ताजा समाचार

कांग्रेस विशेष महाधिवेशन आजदेखि , पार्टी संगठन झन बलियो हुन्छ : महामन्त्रीद्वय

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। पुस २७ र २८ गते सञ्चालन हुने महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १ बजे हुनेछ।

उद्घाटनअघि बिहान ११ बजे सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी र कुपण्डोललगायत स्थानबाट नेता–कार्यकर्ताको र्‍याली भृकुटीमण्डपतर्फ जाने आयोजक समितिले जनाएको छ। उद्घाटन सत्रका लागि खुला चौरमा ५० अतिथि अट्ने मञ्च र छ हजारभन्दा बढी सहभागीका लागि कुर्सीको व्यवस्था गरिएको छ।

महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ भने अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन। प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि भृकुटीमण्डप परिसरबाट सुरु भएको छ।

आयोजकका अनुसार तीन हजार ६०० प्रतिनिधिका लागि काठमाडौँका विभिन्न स्थानमा आवास तथा आयोजनास्थलमै खाना–नास्ताको व्यवस्था गरिएको छ। उद्घाटनपछि पुस २८ गतेदेखि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ।

महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन अनिवार्य भएकाले यसलाई पार्टीलाई जीवन्त र सुदृढ बनाउने अवसरका रूपमा लिन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org