ताजा समाचार

पूर्व प्रधानन्यायाधीश राणालाई प्रहरी नियन्त्रणमा लिइएकोप्रति ‘न्यायाधीश समाज’ को आपत्ति

काठमाडौं । न्यायाधीश समाज, नेपालले पूर्व प्रधानन्यायाधीशलाई रातारात प्रहरी नियन्त्रणमा लिइने कार्यले अरुलाई समेत आतंकित बनाएको भन्दै आपत्ति जनाएको छ। सोमबार न्यायाधीश समाज, नेपालका अध्यक्ष तिलप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आइतबार पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.लाई प्रहरी नियन्त्रणमा लिइएको विषयमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ,‘बिना मनासिब कारण र औचित्य सुरक्षा खतराको नाममा पूर्व प्रधान न्यायाधीशजस्तो सम्मानित व्यक्तिलाई यसरी रातारात प्रहरी नियन्त्रणमा लिइने कार्यले न्याय परिवारका अरुलाई पनि आतङ्कित तुल्याउँछ भन्ने यस समाजको मान्यता रहेको छ । त्यसैले राज्यका तर्फबाट गरिने सुरक्षा व्यवस्थामा यो तथ्यतर्फ पनि ध्यान पुगोस् भनी सम्बन्धित राज्य निकाय र पदाधिकारीज्यूहरुमा यो न्यायाधीश समाज हार्दिक अपिल गर्न चाहन्छ ।’

कसैलाई सुरक्षा खतरा रहेको भए निजकै निवासमा वा रोजेको स्थानमा सुरक्षाका साथ राखिनु पर्नेमा जबरजस्ती प्रहरी कार्यालयमा ल्याउने कार्य न्याय संगत नभएको न्यायाधीश समाज,नेपालको ठहर छ।‘सुरक्षा खतराको जुन कारण देखाएर पूर्व प्रधानन्यायाधीशज्यूलाई प्रहरी नियन्त्रणमा लिने काम गरियो, त्यो स्वाभाविक र विधिसम्मत नभएको यस समाजले महसुस गरेको छ ।

कुनै पूर्वपदाधिकारीलाई सुरक्षा खतरा रहेको भए त्यस्तो खतराबाट सुरक्षा दिनु राज्यको कर्तव्य भित्रकै कुरा भए पनि सुरक्षा खतराको कारण देखाएर जुन ढङ्गबाट नियन्त्रणमा लिने काम गरियो, त्यो तरिका उपयुक्त र प्रचलित कानूनको मान्यता अनुरुप रहेको देखिँदैन ।’ विज्ञप्तिमा भनिएको छ,‘कसैलाई सुरक्षा खतरा रहेको भए निजकै निवासमा थप सुरक्षा बल उपलब्ध गराउने वा निजले रोजेको स्थानमा सुरक्षाका साथ राखिनु पर्नेमा जबरजस्ती प्रहरी कार्यालयमा ल्याउने र त्यो पनि अपराध अनुसन्धान कार्यालयमा ल्याउने कुरा युक्तिसंगत मान्न सकिँदैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org