ताजा समाचार

सुरुङभित्र फसेकाको उद्धारमा सबैभन्दा ठूलो समस्या के ? टनलिङ एसोसिएसनले सार्वजनिक गर्यो कारण

काठमाडौं । उद्धारकर्मीहरू यो समाचार तयार पारुञ्जेलसम्म विभिन्न सुरुङ संरचनाभित्र फसेका हुनसक्ने मानिसहरूको खोजीमा जुटिरहेका छन्। तर, सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा अपेक्षित गति आउन नसक्नुको मुख्य कारण उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति घटनास्थलसम्म तत्काल पुर्‍याउन नसक्नु रहेको नेपाल टनलिङ असोसिएशनका अध्यक्ष रामहरी शर्मा बताउँछन्।

नेपालमा सुरुङको स्थान पहिचान, सम्भाव्यता अध्ययन, डिजाइनदेखि निर्माणसम्मका लागि आवश्यक दक्ष नेपाली जनशक्ति तयार भइसकेको शर्माको भनाइ छ। उनका अनुसार देशमा निर्माण भएका अधिकांश सुरुङमा नेपाली प्राविधिक तथा जनशक्तिको प्रत्यक्ष संलग्नता रहँदै आएको छ। नागढुङ्गा सुरुङमार्ग तथा काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत निर्माण भइरहेका सुरुङमा विदेशी प्राविधिकले नेतृत्व गरे पनि त्यहाँ ठूलो संख्यामा नेपाली जनशक्ति संलग्न रहेको उनले बताए।

जलविद्युत् आयोजनाका सुरुङ निर्माणमा भने अनुसन्धान, अध्ययन, डिजाइन तथा निर्माणका काममा नेपाली प्राविधिकहरू नै पूर्ण रूपमा संलग्न रहेको शर्माको दाबी छ। नेपालको जटिल भौगोलिक अवस्थाका कारण सुरुङ निर्माणमा नेपाली इन्जिनियर तथा प्राविधिकको अनुभव महत्वपूर्ण रहेको अध्यक्ष शर्माको भनाइ छ।

तर, सुरुङ निर्माणमा दक्ष जनशक्ति हुँदाहुँदै विपद्पछि सुरुङभित्र फसेकाहरूसम्म उद्धार टोली समयमै पुग्न नसक्नुको कारण के हो? शर्माका अनुसार अहिलेको अवस्था सामान्य उद्धारभन्दा निकै जटिल छ। बाढी तथा पहिरोले उद्धारमा प्रयोग हुने उपकरणसमेत बगाएर लगेका कारण घटनास्थलमा तत्काल खोजी तथा उद्धार अघि बढाउन कठिन भएको हो।

“यो यति जटिल अवस्था भयो कि अहिले आयोजनाहरूसँग एउटा कुटो–कोदालोसमेत छैन। सबै बगाएर लग्यो। अहिले त त्यहाँ पुग्नै सकिँदैन। उपकरण छैन, चलाउने मान्छे छैन,” शर्माले भने। उनका अनुसार अहिलेको सबैभन्दा ठूलो चुनौती उद्धारका लागि आवश्यक साना तथा ठूला उपकरण घटनास्थलसम्म पुर्‍याउनु हो। उपकरण र आवश्यक जनशक्ति घटनास्थलमा पुर्‍याउन सकेपछि मात्रै सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org