आईसीसी एकदिवसीय विश्वकपमा आज भारत र श्रीलंका भिड्दै
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार हालसम्म अपराजित रहेको एकमात्र टोली भारतले सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै छ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
जारी विश्वकपमा आयोजक भारत सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । दुई पटकको विश्वकप विजेता भारतले हालसम्म आफूले खेलेका ६ वटै खेलमा सफलता हात पारेको छ । भारतले जारी विश्वकपमा अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, इङ्गल्यान्डजस्ता बलिया प्रतिद्वन्द्वीलाई हराइसकेको छ ।
६ खेलबाट १२ अङ्क जोडेको भारत तालिकाको दोस्रो स्थानमा आसिन छ । सात खेलबाट १२ अङ्क जोडेको दक्षिण अफ्रिका तालिकाको पहिलो स्थानमा छ । नेट रन रेटमा भारतभन्दा दक्षिण अफ्रिका निकै अगाडि देखिएको छ । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिकाबिच खेल हुन बाँकी छ ।
यसको विपरीत पूर्वविजेता श्रीलङ्काले भने जारी विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै आएको छ । आफूले खेलेका ६ मध्ये चार खेलमा श्रीलङ्काले हारको सामना गरेको छ । केवल दुई खेलमा मात्र श्रीलङ्काले जित हात पारेको छ । श्रीलङ्काले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्स र साविक विजेता इङ्ल्यान्डलाई मात्र हराउन सकेको छ । श्रीलंकाली टोली जारी विश्वकपको आफ्नो पछिल्लो खेलमा अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो ।
निरन्तरको हारपछि जारी विश्वकपमा श्रीलङ्काको सेमिफाइनल प्रवेश सम्भावना केवल प्राविधिक रूपमा मात्र बाँकी देखिएको छ । श्रीलङ्का चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । हालसम्म जारी विश्वकपको उपाधि होडबाट बाहिरिने एकमात्र टोली भने बङ्गलादेश हो । भारत भने बिहीबारको खेलमा श्रीलङ्कालाई हराउँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्ने योजनामा छ । उक्त खेलमा विजयी भएमा भारत समूहगत चरणको दुई खेलअगावै सेमिफाइनलमा पुग्नेछ । यसका अतिरिक्त भारतले आफ्नो अपराजित छविलाई पनि कायमै राख्नेछ ।
भारत र श्रीलङ्काले यसअघि वानखेड स्टेडियममा १२ वर्ष पहिले भिडन्त गरेका थिए । सन् २०११ को एकदिवसीय विश्वकपको फाइनलमा यही रङ्गशालामा खेलिएको थियो । त्यो खेलमा भारतले श्रीलङ्कालाई हराउँदै दोस्रो पटक विश्वकपको उपाधि चुमेको थियो । जारी विश्वकपमा भारतीय टोली निकै सन्तुलित देखिएको छ । सुरुआती खेलहरूमा आफ्ना प्रभावशाली युवा ओपनर शुभमन गिलको अनुपस्थितिमै भारतीय टोलीले लगातार एकपछि अर्को सफलता हात पारेको थियो ।
त्यसपछि पछिल्ला खेलहरूमा भारतले आफ्ना अनुभवी अलराउन्डर हार्दिक पाण्डेयाले गुमाएको छ । खेलका क्रममा चोट लागेका कारण ३० वर्षीय हार्दिक मैदानभन्दा बाहिर छन् । श्रीलंकाविरुद्धको खेलमा पनि हार्दिक अनुपस्थित रहने प्रबल सम्भावना छ । हालसम्म भारत र श्रीलङ्काबिच एक सय ६७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये भारतले ९८ वटा खेल जितेको छ । श्रीलङ्काले भने ५७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमात्र भारतलाई हराउन सकेको छ ।
