ताजा समाचार

हिम्लुङ बेस क्याम्प हिमपहिरोः सम्पर्कविहीन १२ मध्ये चार मृत फेला

काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका थप दुई जनाको शव फेला परेको छ। यससँगै घटनामा मृत्यु भएका चार जनाको शव उद्धार गरिएको छ। बाँकी आठ जनाको खोजी जारी छ।

विभिन्न ट्रेकिङ एजेन्सीमार्फत २०८३ भदौ ३० गते बेस क्याम्प स्थापना गर्न गएका २२ नेपालीमध्ये १० जना २०८३ असोज ११ गते साँझ ५ः३० बजे सकुशल फु गाउँ आइपुगेका थिए। अन्य १२ जना सम्पर्कविहीन भएका थिए।

पहिले उद्धार गरिएका दुई शव प्रदेश अस्पताल चामेबाट सोमबार बिहान ८ः१५ बजे कैलाश हेलिकप्टरमार्फत काठमाडौंको शिक्षण अस्पताल पठाइएको छ। उनीहरूको पहिचान सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र वडा नं. २ का करिब ३१ वर्षीय पासाङ भोटेका रूपमा भएको छ।

सोमबार बिहान करिब ११ बजे हेलिकप्टरमार्फत बेस क्याम्पबाट थप दुई शव उद्धार गरी प्रदेश अस्पताल चामे ल्याइएको छ। ती दुवैको पहिचान खुल्न बाँकी छ। प्राप्त विवरणअनुसार हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट उत्तरतर्फ करिब तीन दिनको पैदल दूरीमा पर्छ। सम्पर्कविहीन आठ जनाको खोजी तथा उद्धार कार्य जारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org