नेपाली जनताको सङ्घर्ष र बलिदानको उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन(अन्तरवार्ता)
तत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) ससदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन्। कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित ६ पटक व्यवस्थापिका–संसद्को नेतृत्व सम्हाले।
उनले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भइ चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई संवादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गरे। संविधासभाबाट संविधान जारी भएसगैँ उनले त्यसमा सफलता प्राप्त गरे।
पूर्वसभामुख नेम्वाङ अहिले पनि सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आएका छन्।
प्रस्तुत छ, १६ औँ गणतन्त्र दिवसका अवसरमा डेढ दशकदेखि मुलुकमा भइरहेका राजनीतिक र शासकीय प्रणालीसम्बन्धी अभ्यासबारे उनीसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी गर्ने अवसर र प्रक्रियाबारे कसरी जुट्यो?
मुलुकमा ७० वर्षअघिदेखि संविधानसभाद्वारा संविधान जारी गर्नुपर्छ भन्ने प्रसङ्ग उठेको थियो। विसं २०६२/६३ को संयुक्त जनआन्दोलन उत्कर्षमा पुगेसँगै जनताको त्यो चाहना र भावनाले मूर्तता प्राप्त गर्यो। संविधानसभाको दुई पटक निर्वाचन भइ संविधान जारी भयो। जनताको यसअघि कहिल्यै नभएको पर्याप्त दबाबले मूर्तता प्राप्त गर्न सफल भएको हो।
संविधानसभाबाट समयमा संविधान बन्नुपर्छ भनेर निरन्तर लागेकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतासहितको समाजवाद उन्मुख संविधान प्राप्त भयो। यो जनताले आफ्ना लागि बनाएको संविधान हो। यसअघि जारी संविधानका स्रोत शासक थिए। यो त्यस्तो संविधान हो जसको अधिकारको स्रोत जनता हुन्।
त्यसैले संविधानको प्रस्तावनामै सार्वभौम सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक संस्था संविधानसभाले यो संविधान बनाएर जारी गरेका छौँ भनेर घोषणा गरिएको हो।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशपछि पनि भइरहेका अभ्यासप्रति अनेक टिक्का टिप्पणी सुनिएको छ, यसप्रति तपाईंको धारणा के हो?
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त संविधान र हाल अभ्यासमा रहेको शासन व्यवस्थाको कुनै विकल्प छैन। जनताको यो तहबाट संविधान बन्ने जुन यथार्थ छ, योभन्दा माथि अब यो देशमा अर्को संविधान बनाउने कुनै पनि ठाउँ छैन। अब फेरि पनि अर्को परिवर्तनका कुरा गर्नुको कुनै अर्थ छैन। यही संविधानअन्तर्गत रही जुनसुकै परिवर्तन गर्दै अघि बढ्न सकिन्छ।
मुलुक संङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि डेढ दशकमा भएका अभ्यास र उपलब्धिलाई कसरी हेर्नुभएको छ?
अहिले हामीले अभ्यास गरेको संविधान जनताले–जनताका लागि बनाएको संविधान हो। जसको अधिकारको स्रोत नेपाली जनता हुन्। जसले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख देशलाई प्रदान गर्यो। यो संविधान अन्तर्गत सही प्राप्त उपलब्धि कार्यान्वयन गर्दै लैजानुपर्छ। राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिलाको सहभागिताको व्यवस्था गरेका छौँ। समावेशी समाजको कल्पना गरेका छौँ। यसबीचमा नेपाल र नेपाली जनताको हितका लागि थुप्रै काम हामीले सम्पन्न गरेका छौँ।
राजनीतिक रुपमा यति धेरै परिवर्तन गरेका छौँ। जनतलाई पहिलो पटक सार्वभौम सम्पन्न तुल्याएका छौँ। जनता यति अधिकार सम्पन्न भएका छन् कि जनताको आर्शिवाद र समर्थन जितेर संसदमा पुग्नुस् जुनसुकै परिर्तन गर्न सकिन्छ। जहाँसम्म आफना प्रतिनिधिका कुरा छ, व्यक्ति र दल मन परेन भने परिवर्तन र छान्न सकिन्छ। त्यसका लागि निर्वाचन र संसदमार्फत जुनसुकै परिवर्तन गर्न सकिन्छ। परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन।
राजनीतिक दलहरुले विगतको सशस्त्र द्वन्द्वको घाउलाई सम्बोधन गर्ने शान्ति प्रकृयालाई निकै लामो समयसम्म टुङ्गोमा पुर्याउन सकेन भन्ने आरोप छ नि?
