देश-विदेश घुमेर गाउँ फर्किएका ७० वर्षीय तुलाचन घुम्ती गोठमै रमाउँछन्
म्याग्दी (बेनी) । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् ।
उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ ।
गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उनको नियमित दैनिकी हो ।
जीवनको अधिकाश समय गोठमा बिताएका उनको भैँसीगोठमा अहिले नौवटा भैँसी छन् । उनले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आएका छन् । बर्खायाममा लेकाली बुकीहरूमा पुर्याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ ।
घुम्तीगोठलाई यहाँका पशुपालक किसानले रुवाचौर, एकराते, नेपाने, नयाँवन, च्यामली, रुरुलगायतका लेकाली बुकीहरूमा गोठ सार्ने गर्छन् । गाउँको फेदीबाट बग्ने कालीखोलाको किनारमा रहेको काफलडाँडाको फाँटमा गोठ राखेका किसान तुलाचनको गोठमा रहेका भैँसीमध्ये एक दुहुनो र तीनवटा ब्याउने भैँसी छन् । ‘म सानैदेखि गोठमै हुर्किएको हुँ, बुवाआमा पनि गोठमा बस्नुहुन्थ्यो, हुन त देश–विदेश पनि घुमेँ, भनेजस्तो नभएपछि गाउँ फर्किएर पुर्खाकै पेसा अँगालेर गोठाला बनेको हुँ’, उनले भने ।
रोजगारीका लागि कोरिया गए पनि ६ महिनामै फर्कनुपरेको र पुनः जापान जाने तयारी गरे पनि सफल नभएपछि गाउँ फर्किएको उनको भनाइ छ । गाउँ आएपछि सुरुमा कास्कीको नौडाँडाबाट म्याग्दी सदरमुकाम बेनीसम्म सामान ढुवानी गर्नेगरी खच्चड व्यवसाय सुरु गरेका तुलाचनले दुई महिनामै आफ्नो पुख्र्यौली पेसा घुम्तीगोठमा पशुपालन सुरु गरेको विगत स्मरण गरे ।
परिवारमा छ दाजुभाइ रहे पनि अन्यले काठमाडौँ, बुटवल, थाकखोलालगायतका ठाउँमा व्यापार व्यवसाय गरे पनि आफूले पुख्र्यौली घुम्तीगोठलाई निरन्तरता दिएको उनको भनाइ थियो ।
करिब १५ वर्षसम्म भेडाबाख्रापालन गरेका तुलाचनले दुई दशकदेखि भने भैँसीपालन गर्दै आएका छन् । बीस-पच्चीसवटासम्म भैँसी पाल्ने गरेका उनले उमेर बढ्दै र कामको दौडधुप गर्ने शक्ति घट्दै गएपछि भैँसीको सङ्ख्या घटाउँदै लगेको जानकारी दिए ।
गोठबाट दूध दिने भैँसी, राँगा र घिउ बिक्री गरेर हुने आम्दानीबाट आफ्नो घरखर्च चलेको उनले बताए । बेनीमा होटल व्यवसाय गर्ने आफ्नो छोरीसँगै श्रीमती पनि बजारमा बस्न थालेपछि तुलाचन भने गाउँकै घुम्तीगोठमा रमाएका छन् । ‘मलाई पनि गोठ नबस्न परिवारले भन्दै आएका छन्, तर तल बजारमा गएर म बस्नै सक्दिनँ, बजारतिर त रोग पनि के–के हो के–के लाग्ने, गाउँकै चिसो हावापानीमा बस्दा मलाई खुसी मिलेको छ, मेरो तागतले भ्याएसम्म म गोठमै उकाली–ओराली गर्ने सोचमा छु’, उनले भने ।
घुम्तीगोठ भएकाले खर्क र बुकीमा गोठ सारिरहनुपर्ने र यसका लागि काम गर्ने व्यक्तिलाई ज्याला दिनुपर्दा गोठको दुःख आफूलाई आम्दानी जति गोठलाई हुने गरेको उनले बताए । ‘एक ठाउँमा गोठ बनाउन, तीन–चारजना मानिस चाहिन्छ, ठाउँ–ठाउँमा सरकारले घुम्तीगोठको अस्थायी टहरा बनाइदिए सहज हुने थियो, हामी गोठालाको कुरा कसले सुन्ने’, उनले दुखेसो पोखे ।
गाउँबाट घुम्ती गोठ रित्तिन थालेका छन् । बढ्दो वैदेशिक रोजगारका कारण गोठमा युवापुस्ताको आकर्षण छैन । गोठ बस्ने दौतरी गाउँ र सहर पसेपछि साथी भेट्नसमेत मुस्किल पर्ने गरेको उनी गुनासो गर्छन् ।
तुलाचनको उमेरका गोठ बस्ने व्यक्ति अहिले गोठमा भेटिन कठिन हुने मल्कबाङका भेडापालक किसान देवान छन्त्यालले बताए । उनले गोठमा गरिने परम्परागत पशुपालन व्यवस्थित र व्यावसायिक नहुँदा युवापुस्तालाई यो पेसाले आकर्षण गर्न नसकेको जानकारी दिए ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












