाना पनि खान पाएको छैन,’ आलमले सुनाए । गौशालामा सवारीसाधन मर्मतको काम गर्ने आलम गुह्येश्वरीमा बस्छन् । संक्रमण छैन भन्ने रिपोर्ट लग्न पाए रोजीरोटी मिल्थ्यो भन्ने उनको आशा छ । तर, यो भिडमा उनको नियति के हुने हो ? थाहा छैन ।
दुई दिनदेखि निद्रा र भोकले रन्थनिएका आलमका आँखा सुन्निएका छन् । उनी राम्रोसँग बोल्नसमेत सकिरहेका छैनन् । दिनभरि लाइनमा उभिनुपर्ने, राति चिसो भुइँमा पल्टिनुपर्दा टाउको दुख्न थालेको सुनाउँछन् उनी ।
यो हो पूजादेवीको नौजनाको परिवार, उनीहरू अस्पतालभित्रै रहेको एटिएम बुथमा निदाउने प्रयास गरिरहेका छन् । मंगलबार बिहान मात्र वीरगन्जबाट काठमाडौं आएकी पूजादेवीलाई आफ्नोभन्दा बालबच्चाको चिन्ता लागेको छ । तीनजना बच्चा चिसोमै निदाएका छन्, तर पूजादेवी उनीहरूको रेखदेख गर्दै जागा छिन् ।
२२ भदौबाट अस्पतालले मध्याह्न साढे १ बजेसम्म मात्र ओपिडी टिकट वितरण गर्छ । त्यसपछि फिभर क्लिनिकमा स्वास्थ्य जाँचपछि पिसिआर जाँच निर्देशिकाअनुसार जाँच गराउनुपर्ने देखिएमा एक दिनमा तीन सयजनाको मात्र अस्पतालले पिसिआर जाँचका लागि स्वाब संकलन गर्छ । अस्पतालले के गरोस्, सरकारले दिएको जनशक्ति र पूर्वाधारको क्षमता यत्ति नै हो । महामारी अझै फैलिएमा जनताको के हालत हुने हो ? अनुमान गर्दा पनि कहालीलाग्ने अवस्था छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












