ताजा समाचार

ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या

काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतकहरू करिब ८० वर्षीय चन्द्रबिक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई हुन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिक्रमबहादुर भट्टराईका अनुसार, घरमा रहेको किराना पसलको पैसा राख्ने ठाउँ फुटाइएको र हत्याको उद्देश्य लुटपाट रहेको प्रारम्भिक अनुमान गरिएको छ। “घरमा दम्पती मात्र बस्थे। पैसा राख्ने ठाउँ फुटाएको देखिन्छ, लुटपाटकै लागि भएको देखिन्छ,” उनले बताए।

यसअघि पनि ओखलढुंगामा दम्पती र अन्य व्यक्तिको हत्या भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले लुटपाट र हत्यामा संलग्न गिरोह भन्दै चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा चिशंखुगढी–३ का २८ वर्षीय मिलन (संगम) राई, रातमाटे बस्ने ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र ३० वर्षीय दोर्जे (अशोक) भुजेल रहेका थिए।

पक्राउ परेका यी व्यक्तिहरूले २०८२ पुस १५ गते चिशंखुगढी–६ का ६० वर्षीय शोभितमान थापा र उनकी श्रीमती रत्नमाया थापा मगरलाई धारिलो हतियारले हत्या गरी करिब १ लाख नगद र गहना लुटेको प्रहरीको आरोप छ। यसैगरी, उनीहरूले २०८२ असोज २६ गते सिद्धिचरण नगरपालिका–४ की ५२ वर्षीया रत्नकुमारी कटवाललाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए।

गिरोहले हत्या गर्न प्रयोग गरेको बञ्चरो, खुकुरी, गहना, बन्दुक, कोदालो र मोबाइल प्रहरीले बरामद गरेको थियो।

प्रहरी निरीक्षक भट्टराईले भने, “पहिले समातिएको गिरोह र हालको घटना सम्बन्धित छ कि छैन भन्ने अनुसन्धानबाट पत्ता लाग्नेछ। त्यसबेलासम्म हामी घटनास्थल सुरक्षित राख्दै अनुसन्धानमा जुटेका छौं।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org