आईसीसी एकदिवसीय विश्वकपमा आज भारत र श्रीलंका भिड्दै
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार हालसम्म अपराजित रहेको एकमात्र टोली भारतले सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै छ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
जारी विश्वकपमा आयोजक भारत सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । दुई पटकको विश्वकप विजेता भारतले हालसम्म आफूले खेलेका ६ वटै खेलमा सफलता हात पारेको छ । भारतले जारी विश्वकपमा अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, इङ्गल्यान्डजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराइसकेको छ ।
६ खेलबाट १२ अङ्क जोडेको भारत तालिकाको दोस्रो स्थानमा आसिन छ । सात खेलबाट १२ अङ्क जोडेको दक्षिण अफ्रिका तालिकाको पहिलो स्थानमा छ । नेट रन रेटमा भारतभन्दा दक्षिण अफ्रिका निकै अगाडि देखिएको छ । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिकाबिच खेल हुन बाँकी छ ।
यसको विपरीत पूर्वविजेता श्रीलङ्काले भने जारी विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । आफूले खेलेका ६ मध्ये चार खेलमा श्रीलङ्काले हारको सामना गरेको छ । केवल दुई खेलमा मात्र श्रीलङ्काले जित हात पारेको छ । श्रीलङ्काले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्स र साविक विजेता इङ्ल्यान्डलाई मात्र हराउन सकेको छ । श्रीलंकाली टोली जारी विश्वकपको आफ्नो पछिल्लो खेलमा अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो ।
निरन्तरको हारपछि जारी विश्वकपमा श्रीलङ्काको सेमिफाइनल प्रवेश सम्भावना केवल प्राविधिक रूपमा मात्र बाँकी देखिएको छ । श्रीलङ्का चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । हालसम्म जारी विश्वकपको उपाधि होडबाट बाहिरिने एकमात्र टोली भने बङ्गलादेश हो । भारत भने बिहीबारको खेलमा श्रीलङ्कालाई हराउँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्ने योजनामा छ । उक्त खेलमा विजयी भएमा भारत समूहगत चरणको दुई खेलअगावै सेमिफाइनलमा पुग्नेछ । यसका अतिरिक्त भारतले आफ्नो अपराजित छविलाई पनि कायमै राख्नेछ ।
भारत र श्रीलङ्काले यसअघि वानखेड स्टेडियममा १२ वर्ष पहिले भिडन्त गरेका थिए । सन् २०११ को एकदिवसीय विश्वकपको फाइनलमा यही रङ्गशालामा खेलिएको थियो । त्यो खेलमा भारतले श्रीलङ्कालाई हराउँदै दोस्रो पटक विश्वकपको उपाधि चुमेको थियो । जारी विश्वकपमा भारतीय टोली निकै सन्तुलित देखिएको छ । सुरुआती खेलहरूमा आफ्ना प्रभावशाली युवा ओपनर शुभमन गिलको अनुपस्थितिमै भारतीय टोलीले लगातार एकपछि अर्को सफलता हात पारेको थियो ।
त्यसपछि पछिल्ला खेलहरूमा भारतले आफ्ना अनुभवी अलराउन्डर हार्दिक पाण्डेयाले गुमाएको छ । खेलका क्रममा चोट लागेका कारण ३० वर्षीय हार्दिक मैदानभन्दा बाहिर छन् । श्रीलंकाविरुद्धको खेलमा पनि हार्दिक अनुपस्थित रहने प्रबल सम्भावना छ । हालसम्म भारत र श्रीलङ्काबिच एक सय ६७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये भारतले ९८ वटा खेल जितेको छ । श्रीलङ्काले भने ५७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमात्र भारतलाई हराउन सकेको छ ।
