आलेख : लोपोन्मुख कछुवा जोगाउनै गाह्रो
झापा : मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ । लोप हुने अवस्थामा पुगिसकेको कछुवाको संरक्षणका लागि झापाको अर्जुनधारा नगरपालिका–९ सालबाडीमा कछुवा उद्धार तथा संरक्षण केन्द्र स्थापना भएको छ ।
सामुदायिक स्तरमा नेपालमा कछुवा जोगाउन लागिपरेको यो एकमात्र संरक्षण केन्द्र हो । यहाँ लोपोन्मुख घोषित ठोटरी, तीनधर्के पहाडी कछुवा, थोप्ले पोखरी लगायतका प्रजातिको कछुवालाई संरक्षण गरिएको छ । मेची बहुमुखी क्याम्पसमा जीव विज्ञान पढाउने प्राध्यापक तपिलप्रकाश राई कछुवा संरक्षण केन्द्रमा प्रमुख संरक्षणकर्ताको जिम्मेवारीमा हुनुहुन्छ ।
कछुवाले के खाए ? आज कता डुल्दैछन् ? अण्डा कोरलेका छन् कि छैनन् ? रोगाए कि स्वस्थ नै छन् ? कछुवाहरुको चालचलन कस्तो छ ? यस्तै प्रश्नहरु दिमागमा बोकेर उहाँ कछुवाका विषयमा विद्यावारिधि तहको अध्ययन पनि गर्दै हुनुहुन्छ । एघार वर्षअघि सरीसृप वैज्ञानिक प्राडा केआर खम्बुको पहलमा सुखानी सहिद स्मृति प्रतिष्ठानको सहिद स्मृति उद्यानभित्र कछुवा पाल्न पोखरी खनिएको थियो । झापाका सुक्दै गएका सिमसार क्षेत्रबाहिर बासस्थान खोज्दै निस्कने कछुवाहरुलाई उद्धार गरेर त्यही पोखरीमा ल्याएर राख्न थालिएपछि यो उद्यान कछुवा पालन केन्द्रका रुपमा समेत विकसित भयो ।
एउटा दुईवटा गर्दागर्दै दर्जनौँ कछुवा पाल्न थालिएपछि उभयचर तथा सरीसृप संरक्षण समाज नेपाल (आर्को नेपाल) को सहकार्यमा कछुवा उद्धार तथा संरक्षण केन्द्रको विधिवत् स्थापना भयो । कछुवाको अध्ययनमा रुचि राख्ने हजारौँ अनुसन्धानकर्ता, विद्यार्थी र पर्यटकहरु यो केन्द्रमा आउने गरेको मुख्य संरक्षणकर्ता एवम् शोधकर्ता राई बताउनुहुन्छ । केन्द्रमा दुर्लभ आठ प्रजातिका ४० वटा कछुवाको संरक्षण भइरहेको छ भने करिब सय वटा अरू कछुवा नजिकैको पोखरीमा संरक्षित छन् । उहाँका अनुसार झापा ध्वाँसे–कडे–पाते कछुवा, रातो काने, ठोटरी, नरम खवटे, पहेँलो धुरे लगायतका दुर्लभ एवम् लोपोन्मुख कछुवा संरक्षण भइरहेको छ ।
ठोटरी विश्वमा नै अति सङ्कटापन्न घोषित कछुवाको एउटा प्रजाति हो । सालको जङ्गल आसपासमा यसको बासस्थान रहेको छ । यो कछुवा मध्य पहाड र तराईमा पाइन्छ । मासु खानका लागि मानिसले यसलाई घरपालुवासमेत बनाउने गरेका छन् । ध्वाँसे–कडे–पाते कछुवा झापाको टाङटिङ र बिरिङ खोला आसपासमा पाइएको दुर्लभ प्रजातिको अर्को कछुवा हो । मानव बस्ती विस्तार र खोला उत्खननका कारण यसको बासस्थान नै लोप भइसकेको छ । नरम खवटे कछुवा असारदेखि भदौसम्म पानी परेका बेला खोला र खोल्साहरुमा पनि देख्न पाइन्छ । गाउँघरमा यसलाई टिकटिके कछुवा भन्ने गर्छन् ।
