ताजा समाचार

कांग्रेस रूपान्तरण र पुस्तान्तरणका लागि गीता सिंखडाकाे खसआर्य महिला क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी, संगठन सुदृढीकरणदेखि आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा खसआर्य महिला क्षेत्रबाट केन्द्रीय सदस्य पदमा काठमाडौंकी गीता सिंखडाले उम्मेदवारी दिएकी छिन्। विगत साँढे तीन दशक लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, पार्टीको विचार र लोकतान्त्रिक मूल्य–मान्यतालाई जनस्तरसम्म पुर्‍याउने तथा स्थानीय विकासका सवालमा सक्रिय रहँदै आएकी सिंखडाले पार्टीलाई रूपान्तरण, पुस्तान्तरण र ऊर्जावान बनाउन आफ्नो उम्मेदवारी दिएकी हुन्।

काठमाडौं क्षेत्र नं. ३ अन्तर्गत तत्कालीन नयाँपाटी गाविसको पार्टी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी सिंखडाले विभिन्न तहमा रहेर पार्टी संगठनमा जिम्मेवारी सम्हालिसकेकी छन्। उनले नयाँपाटी गाविसमा दुईपटक इकाइ सचिवको जिम्मेवारी सम्हालिन्। त्यसपछि क्षेत्रीय सदस्य, क्षेत्रीय सचिव, काठमाडौं जिल्ला सदस्य हुँदै जिल्ला सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन्।

त्यसैगरी उनी दुईपटक काठमाडौं जिल्ला सदस्य, काठमाडौं जिल्ला सचिव तथा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। सिंखडा दुईपटक महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यसमेत भइसकेकी छन्। पार्टीका विभिन्न तहमा रहेर काम गर्ने क्रममा आफूले कांग्रेसको विचार, सिद्धान्त, आदर्श र लोकतान्त्रिक मूल्य–मान्यतालाई जनतासम्म पुर्‍याउने कामलाई प्राथमिकता दिएको सिंम्खडाको भनाइ छ। संगठनलाई जनताको सुख–दुःखसँग जोड्दै स्थानीय तहमा पार्टीको उपस्थिति बलियो बनाउन तथा विकास निर्माणका सवालमा जनतासँग सहकार्य गर्न आफू निरन्तर सक्रिय रहेको उनले बताएकी छन्। काठमाडौं क्षेत्र नम्बर ३ कांग्रेसको बलियाे संगठन भएकाे क्षेत्र हाे। गाेकर्णेश्वर नगरपालिकाकाे मेयर,दुबै प्रदेश सभामा कांग्रेसले जितेकाे छ। प्रतिनिधि सभाकाे अघिल्लो निर्वाचनमा कांग्रेसले जितेकाे थियाे।

सिंखडाले कांग्रेसको परम्परागत राजनीतिक विरासतलाई कायम राख्दै बदलिँदो समय र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। उनका अनुसार कांग्रेसले आफ्नो ऐतिहासिक योगदानलाई आत्मसात् गर्दै संगठनमा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ पुस्तालाई पर्याप्त अवसर दिन सके मात्र पार्टी थप बलियो बन्न सक्छ।

“कांग्रेसको इतिहास र योगदानलाई सम्मान गर्दै पार्टीलाई समयानुकूल रूपान्तरण गर्न आवश्यक छ। नयाँ पुस्ताको ऊर्जा र अग्रज पुस्ताको अनुभवलाई एकीकृत गरेर कांग्रेसलाई अझ सबल र जनमुखी बनाउनुपर्छ,” सिंखडाको धारणा छ। उनले पार्टीभित्र पुस्तान्तरणलाई नेतृत्व हस्तान्तरणका रूपमा मात्र नभई विचार, जिम्मेवारी र अवसरको पुस्तान्तरणका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

महिलाको राजनीतिक सहभागिता र नेतृत्व क्षमता विकासलाई पनि कांग्रेसको संगठनात्मक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा उनले लिएकी छन्। सिंखडाले आगामी दिनमा कांग्रेसलाई संगठनात्मक रूपमा थप सुदृढ, वैचारिक रूपमा स्पष्ट र जनतासँग अझ नजिकको पार्टी बनाउने आफ्नो प्राथमिकता रहेको बताएकी छन्। स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म पार्टी संगठनलाई सक्रिय र प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ।

