कुन संसदीय समितिको सभापतिमा कसको सम्भावना?
काठमाडाैँ । संघीय संसद्का १२ वटा समितिको सभापतिका लागि भदौ ११ मा निर्वाचन हुने भएको छ।
बिहीबार सभामुखको कार्यकक्षमा बसेको बैठकले सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। कार्यक्रम अनुसार भदौ ११ गते दिउँसो ३ बजे निर्वाचन हुनेछ। भदौ १० गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारीको प्रस्ताव गर्ने कार्यक्रम छ। सोही दिन ४:३० मा दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ।
११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको सभा कक्षमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। गत साउन २२ गते सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय सभापति बाँडफाँट गर्ने समझदारी जुटिसकेको छ। सहमति अनुसार कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १, जसपाले १ र जनमतले १ समितिको नेतृत्व पाउनेछन्। एमालेको भागमा ३ वटा समिति परेको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक समिति र संसदको दुवै सदनको संयुक्त समिति– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति नेतृत्व पाएको छ।
सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले संघीय संसदको संयुक्त समिति– संसदीय सुनुवाइ समिति, अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व पाएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समिति र पूर्वाधार तथा विकास समितिको सभापति पाएको छ। जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध, जनमतले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र एकीकृत समाजवादीले शिक्षा स्वास्थ्य तथा सूचनाप्रविधि समितिको नेतृत्व लिएको छ।
को को हुन्छन् सभापति?
कांग्रेसले पाएका चार समितिमध्ये तीन वटाको नेतृत्व देउवा पक्ष र एउटाको नेतृत्व शेखर कोइराला पक्षका सांसदले गर्ने छन्। जसमध्ये अर्थसमितिमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्बपति विनोद चौधरीको चर्चा छ।
संसदीय सनुवाइ समितिको सभापति कोइराला पक्षले पाएको खण्डमा ब्रदी पाण्डे वा जीवन परियारमध्ये एक जना हुनेछन्। उता कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा सांसद आरजु देउवालाई लैजाने तयारी छ। यसमा अन्य सांसदहरुको पनि नाम चर्चामा छ।
राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद रामहरि खतिवडाले दाबी गरेका छन्। उनले तत्काल मन्त्रीमा जाने सम्भावना नभएपछि अहिले समितिको नेतृत्व लिने मनसाय बनाएका छन्। तर एक जना सभापति मधेशी समुदायका सांसदलाई बनाउने देउवाको चाहना छ। त्यसो हुँदा यो समितिमा देउवा पक्षका मधेशी समुदायका सांसद सभापति बन्ने सम्भावना पनि छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले केही नामहरुमाथि छलफल भए पनि टुंगो नलागिसकेको बताए। ‘हामी अन्तिम समयमा निर्णय लिने पार्टी भएका छौँ,’ उनले भने, ‘चुनावकै दिन पनि टुंगो लाग्न सक्छ।’
प्रमुख प्रतिपक्षीका रुपमा एमाले पाएको महत्त्वपूर्ण समिति हो, सार्वजनिक लेखा। संसदीय समितिहरुमा प्रभावशालीमध्ये पर्ने उक्त समितिको सभापति बन्न सांसदहरु लालायित हुन्छन्। एमालेका प्रभावशाली नेताहरु उक्त समितिमा छन्।
एमालेको सचिव समेत रहेका योगेश भट्टराईले उक्त समितिको सभापति पाउने सम्भावना बलियो छ। तर एमाले अध्यक्ष केपी शर्मा ओलीको रुचि निर्णायक हुने भएकाले अन्य दुई सांसद पनि लाइनमै देखिन्छन्। यस्तै, महिला तथा सामाजिक समिति सभापतिमा किरणकुमार साह उम्मेदवार बन्ने निश्चित जस्तै रहेको ती नेताले बताए। साह रौतहट २ बाट स्वतन्त्र उठेर विजयी भएपछि एमालेमा प्रवेश गरेका थिए।
संसदको दुवै सदनको संयुक्त समिति–राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति सभापतिमा विमला घिमिरेलाई उठाउने एमालेको तयारी छ। यद्यपि यसको निर्वाचन साउन ११ गते हुने सम्भावना छैन। समितिमा रहने कतिपय सांसदहरुको नाम नआएकोले केही दिन पछि गर्ने तयारी छ।
माओवादी केन्द्रबाट कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा पुर्णबहादुर घर्ती र विमला सुवेदी र पूर्वाधार तथा विकास समितिको सभापतिमा माधव सापकोटा र उर्मिला माझी छन् । दुईमध्ये एक सभापतिको उम्मेदवार बन्नेछन् । ‘कानुनमा पुर्णजी र विकास समतिमा माधवजी लाई अगाडि सार्ने निश्चित जस्तै छ,’ पदाधिकारी समेत रहेका एक सांसदले भने, ‘यसमा हेरफेर नहोला।’
जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको नेतृत्व लिने समझदारी भएअनुसार राजकिशोर यादवलाई उठाउने तयारी गरेको छ। जसपा संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने नेताहरु बताउँछन्। मन्त्री बन्न नपाएका यादवलाई समितिको सभापति बनाउने सहमति गरिएको थियो।
एकीकृत समाजवादीले पाएको शिक्षा समितिमा भानुभक्त जोशी र अम्मरबहादुर थापामध्ये एक सभापति उम्मेदवार बन्नेछन्।
जनमत पार्टीले उद्योग समिति पाएको छ, त्यसको सभापतिमा अब्दुल खानलाई उठाइँदै छ। जनमतका अध्यक्ष डा. सीके राउतले खानलाई पठाउने निर्णय पार्टीले गरिसकेको बताएका छन्। ‘उहाँ एक्टिभ हुनुहुन्छ, पार्टीको उपाध्यक्ष पनि हो,’ जनमतका एक सांसदले भने, ‘केही समय मन्त्री भएर काम गर्नुभएकोले अनुभव पनि अरुसँग भन्दा उहाँसँग बढी छ।’
प्रतिनिधि र राष्ट्रिय सभा गरेर संघीय संसदमा १६ समिति छन्। दुईवटा संयुक्त समिति छन्। यस्तै राष्ट्रियसभा अन्तर्गत चार वटा र प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति छन्।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सभापतिमा कांग्रेसका प्रकाश पन्थ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा, विधायन व्यवस्थापन समितिको सभापतिमा एकीकृत समाजवादीका वेदुराम भुसाल र राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल छन्।
संसदमा १३ दलको सहभागिता छ। सत्तापक्ष र प्रतिपक्ष मिलेर समिति सभापतिको भागबण्डा गरिसकेकाले नतिजा लगभग निश्चितजस्तै छ। संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने समितिको सभापति छुट्याइएको छैन।
Comments
अरु समाचार
-
‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति आपत्ति
काठमाडौं । ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष धु्रवबहादुर सिंहले...
-
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप
काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने...
-
अंग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
काठमाडौं । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल...
-
जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल
काठमाडौं । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम बढेको छ । दैनिक हजारौँ सर्वसाधारण आवतजावत गर्ने...
-
निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ: मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताएका छन् । लालुपाते...
-
धान उत्पादन चार प्रतिशतले वृद्धि
काठमाडौं । यस वर्ष मुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक...
-
रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि सुरू हुँदै
काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको...
-
देशभर एकै साथ जलपंछी गणनाकार्य गरिने
कञ्चनपुर: देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी...
-
अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अन्य देशकाे कति ?
काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको...