ताजा समाचार

एमाले कार्यशालाको सङ्कल्प-वडा केन्द्रित अभियानदेखि कुप्रचारविरुद्ध प्रतिवाद गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय संगठन विभागले दुईदिने कार्यशालापछि आइतबार ६ बुँदे घोषणापत्र जारी गर्दै आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प गरेको छ ।

कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प लिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालामा महासचिव शंकर पोखरेलले पार्टी केन्द्रले पारित गरेको वार्षिक कार्ययोजनाका विषयमा अभिमुखीकरण दिएका थिए ।

केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयवस्तुको रूपमा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक कार्यपत्र पेश गरेका थिए ।

कार्यशालामा जिल्ला कमिटी र प्रदेश कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला सदस्य, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर, उपमेयर गरी ३१५ जनाको सहभागिता रहेको कार्यशालामा उपस्थित सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरेर सुझावहरु संकलन गरिएको संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org