ताजा समाचार

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरणः एमाले र राप्रपा सांसदको कडा आपत्ति

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले असोज १० गते (शनिबार) राति स्पष्ट कारण र कानुनी आधारबिना नियन्त्रणमा लिएर जबरालाई छाडिएको घटनालाई तीव्र विरोधसँगै आपत्ति जनाए ।

संसदमा विपक्षी सांसदहरूले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए । कुन कसुर र के-कस्तो पुर्जीका आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरी र सरकारी निकायहरूले आधिकारिक रूपमा केही नखुलाएको उनीहरुको भनाइ थियो ।

नेकपा एमालेका सांसद ऐन महरले जबरालाई रातिको समयमा निवासबाट नियन्त्रणमा लिँदा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाए। लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै उनले कसैले कानुन उल्लंघन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान हुनुपर्ने तर पूर्वाग्रह र प्रतिशोधका आधारमा विरोधीलाई तर्साउने र पक्राउ गर्ने काम भइरहेको बताए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले पनि जबरालाई सुरक्षा थ्रेटको बहानामा राति पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाए। सुरक्षा खतरा भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई सुरक्षा दिनुपर्नेमा पक्राउ गरेर लगिएको र पछि सामान्य सोधपुछ गरेर छाडिएको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए।

पक्राउ परेका जबरालाई भेट्न जाँदा राष्ट्रिय मानव अधिकार आयोगका अधिकारीहरूलाई समेत भेट्न नदिइएको दाबी गर्दै सांसद गिरीले भने, “यी घटनाक्रमले सरकारले कानुन, विधि र प्रक्रिया मिचेर किन बाटो बिराइरहेको छ ?”

यसका साथै सांसद गिरीले असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण भएको ठूलो जनधनको क्षतिको विपद् व्यवस्थापन गर्न र दशैँ-तिहारको समयमा वैकल्पिक व्यवस्था नगरी सार्वजनिक यातायातमा ‘सिन्डिकेट’ लगाउने गरी गरिएको हचुवा निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराए।

एकातर्फ विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरणलाई लिएर सरकारको ध्यानाकर्षण गरिरहँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरू भने यस विषयमा पूर्ण रूपमा मौन रहे।

संसद्को आकस्मिक समयमा बोलेका रास्वपा सांसदहरूले हालैको बाढी-पहिरोले पुर्‍याएको क्षति, उद्धार तथा पूर्वसतर्कताका विषय र आम जनजीवनका सवालहरू मात्र उठाए तर चोलेन्द्रशमशेर प्रकरणबारे कुनै टिप्पणी गरेनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org