प्रतिष्ठानले तीन बिघा क्षेत्रमा ‘कछुवा संरक्षण तथा प्रजनन केन्द्र’ सञ्चालनमा ल्याएको छ । जहाँ विश्वमा दुर्लभ मानिएका कछुवालाई संरक्षण गरेर राखिएको छ । कछुवा संरक्षणका लागि प्रतिष्ठानले सानाठूला पोखरी र खुल्ला ठाउँलाई सुरक्षित घेराबारा गरेर र बोटबिरुवा रोपेर हराभरा बनाएको छ । कछुवाको आयु दुई सय वर्षसम्म हुन्छ भने यो जल तथा स्थल दुवैमा बाँच्न सक्छ । नेपालमा जलवायु परिवर्तनका कारण पुराना सिमसार र दलदले जग्गा सुकेर जाँदा कछुवाको मुख्य बासस्थान मासिएको छ । अर्कातिर मासु खानका लागि सिकार गरिनाले बल्लतल्ल बाँचेका कछुवा पनि सिद्धिदैछन् ।
अर्जुनधारा नगरपालिका–८ की ४० वर्षीया नीलु फुँयाल दैनिक नौ घण्टा कछुवाको हेरचाहमै बिताउनुहुन्छ । उहाँले आफ्ना बालबच्चालाई झैँ जल र जमिनमा बस्ने कछुवालाई स्याहार्ने गरेको बताउनुभयो । “बालबालिका जस्तै लजालु हुँदारहेछन् कछुवाहरु”, उहाँले कछुवाको आनीबानी बताउँदै भन्नुभयो, “अलिकति होहल्ला भयो कि पानी र घाँसभित्र लुकिहाल्छन् ।” कछुवाले जङ्गल र पोखरीको शान्त वातावरण मन पराउँछ । केन्द्रमा कछुवाका लागि प्राकृतिक रुपमै उपयुक्त बासस्थान र वातावरण निर्माण गरिएको छ ।
कछुवा उद्धार तथा संरक्षण केन्द्रमा पाँच वर्षदेखि हेरालुका रुपमा कार्यरत उहाँको मुख्य काम भनेको कछुवालाई आहार खुवाउनु र वयस्क पोथी कछुवाले कोरलेका अण्डाको संरक्षण गर्नु हो । प्रकृतिको महत्वपूर्ण सम्पत्तिका रुपमा जीवित यो प्राणीको संरक्षणका लागि कछुवाका प्रजाति अनुसारको बासस्थान र पौष्टिक आहारको बन्दोबस्त मिलाउनु चुनौतीपूर्ण छ । पच्चिस हेक्टर क्षेत्रफलको नमूना सामुदायिक वनभित्र तीन हेक्टरको विशाल पोखरी छ ।
वरिपरि सालका रूखले घेरिएको सो स्थानमा साना साना सुरक्षित पोखरी बनाएर कछुवालाई संरक्षण गरिएका छन् । “लोपोन्मुख अवस्थामा पुगिसकेका कछुवाको संरक्षण गर्नु भनेको तिनको प्रजनन गराएर सङ्ख्या बढाउनु पनि हो”, संरक्षणकर्ता राई भन्नुहुन्छ, “तर, यो कार्य निकै चुनौतीपूर्ण छ । स्रोत र साधनको कमी हुँदाहुँदै केन्द्रले गरिरहेको प्रयास उपलब्धिपूर्ण मान्नुपर्छ ।”
कछुवाले पोखरीको किनारमा अण्डा कोरल्ने गर्दछ । भर्खर कोरलिएका अण्डा न्याउरी मुसा, कमिला र सर्पले खाइदिने हुँदा जोगाउनै धौधौ पर्छ । केन्द्रमा ५० ग्रामको बच्चादेखि ६ केजीसम्मको कछुवा रहेका छन् । मनसुन सुरु भएसँगै कछुवाको प्रजनन बेला सुरु हुन्छ । राईका अनुसार एउटा कछुवाले दुईदेखि १० वटासम्म अण्डा कोरल्ने गर्दछ । राम्रो खानेकुरा र वातावरण पाएमा कछुवाले वर्षमा दुईपटकसम्म अण्डा कोरल्ने गर्दछ । अण्डा पारेको एक सय ७० दिनको हाराहारीमा उपयुक्त वातावरण हुँदा बच्चा निस्कने गरेका छन् ।
कछुवाको सङ्कलन, बिक्री वितरण तथा ओसारपसार कानुनी रुपमा दण्डनीय भए पनि जनचेतनाको अभाव रहेको कारण यसको चोरी सिकारी भइरहेको छ । चार महिनाअघि केन्द्रका संरक्षित कछुवा हराएपछि हाल संरक्षण क्षेत्र वरिपरि सिसी क्यामेरा जडान गरिएको राईले जानकारी दिनुभयो । प्रविधियुक्त सुरक्षामा धेरै ध्यान दिनुपर्ने हुँदा सिसी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो । केन्द्रमा संरक्षित ४० वटा कछुवा मानिसले दैनिक रुपमा दिने चारोमा निर्भर छन् । उता पोखरीमा विचरण गर्दै आएका अन्य सय वटा कछुवा भने प्राकृतिक आहारमै रमाउँछन् ।
केन्द्रमा साना आठ र ठूला दुई गरी १० वटा पोखरीमा कछुवा राखिएको छ । कछुवालाई दैनिक एकपटक पौष्टिक आहार खुवाउने गरेको सुखानी सहिद स्मृति पार्कका व्यवस्थापक रुद्रमणि सुवेदीले बताउनुभयो । उहाँले कछुवालाई महिनामा चारपटक माछा र दैनिक केरा, बन्दाकोपी, स्याउ लगायतका खानेकुराको व्यवस्था गरिएको बताउनुभयो । कछुवा सर्वभोगी हुने हुँदा माछा, घुँगीसँगै फलफूल खाने गर्दछ । केन्द्रलाई सरकारले उल्लेखनीय सहयोग गरेको पाइएको छैन । उहाँले उद्यानमा घुमघाम र मनोरञ्जनका लागि आउने पर्यटकहरु कछुवा उद्धार तथा संरक्षण केन्द्रको अवलोकनमा समेत आउने गरेको उहाँले जानकारी दिनुभयो ।
केन्द्रको वरिपरि आगन्तुकहरुलाई कछुवा संरक्षणबारे जानकारी गराउने बोर्डहरु राखिएको छ । कछुवाको ठूलो मूर्ति बनाएर राखिएको स्थानमा पर्यटकहरु तस्बिर खिच्न रुचाउँछन् । अहिलेसम्म कछुवाको चारोको सम्पूर्ण खर्च प्रतिष्ठानले नै व्यहोर्दै आएको व्यवस्थापक सुवेदीको भनाइ छ । कछुवालाई खुवाउन र संरक्षणमा मासिक रु ५० देखि ७० हजार जति खर्च हुने गरेको केन्द्रले जनाएको छ । लोपोन्मुख कछुवा प्रजातिको संरक्षण गर्ने, प्राकृतिक वातावरणमा प्रजनन गरी वृद्धि गराउने, मानव गतिविधिका कारण जोखिममा परेका कछुवाहरुको उद्धार गर्ने तथा कछुवासम्बन्धी अध्ययन अनुसन्धानका लागि सहजीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।
कछुवा लजालु प्रकृतिको जीव भएको कारण उद्यानभित्र वनभोज खान हालै रोक लगाइएको व्यवस्थापक सुवेदीले बताउनुभयो । “माइक बजाएर होहल्ला हुँदा कछुवाको प्रजनन प्रक्रियामै अवरोध भयो,” उहाँले भन्नुभयो, “त्यसैले पार्क क्षेत्रभित्र वनभोज खान रोक लगाएका हौँ ।” उहाँका अनुसार कछुवालाई तस्कर र न्याउरी मुसाबाट जोगाउन गाह्रो भइरहेको छ । झापाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा विकसित भएका कारण सुखानी स्मृति उद्यान र स्थानीयवासीको सुरक्षामा प्रहरी परिचालित हुने गरेका छन् ।
तीन वर्षअघि अर्जुनधारा नगरपालिकाले आफ्नो नगरलाई कछुवा संरक्षित नगरपालिका भनेर घोषणा गरेको थियो । तर, अपनत्व नलिएपछि नगरको घोषणा कागजमै सीमित बनेको छ । नेपालमा अस्तित्वमा रहेका ५८ प्रतिशत कछुवा लोपोन्मुख अवस्थामा रहेका छन् । सन् १९९८ मा जर्मन प्राध्यापक डा हर्मन स्लेकले नेपालमा कछुवाको पहिलोपटक अध्ययन सुरु गर्नुभएको थियो । उहाँले चितवनको राष्ट्रिय निकुञ्जमा कछुवाको संरक्षण सुरु गर्नुभयो भने सामुदायिक स्तरमा सबैभन्दा ठूलो र पहिलो संरक्षण झापाको सुखानी स्मृति प्रतिष्ठानमा भइरहेको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