हामीले यति ठूलो राजनीतिक परिवर्तन गरेका छौँ। शान्ति प्रकृयाका बाँकी काम लगभग टुङ्गोमा पुर्याएका छौँ। सेना समायोजन गरेर एउटा ठूलो सफलता प्राप्त गरेका छौँ। त्यही प्रकृयाको सन्दर्भमा यति राम्रो संविधान बनाउन सफल भएका हौँ। अब शान्ति प्रकृयासँग सम्बन्धित थोरै काम मात्रै बाँकी छ। जुन अब दुई/तीन वर्षभित्र सम्पन्न गर्ने गरी हामी काम अघि बढाइरहेका छौँ।
यो शान्ति प्रकृयासँग सम्वन्धित जे काम गरिएको छ, विश्वकै शान्ति प्रकृयाका उदाहरणीय छ। म भर्खरै कोलम्बिया पुगेर आएँ, त्यहाँको समेत अनुभव हेर्दा दाबीका साथ भन्न सकिन्छ कि नेपालको शान्ति प्रकृयाको जुन प्रसङ्ग छ, त्यो हाम्रो मोडेल हो, विश्वमै उत्कृष्ट छ।
मुलुकका प्रमुख राजनीतिक शक्तिले समयमै पूरा गर्न पर्ने समाजका जल्दाबल्दा विषयमा पनि त्यति ध्यान पुर्याएनन् भन्ने आरोप छ नि?
हो, जनताको चाहना र भावनाअनुरुप कतिपय महत्वपूर्ण काम भने अझै पनि गर्न सकेका छैनौँ। त्यसतर्फ केही कमी कमजोरी रहेकै हुन्। देशमा ठूलो राजनीतिक परिवर्तनका साथ केही महत्वपूर्ण उपलब्धि हासिल भएको छ। तर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा भने कमी कमजोरी रहन गए। गणतन्त्र दिवसका अवसरमा म प्रष्ट र ढुक्कसँग भन्न सक्छु कि समाजमा विद्यमान त्यस्ता कमी कमजोरीलाई सच्चाएर अब हामी अघि बढनुपर्छ।
देश गणतन्त्रको अभ्यासमा छ, देशको आर्थिक सङ्कटसँग जोडेर सङ्घीयता खर्चिलो भयो भन्ने पाटोबाट कुरा उठाइएको छ, यसमा यहाँको धारणा के?
