थ्री नेसन्स कप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलको अनावृष्टि टुङ्ग्याउन आयोजना गरिएको थ्री नेशन्स कपको फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । प्रतियोगिताको खडेरी तोड्न सफल थ्री नेशन्स कपले गोलको खडेरी भने टार्न सकेन ।
समग्र प्रतियोगितामै गोलको हाहाकार मच्चिएको प्रतियोगिताले नेपालको गोलविहीन यात्रालाई त झनै लम्ब्याइ दिएको छ । हुन पनि प्रतियोगितामा अहिलेसम्म तीन खेल भइसके । तर, गोल एउटा मात्रै भएको छ, त्यो पनि आत्मघाती ।
आयोजक नेपाल, दक्षिण एसियाली अर्को मुलुक बंगलादेश र किर्गिस्तानको यू-२३ गरी तीन टोली सहभागी प्रतियोगितामा दुई भ्रमणकारी टोली आमनेसामने भएका थिए । सोही खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले डिफेन्सिफ हाफमा आएको बल क्लियर गर्ने क्रममा पोस्टमा छिरेको थियो ।
त्यही एकमात्र गोलले अहिलेसम्म प्रतियोगितामा एकाधिकार जमाइरहेको छ । त्यसलाई चुनौती दिने अन्य गोल सिर्जना हुन सकेका छैनन् । अझ नेपालले त पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन ।
नेपाल आज सोही गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै घरेलु मैदानमा उपाधि उचाल्ने दाउमा छ । ‘हामीले सोचेअनुसार खेले पनि गोल गर्न सकेका छैनौं,’ नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जन भन्छन्, ‘हाम्रो प्रमुख लक्ष्य गोल हुनेछ ।’
त्यस्तै, राष्ट्रिय टोलीको अग्रपंक्ति सम्हालिरहेका फरवार्ड अभिषेक रिजालले पनि गोल स्कोरिङमा देखिएको समस्या फाइनलमा तोडिने विश्वास व्यक्त गरेका छन् । ‘कहिले काहिँ खेल तलमाथि हुन्छ नै । त्यसका बाबजुद हामी थ्री नेशन्स कपको फाइनल पुगेका छौं,’ अभिषेकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देखिएको स्कोर समस्या फाइनलमा तोडिने विश्वास व्यक्त गर्छु ।’
राष्ट्रिय टोलीका आक्रमण सम्हालेका अभिषेकले गोल स्कोरिङबारे बताइरहँदा गोलपोस्ट सम्हालेका कप्तान किरण चेम्जोङ उपाधि उचाल्न हतारिएका देखिन्छन् । आजको खेलमा यसअघि देखिएको फिनिसिङको समस्या टार्दै फरवार्डले गोल गर्नेमा आशावादी रहेका कप्तान किरण भन्छन्, ‘जुनसुकै कप्तानलाई आफ्नो टोलीले उपाधि जित्दा खुशी लाग्छ, मेरो कप्तानीमा देशलाई उपाधि दिलाउन चाहन्छु ।’
त्यस्तै, उपकप्तान रोहित चन्द पनि ६ वर्षपछि रंगशाला फर्किन पाएकोमा खुशी व्यक्त गर्दै उपाधि घरैमा राख्ने बताउँछन् । यसअघिका दुई खेलमा निकालेको बराबरी नतिजासमेत उल्लेख गर्दै ‘फाइनलमा नेपालले अझै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि घरमा नै राख्ने’ सामाजिक सञ्जालमा लेखेका छन् ।
राउन्ड रोबिन प्रणालीमा जारी प्रतियोगिताका दुवै खेलमा गोल गर्न असफल नेपाल आजकाे फाइनलका लागि जति उत्साहित छ, त्यति नै बंगलादेश पनि । सन् २००५ पछि पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पुगेको बंगलादेश कुनै पनि हालतमा उपाधि गुमाउन चाहँदैन ।
अन्तर्राष्ट्रिय खेलमा गोलको खडरीले उजाडिएको नेपाली टोली र प्रतियोगितामा तीन अंक हासिल गर्ने एउटा मात्र टोली बंगलादेशबीच भोलिको खेलमा घमासान प्रतिस्पर्धा हुने सहजै अनुमान लगाउन सकिन्छ । बंगलादेशी टोलीका प्रशिक्षक जेम्स डे पनि याे खेल प्रतिस्पर्धात्मक हुने टिप्पणी गर्छन् ।
‘हामी फाइनलमा पुग्यौं त्यो नै हाम्रा लागि ठूलो कुरा हो,’ उनी भन्छन्, ‘घरेलु टोलीलाई समर्थकको साथ पनि रहनेछ ।’
अनुभवी बंगलादेशी टोलीलाई २२ वर्षपछि नेपालमै नेपालविरुद्ध फाइनलमा पुर्याएका कप्तान जमल भुया उपाधि जित्ने सुनौलो मौका रहेको बताउँछन् । ‘हाम्रा लागि उपाधि जित्ने सुन्दर मौका छ । र, हामी त्यसका लागि तयार छौं,’ जमलले भने ।
नेपालले १९९९ को साफ गेम्समा बंगलादेशविरुद्ध नेपालमै फाइनल खेलेको थियो । त्यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपाधि चुम्नबाट असफल रहेको बंगलादेशले १९९९ को अक्टोबर ४ मा नेपाललाई पराजित गरेर साफ गेम्समा पहिलो स्वर्ण पदक जितेको थियो ।
त्यो समय नेपाली टोलीको सदस्य रहेका बाल गोपाल महर्जन एक खेलाडीको रूपमा पराजित भएको टोलीसँग प्रशिक्षकको रूपमा बदला लिने इच्छासहित दशरथ रंगशालामा उत्रिने छन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