भारत र श्रीलङ्काबिचको ११ वटा एकदिवसीय खेल अनिर्णीत रूपमा सकिएका छन् भने एक खेल बराबरीमा टुङ्गिएको छ । घरेलु मैदानमा खेलिएको ३९ एकदिवसीय खेलमा भारतले श्रीलङ्कालाई हराएको छ । श्रीलङ्काले भने घरेलु मैदानमा २८ खेल जितेको छ । यसैगरी भारतले ३२ वटा एकदिवसीय खेलमा श्रीलङ्कालाई उसैको घरेलु मैदानमा हराएको छ । श्रीलङ्काले भने १२ वटा खेलमा भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । ‘न्यूट्रल भेन्यू’ मा भारतले २७ र श्रीलङ्काले १७ वटा खेल जितेका छन् ।
भारत र श्रीलङ्काबिच पछिल्लो पटक सन् २०२३ को सेप्टेम्बर १७ मा एकदिवसीय खेल भएको थियो । उक्त खेलमा भारतले श्रीलङ्कालाई १० विकेटले हराएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलङ्का ५० रनमै अलआउट भएको थियो । एकदिवसीय विश्वकपमा भने हालसम्म भारत र श्रीलङ्काबिच नौवटा खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा भारत र चार खेलमा श्रीलङ्का विजयी भएका छन् ।
विश्वकपमा यी दुई टोलीबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । पछिल्लो पटक सन् २०१९ को विश्वकपमा यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यतिबेला खेलिएको खेलमा भारतले श्रीलङ्कालाई सात विकेटले हराएको थियो । त्यसअघि सन् २०११ को विश्वकपमा पनि भारतले श्रीलङ्कालाई पराजित गरेको थियो ।
धेरै रन बन्ने स्टेडियम
भारत र श्रीलङ्काबिचको खेल मुम्बइस्थित वानखेड स्टेडियममा खेलिँदै छ । यो भारतको निकै पुरानो क्रिकेट स्टेडियममध्ये एक हो । वानखेड स्टेडियमको पिचलाई ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । यही स्टेडियममा १२ वर्षअघि खेलिएको एकदिवसीय विश्वकपको श्रीलंकाविरुद्धको फाइनल खेलमा महेन्द्रसिंह धोनीले लगातार छक्का प्रहार गर्दै भारतलाई दोस्रो पटक उपाधि चुमाएका थिए । वानखेड स्टेडियमको पिचमा बल निकै ‘बाउन्स’ हुने भएकाले ब्याट्सम्यानलाई फाइदा पुग्ने गर्छ ।
यसअघि यो स्टेडियममा खेलिएका खेलहरुलाई हेर्दा पनि यहाँको पिच बलरका लागि खासै उपयुक्त देखिँदैन । वानखेड स्टेडियमको मैदान तुलनात्मक रूपमा केही सानो भएकाले यहाँ चौका र छक्का पनि बढी नै प्रहार हुने गरेको छ । रातो माटोले तयार पारिएको वानखेड स्टेडियमको पिचले तीव्र गतिका बलरभन्दा स्पिन बलरलाई केही राहत दिने गर्छ । हालसम्म यो स्टेडियममा ३१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये १६ वटा खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् ।
जवाफी ब्याटिङ गर्ने टोलीले यो स्टेडियममा १५ वटा खेल जितेका छन् । यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय ४३ रन बनाउने गरेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले बनाउने औसत रन दुई सय एक हो ।
जारी विश्वकपमा हालसम्म यो स्टेडियममा दुईवटा खेल खेलाइएको छ । ती दुबै खेलमा निकै बढी रन बनेका थिए । दक्षिण अफ्रिका र इङ्ल्यान्डबिचको खेल यही स्टेडियममा खेलिएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले सात विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो । त्यो खेलमा दक्षिण अफ्रिका दुई सय २९ रनले विजयी भएको थियो । यसैगरी दक्षिण अफ्रिका र बङ्गलादेशबिचको खेल पनि यही स्टेडियममा खेलाइएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर तीन सय ८२ रन बनाएको थियो । त्यो खेलमा पनि दक्षिण अफ्रिका एक सय ४९ रनले विजयी भएको थियो ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