हामीले स्थापना गरेको लोकतन्त्र भनेको समाजमा व्यक्ति भएका सबैखाले विचार सन्न सक्ने सुन्दर पक्ष हो। समाजमा आउने सबै विचारका बारेमा छलफल हुन्छ। छलफल हुनु राम्रो कुरा हो। विगतमा हामी कुन व्यवस्थाबाट गुज्रदै यहाँ आइपुगियो भन्ने हामीलाई राम्ररी थाहा छ। समाजमा विकृति र विसङ्गति छन्, त्यसलाई सच्याऔँ, सुधारौँ भन्दा सुरक्षा कानुन भोग्नु परेका हामी धेरै ज्यूँदैछौँ।
प्रधानमन्त्री भारतमा जाँदा त्यहा बोलेका कुराका लागि काठमाडौँमा पर्चा छर्दा राजकाज मुद्दा लागेर सात महिना कैद सजाय भोग्ने मानिस मै हुँ। अहिले हामीले त्यो प्रणाली परिवर्तन गरियो। पूर्ण लोकतन्त्रको आधार तयार गरिएको छ। अहिले यस्तो हुनुपर्छ भनेर आएको विषयलाई अचम्म मान्न हुन्न। त्यो छलफल र आएका विचार स्वस्थ्य र स्वच्छ भने हुनुपर्छ। त्यसले एउटा निष्कर्षमा पुर्याउँछ।
संविधान बनाउने क्रममा सबैभन्दा बढी सङ्घीयताको विषयमा छलफल भएको हो। सङ्घीयता निर्विवाद होइन। व्यापक छलफलपछि टुङ्गोमा पुगिएको हो। त्यसैले छलफल हुनुलाई अन्यथा मान्न हुन्न। छलफल चल्छ। एउटा लोकतान्त्रिक विधि र प्रकृयाबाट टुङ्गोमा पुग्न पर्छ।
१६ औँ गणतन्त्र दिवस मनाइरहँदा पश्चिम नेपालमा पूर्वराजाको अभिनन्दनको घटनालाई कसरी हेर्नुभएको छ?
एकदमै सामान्य टिप्पणी गर्न नपर्ने विषयका रुपमा लिन्छु। पूर्वराजालाई एउटा नागरिकको हैसियतले सम्मान नै गर्छु। अन्यथा टिप्पणी छैन। उहाँले बोल्न सक्नुहुन्छ। शान्तिपूर्ण ढङ्गले हिँड्न सक्नुहुन्छ। संविधानबमोजिमका क्रियाकलाप त लोकतन्त्रको सुन्दर पक्ष नै हो।
हामी निरङ्कुश परिस्थितिबाट अहिले फरक ठाँउमा आइसकेका छौँ। अहिले शान्तिपूर्ण ढङ्गले गणतन्त्र चाहिन्न पनि भन्न पाइन्छ। तर हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ। कार्यान्वयन गर्दै यहाँ आइपुगेका छौँ। कार्यान्वयन गर्ने सन्दर्भमा पटक–पटक निर्वाचनमा गएका छौँ। सबैखाले विचार बोकेका दल निर्वाचनमा गएका र प्राप्त परिणामलाई स्वभाविक रुपले लिइएको छ।
गणतन्त्र दिवसका अवसरमा आम जनसमुदायलाई यहाँको केही सुझाव वा सन्देश छ कि?
वर्तमान संविधानको आधारमा सार्वभौम सम्पन्न जनतालाई ध्यानमा राखेर हामीले अघि बढ्नुपर्छ। पुराना दलप्रति विभिन्न प्रश्न उठेका छन्। अहिलेको अवसर हाम्रा लागि अवसर हो। उठेका विषयलाई हामीले हेर्नुपर्छ, गम्भीरतापूर्वक लिनुपर्छ। गरिएका राम्रा विषय जनतामा लैजानुपर्छ। देखिएका कमी कमजोरीलाई हार्दिकतापूर्वक स्वीकार्न पर्छ। त्यसलाई सच्याउँदै अघि बढने प्रतिबद्धता व्यक्त गरेर व्यवहारमा उतार्दै अघि बढनुपर्छ।
लोकतन्त्रमा यो हाम्रा लागि अवसर हो। अवसरलाई सदुपयोग गरियो, कमी कमजोरीलाई समयमै सच्याएमा अघि बढने प्रशस्त आधार हुन्छ। लोकतन्त्रमा व्यक्ति र दल परिवर्तन गर्न सकिन्छ। यो हामी र सवैका लागि राम्रो अवसर हो।
Comments
अरु समाचार
-
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः उपप्रधान एवं अर्थमन्त्री पौडेल
काठमाडौं । (नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका...
-
सुशासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ: एमाले अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
- नेपाल र कतारबीचको श्रम सम्झौता समयसापेक्ष बनाउने पहल गर्दैछु: राजदूत डा. ढकाल
-
‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ’
काठमाडाैं । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन...
-
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
काठमाडौँ । पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने,...