भारत र श्रीलङ्काबिचको ११ वटा एकदिवसीय खेल अनिर्णीत रूपमा सकिएका छन् भने एक खेल बराबरीमा टुङ्गिएको छ । घरेलु मैदानमा खेलिएको ३९ एकदिवसीय खेलमा भारतले श्रीलङ्कालाई हराएको छ । श्रीलङ्काले भने घरेलु मैदानमा २८ खेल जितेको छ । यसैगरी भारतले ३२ वटा एकदिवसीय खेलमा श्रीलङ्कालाई उसैको घरेलु मैदानमा हराएको छ । श्रीलङ्काले भने १२ वटा खेलमा भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । ‘न्यूट्रल भेन्यू’ मा भारतले २७ र श्रीलङ्काले १७ वटा खेल जितेका छन् ।
भारत र श्रीलङ्काबिच पछिल्लो पटक सन् २०२३ को सेप्टेम्बर १७ मा एकदिवसीय खेल भएको थियो । उक्त खेलमा भारतले श्रीलङ्कालाई १० विकेटले हराएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलङ्का ५० रनमै अलआउट भएको थियो । एकदिवसीय विश्वकपमा भने हालसम्म भारत र श्रीलङ्काबिच नौवटा खेल खेलिएको छ । त्यसमध्ये चार खेलमा भारत र चार खेलमा श्रीलङ्का विजयी भएका छन् ।
विश्वकपमा यी दुई टोलीबिचको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । पछिल्लो पटक सन् २०१९ को विश्वकपमा यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यतिबेला खेलिएको खेलमा भारतले श्रीलङ्कालाई सात विकेटले हराएको थियो । त्यसअघि सन् २०११ को विश्वकपमा पनि भारतले श्रीलङ्कालाई पराजित गरेको थियो ।
धेरै रन बन्ने स्टेडियम
भारत र श्रीलङ्काबिचको खेल मुम्बइस्थित वानखेड स्टेडियममा खेलिँदै छ । यो भारतको निकै पुरानो क्रिकेट स्टेडियममध्ये एक हो । वानखेड स्टेडियमको पिचलाई ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । यही स्टेडियममा १२ वर्षअघि खेलिएको एकदिवसीय विश्वकपको श्रीलंकाविरुद्धको फाइनल खेलमा महेन्द्रसिंह धोनीले लगातार छक्का प्रहार गर्दै भारतलाई दोस्रो पटक उपाधि चुमाएका थिए । वानखेड स्टेडियमको पिचमा बल निकै ‘बाउन्स’ हुने भएकाले ब्याट्सम्यानलाई फाइदा पुग्ने गर्छ ।
यसअघि यो स्टेडियममा खेलिएका खेलहरुलाई हेर्दा पनि यहाँको पिच बलरका लागि खासै उपयुक्त देखिँदैन । वानखेड स्टेडियमको मैदान तुलनात्मक रूपमा केही सानो भएकाले यहाँ चौका र छक्का पनि बढी नै प्रहार हुने गरेको छ । रातो माटोले तयार पारिएको वानखेड स्टेडियमको पिचले तीव्र गतिका बलरभन्दा स्पिन बलरलाई केही राहत दिने गर्छ । हालसम्म यो स्टेडियममा ३१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये १६ वटा खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् ।
जवाफी ब्याटिङ गर्ने टोलीले यो स्टेडियममा १५ वटा खेल जितेका छन् । यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले औसतमा दुई सय ४३ रन बनाउने गरेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले बनाउने औसत रन दुई सय एक हो ।
जारी विश्वकपमा हालसम्म यो स्टेडियममा दुईवटा खेल खेलाइएको छ । ती दुबै खेलमा निकै बढी रन बनेका थिए । दक्षिण अफ्रिका र इङ्ल्यान्डबिचको खेल यही स्टेडियममा खेलिएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले सात विकेट गुमाएर तीन सय ९९ रन बनाएको थियो । त्यो खेलमा दक्षिण अफ्रिका दुई सय २९ रनले विजयी भएको थियो । यसैगरी दक्षिण अफ्रिका र बङ्गलादेशबिचको खेल पनि यही स्टेडियममा खेलाइएको थियो । त्यो खेलमा दक्षिण अफ्रिकाले पाँच विकेट गुमाएर तीन सय ८२ रन बनाएको थियो । त्यो खेलमा पनि दक्षिण अफ्रिका एक सय ४९ रनले विजयी भएको थियो ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