सिंखडाको अर्को प्रमुख एजेण्डा आगामी स्थानीय तह तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई अत्यधिक सिटमा विजयी गराउनु रहेको छ। त्यसका लागि निर्वाचन आउनुअघि नै वडा, पालिका, क्षेत्र र जिल्लास्तरसम्म संगठनलाई व्यवस्थित, चलायमान र जनमुखी बनाउनुपर्नेमा उनले जोड दिएकी छन्। “कांग्रेसलाई बलियो बनाउने आधार निर्वाचनको समयमा मात्र खोजेर हुँदैन। अहिलेबाटै संगठनलाई जनतासँग जोड्नुपर्छ। कार्यकर्ताको मनोबल बढाउने, युवालाई अवसर दिने र जनताको विश्वास जित्ने काम निरन्तर हुनुपर्छ,” सिंखडाले बताएकी छन्।

कांग्रेसको संगठन विस्तारसँगै विकास निर्माणका सवालमा पनि आफ्नो सक्रियता रहने उनले बताएकी छन्। स्थानीय जनताका आवश्यकता पहिचान गरी विकासका योजना निर्माण, कार्यान्वयन र अनुगमनमा पार्टी तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय हुनुपर्ने उनको धारणा छ। नेता सिंखडाले कांग्रेसलाई केवल निर्वाचनमा मत माग्ने राजनीतिक दलका रूपमा नभई नागरिकका समस्या समाधानका लागि निरन्तर जनतासँग जोडिने संगठनका रूपमा स्थापित गर्नुपर्ने बताएकी छन्। त्यसका लागि पार्टीको तल्लो तहलाई अधिकार, जिम्मेवारी र स्रोतसहित सक्रिय बनाउनुपर्ने उनको जोड छ।

विशेषगरी महिला तथा युवालाई पार्टीको नेतृत्व तहमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने उनले बताएकी छन्। महिलाको सहभागिता संख्या बढाउने विषयमा मात्र सीमित नभई निर्णय प्रक्रियामा उनीहरूको प्रभावकारी भूमिका सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।
लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय सिंम्खडाको उम्मेदवारीलाई पार्टीभित्र अनुभव र नयाँ ऊर्जाको संयोजनका रूपमा हेरिएको छ। स्थानीय संगठनदेखि जिल्ला, प्रदेश हुँदै महाधिवेशन र महासमिति तहसम्मको अनुभवलाई उनले केन्द्रीय नेतृत्वमा उपयोग गर्ने बताएकी छन्।

सिंखडाले कांग्रेसको लोकतान्त्रिक चरित्र, सामाजिक न्याय, समावेशिता, राष्ट्रियता र आर्थिक विकासका एजेण्डालाई समयअनुकूल ढंगले अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ संस्थागत गर्दै कार्यकर्ताको योगदान र क्षमताका आधारमा जिम्मेवारी दिने प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।

१५ औँ महाधिवेशनलाई कांग्रेसका लागि केवल नयाँ नेतृत्व चयन गर्ने अवसरका रूपमा नभई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने सिंखडाको धारणा छ। महाधिवेशनपछि कांग्रेसले संगठन पुनर्निर्माण, नीति तथा कार्यक्रमको पुनर्संरचना र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएकी छन्।

आफ्नो उम्मेदवारी पार्टीलाई थप सबल, समुन्नत र ऊर्जावान बनाउने अभियानसँग जोडिएको बताउँदै सिंखडाले आगामी निर्वाचनमा कांग्रेसलाई अत्यधिक सिटमा विजयी गराएर बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। “कांग्रेसलाई बलियो बनाउनु भनेको केवल पार्टीको संगठन विस्तार गर्नु होइन, जनताको विश्वास जित्नु हो। त्यसैले संगठन, विचार, नेतृत्व र कार्यशैलीमा सुधार गर्दै कांग्रेसलाई नयाँ ऊर्जा र नयाँ विश्वासका साथ अघि बढाउनुपर्छ,” उनले भनेकी छन्।

लामो राजनीतिक अनुभव, संगठनात्मक जिम्मेवारी र महिला नेतृत्वको प्रतिनिधित्वसहित खसआर्य महिला समूहबाट केन्द्रीय सदस्यका लागि अघि बढेकी सिंम्खडाले १५औँ महाधिवेशनलाई कांग्रेसको रूपान्तरण र पुस्तान्तरणको महत्वपूर्ण मोड बनाउनुपर्ने बताएकी छन्। परम्परा र अग्रजहरूकाे सम्मान,अनुभवकाे उपयाेग र उर्जावान युवाहरूलाई जिम्मेवारी अहिलेकाे आवश्यकता हाे। आगामी दिनमा पार्टीलाई जनताको भरोसायोग्य, संगठनात्मक रूपमा बलियो र निर्वाचनमा निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org