ताजा समाचार

झमेलामा फस्ने गरी पार्टी एकता हुँदैन : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा अन्य राजनीतिक शक्तिसँग चुनावी तालमेल तथा विषयगत कार्यगत एकता गर्न सकिने बताएका छन्। तर, अनावश्यक जटिलतामा फस्ने गरी पार्टी एकताको विषयमा छलफल गर्नु उपयुक्त नहुने उनको भनाइ छ।

मंगलबार पार्टीका मातहतका कमिटीहरूसँग भएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य शक्तिसँग आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता गर्न सकिने बताए। “अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुनसक्छ,” ओलीले भने, “तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन।”

ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई कार्यक्षेत्रमा सक्रिय भएर जिम्मेवारी पूरा गर्न निर्देशनसमेत दिए। राजधानी वा सुविधाभोगी स्थानमा बसेर मात्र कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने उल्लेख गर्दै उनले नेताहरूलाई ‘टुरिस्ट’ जस्तै घुम्ने प्रवृत्ति त्याग्न आग्रह गरे।

उनले आगामी दिनमा नेता तथा कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा नभई काम र क्षमताका आधारमा गरिने बताए। आफूलाई समयअनुकूल परिवर्तन गर्न तथा शालीनता र विनम्रतालाई व्यवहारमा उतार्न पनि उनले आग्रह गरे।

ओलीले देश निर्माणका लागि स्पष्ट खाका र नीति एमालेसँग रहेको दाबी गर्दै नेता–कार्यकर्तालाई आत्मविश्वासका साथ जनतामाझ पुगेर पार्टीप्रति भरोसा निर्माण गर्न निर्देशन दिए। फागुनमा भएको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस तथा पार्टीभित्रका आन्तरिक कमजोरीका कारण भएको ओलीको दाबी थियो।

उनले आगामी दिनमा तथ्य, तर्क र प्रमाणका आधारमा विपक्षीहरूले फैलाएको भनिएको भ्रम चिर्न डिजिटल क्याम्पेन सञ्चालन गरिने जानकारीसमेत दिए। प्रविधिमैत्री प्रचारमार्फत पार्टीका धारणा र नीतिलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउने उनको भनाइ थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org