माछा खान माझीकुना
गण्डकी । बेगनास आफँैमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । प्रकृतिका अनेक वैभवले पूर्ण छ बगेनास । तीमध्ये एक हो बेगनास तालको पूर्वी किनारछेउ चिटिक्क मिलेको बस्ती माझीकुना । पन्ध्र वर्षअघिसम्म निर्जन चौर र वनपाखाले ढाकिएको माझीकुना अहिले पर्यटक तान्ने थलो बनेको छ ।
बस्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्नुहुन्छ, स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी ।
“माझीकुनाले बढी चर्चा पाएको यस्तै पाँच/छ वर्षजति भयो”, ५२ वर्षीय जलारीले भने, “मुख्य रुपमा यहाँको पोलेको माछा ग्राहक र पर्यटकमाझ प्रख्यात छ ।” युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका माध्यमबाट पनि माझीकुनाको व्यापक प्रचार भएको उनले बताए ।
माझीकुनाको पोलेको माछा र अरु परिकारबारे नेपाली खाना प्रवर्द्धन गर्ने टिकटिक प्रयोगकर्ताले बनाएका भिडिओ सामग्री अहिले पनि सामाजिक सञ्जालतिर भेटिन्छन् । विशेषगरी आन्तरिक पर्यटक त्यसमा पनि युवा पुस्तामाझ माझीकुना माछाका परिकारको स्वादसँगै घुमफिर गर्ने गन्तव्यका रूपमा लोकप्रिय बनेको हो ।
“यहाँ धेरै आउने भनेको आन्तरिक पर्यटक नै हो, पर्यटकीय याममा विदेशी पाहुना पनि आइरहनुहुन्छ”, दी फिसरम्यान रेष्टुराँका सञ्चालक जलारीले भने, “चाडबाड, नयाँ वर्ष र बिदाका समयमा त पर्यटकको भीड नै लाग्छ, रेष्टुराँमा भ्याइनभ्याइ हुन्छ ।” जलारीले विसं २०७२ को गोरखा भूकम्पपछि रेष्टुराँ व्यवसाय थालेका थिए ।
उनको रेष्टुराँमा पनि पोलेको माछा नै मुख्य परिकार हो । तिलापिया जातको माछालाई आगोमा पोलेर स्थानीय स्वादमा पाहुनालाई चखाउने गरेको जलारीले सुनाए । “मरमसला, च्याउ, धनिया, लसुन आदि राखेर मेरिनेट गरिएको माछालाई आगोमा सेकेपछि परिकार तयार हुन्छ”, उनले भने, “पाहुनाले पोलेको माछा नै बढी रुचाउनुहुन्छ ।”
पोलेको माछालाई स्वादिष्ट बनाउन घरेलु छोप र ससको प्रयोग गर्ने गरिएको जलारीले बताए । तिलापियाबाहेक अरु जातको माछा भने पोल्न नमिल्ने उनको भनाइ छ । “बगेनास, रुपालगायत तालमा पाइने कमन, ग्राफ, राहु आदि जातका माछाको झोल, करी, फ्राइड, साँधेर पाहुनालाई खुवाउने गर्छौँ, माग भएमा कुखुराका परिकार पनि उपलब्ध गराउँछौँ”, जलारीले भने ।
तीस वर्षसम्म बेगनास तालमै माछा मारेर परिवार धान्नुभएका उनी अहिले माझीकुनाको सफल रेष्टुराँ व्यवसायीका रूपमा चिनिनुभएको छ । माझीकुनामा २५ भन्दा बढी रेष्टुराँ तथा होटल खुलेका छन् । तिनमा करोडौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । जलारीको रेष्टुराँमा काम गर्ने पाँच जना छन् ।
बेगनासमा रहेको जलारी समुदायले माछाबाटै आर्थिक उपार्जन गर्ने गरेको उनले बताए । “मत्स्य अनुसन्धान केन्द्रबाट अनुमतिपत्र लिएर मात्र माछा मार्न पाइन्छ, वार्षिकरूपमा शुल्क तिर्नुपर्छ”, उनले भने, “मैले पनि पहिला माछा मारेर बेच्ने काम गर्थे, अहिले रेष्टुराँ व्यवसातिर लागेँ, यसमै सन्तुष्ट छु ।”
कोभिड–१९ महामारीले सुस्ताएको व्यापारले पछिल्लो समय गति लिएपछि माझीकुनाका व्यवसायी खुसी छन् । मुलुकले झेलिरहेको आर्थिक मन्दीको प्रभाव छिटो अन्त्य भए व्यवसायले अझ फड्को लिनेमा उनीहरु आशावादी छन् ।
माझीकुना नजिकैको सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले माझीकुना बेगनास क्षेत्रको आकर्षक गन्तव्यस्थलका रुपमा विकास भएको बताए । पहिले खासै चर्चामा नआएको सो क्षेत्र अहिले आगन्तुकको रोजाइमा पर्ने गरेको उनले सुनाए ।
विशेषगरी सप्ताहन्तमा परिवारजन, जोडी र साथी मिलेर माझीकुना आउने बढी हुने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । तालतिर टहल्दै माछाको स्वाद लिन पाहुना पर्यटक माझीकुनामा लोभिने गरेका हुन् । कास्कीको पोखरा महानगरपालिका–३१ मा अवस्थित बेगनास ताल पोखराको पृथ्वीचोकदेखि १४ किमी र लेखनाथको तालचोकबाट साढे तीन किमी यात्रामा पुगिन्छ ।
सात तालको वाटिका भनेरसमेत चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । सहरको कोलाहल र व्यस्तता छलेर छिनमै पुग्न सकिने मनोरम गन्तव्य बेगनास क्षेत्र हो ।
बेगनास पुग्दा डुङ्गा सयर, पदयात्रालगायत पर्यटकीय गतिविधिले पनि आगन्तुकलाई आकर्षित गर्ने गर्छ । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा रहेकाले पर्यटकको आउजाउमा केही कठिनाइ उत्पन्न भइरहको पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए ।
प्रकृतिले सिँगारेको बेगनास पर्यटन पूर्वाधार र प्रवर्द्धनका दृष्टिले भने अझै पनि पछाडि परेको उनको भनाइ छ । वडाध्यक्ष कँडेलले पोखराको पर्यटन भनेपछि फेवाताललाई केन्द्रित गर्ने मानसिकताबाट सबै उम्कनुपर्ने धारणा राखे । “सरकार र पर्यटनका संस्थाको नजर पोखराका अरु तालमा पनि जानुपर्यो, पूर्वाधारमा लगानी बढाउनुपर्यो”, उनले भने, “प्रदेश सरकार र पोखरा महानगरले नै यसमा प्राथमिकतामा दिनुपर्छ ।”
प्रकृतिको वैभव, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनासलाई चिनारी दिएको वडाध्यक्ष कँडेलले बताए । “प्रकृतिको अनुपम देन बेगनास ताल नै यहाँको मुख्य आकर्षण हो”, उनले भने, “धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ, ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् ।”
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ पहल ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












