ताजा समाचार

असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। वक्तव्यमा पीडित परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।

वक्तव्यमा हिजो देशभर भएका आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिप्रति पनि गम्भीर ध्यानाकर्षण गरिएको छ। संसद भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित सयौँ संरचना ध्वस्त हुनुका साथै बहुमूल्य अभिलेख, दस्तावेज र लिखत जलेर नष्ट भएको जनाइएको छ। साथै, सार्वजनिक तथा निजी सम्पत्तिमा खर्बौँको क्षति पुगेको र जेलबाट हजारौँ कैदीबन्दी बाहिरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

एमालेले शान्तिपूर्ण प्रदर्शन गर्ने आयोजकहरुको पूर्वघोषणाको विपरीत कसरी विनाशकारी गतिविधि भए भन्ने यथार्थ छानबिन गर्नुपर्ने माग राखेको छ। वक्तव्यमा राज्यका सुरक्षा निकायहरुको भूमिकाको पनि समीक्षा हुनुपर्ने भनिएको छ।

यस्तो प्रतिकूल अवस्थामा पार्टी पङ्क्तिलाई अविचलित र एकताबद्ध रहन आग्रह गर्दै वक्तव्यमा भनिएको छ, “निरङ्कुशता, द्वन्द्व र असामान्य चुनौती पार गर्दै आइपुगेका हामी यो संकट पनि पार गर्नेछौँ। अहिले सम्हालिनु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अघि बढ्नु जरुरी छ।”

प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक अवस्थाको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने भन्दै एमालेले राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न र युवापुस्ताका मागलाई सम्बोधन गर्न पहल गर्न आग्रह गरेको छ।

साथै, लुटपाट, आगजनी र हिंसात्मक गतिविधि नियन्त्रण गर्न र जनताको जिउधनको सुरक्षा गर्न नेपाली सेना सहित सबै सुरक्षा निकायलाई प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीले आह्वान गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org