गौचरन बन्यो हवाई मैदान,राज्यको लगानी बालुवामा पानी

पोखरा। राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् ।
पोखरा आसपासका लमजुङ, गोरखा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो समयसम्म यसको संरक्षण हुन नसक्दा राज्यको लगानी बालुवामा पानी सरह भएको छ ।
विसं २०१६ सालमा निर्माण सुरु भै २०१८ सालमा सञ्चालित पालुङटार विमानस्थल २०३५ सालमा बन्द भई सञ्चालनमा आउन नसकेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।
विमानस्थल पुनः सञ्चालन हुन नसकेपछि यो विमानस्थल यतिखेर गौचरनमा परिणत भएको छ ।
उहाँले भन्नुभयो, “२०३२/३३ सालसम्म विमानस्थल राम्रैसँग सञ्चालन भइआएको थियो । पृथ्वी राजमार्गमा सडक यातायात सुरु भएसँगै उडान कम हुँदै गएपछि २०३६ सालतिर आएर पूर्ण रुपमा बन्द हुन पुगेको हो ।”
विगतमा सिमरा, काठमाडौं , भैरहवा र हेटौँडामा नियमित उडान हँुदा लगभग ४०० रोपनी क्षेत्रफलको यो विमानस्थलबाट लमजुङ, गोरखा, तनहूँ र मनाङका बासिन्दा निकै सुविधा पुगेको थियो ।
पृथ्वी राजमार्गको निर्माण पूर्व निकै चहलपहल हुने यो विमानस्थलमा चार जिल्लाका स्थानीयवासीको आउजाउका कारण तत्कालीन समयमा व्यापारिक दृष्टिबाट पनि यो निकै उपयोगी बनेको थियो ।
पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमानले उडान भर्दा खुसीले गद्गद् भएका पालुङटारवासीलाई गौचरनमा परिणत भएको विमानस्थल हेर्नु यतिखेर दैनिकी बनेको छ ।
विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा भएपनि हवाइ सेवा बन्द भएपछि अहिले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दैगएको छ ।
यस्तै २०४८ सालदेखि बन्द बलेवा विमानस्थल पनि उडान सेवा चालु नहुँदा र संरक्षण हुन नसक्दा चरन क्षेत्रमा परिणत भएको छ ।
विमानस्थलमा हाल एक जना चौकीदारको दरबन्दी रहेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
बिहानदेखि साँझसम्म विमानस्थलको धावनमार्ग र त्यसको आसपासमा अहिले पशुचौपाया चरिरहेका देखिन्छन् ।
पूर्वाधार भएर पनि प्रयोगविहीन अवस्थामा रहेको विमानस्थलको सञ्चालनलाई चुनावी नारामा मात्र सीमित पार्ने काम भइआएको छ । यसलाई पुनः सञ्चालनमा ल्याउनेतर्फ सरकार एवम् राजनीतिक दलको खासै चासो नदेखिएको स्थानीयवासीको गुनासो छ ।
पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आउनुपूर्व धवलागिरि अञ्चलवासीको आवतजावत हुने यो विमानस्थल लामो समयदेखि बन्द हुँदा धावनमार्ग, टावरलगायत अन्य भौतिक संरचना पनि जीर्ण बन्दै गएका छन् ।
बाग्लुङको सदरमुकामबाट केही टाढा रहेको यो विमानस्थलसम्म सडक मार्ग व्यवस्थित गर्ने हो भने पनि यसको पुनः सञ्चालन सम्भव हरेको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाइँले जानकारी दिनुभयो ।
लगभग ४५० रोपनी क्षेत्रफल सहितको यो विमानस्थल पुनः सञ्चालनमा ल्याउन सकिए पर्यटकीय दृष्टिले लाभदायी बन्ने निश्चित छ ।
यो विमानस्थलको उडान क्षेत्रमा पवित्र कालीगण्डकी नदी, बाग्लुङको कालिका भगवती, म्याग्दीको गलेश्वर धाम, धवलागिरि हिमाल, मुस्ताङको मुक्तिनाथ मन्दिरलगायत प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थल रहनाले पनि यसको पर्यटकीय महत्व ज्यादा छ ।
विसं २०२२ मा निर्माण भएर सञ्चालनमा आएको यो विमानस्थलका उडान सेवा पोखरा–बाग्लुङ जोड्ने राजमार्ग सञ्चालनमा आएसँगै प्रभावित बनेको हो ।
बाग्लुङको नारायणस्थान गाविसमा पर्ने बलेवा विमानस्थल सञ्चालनमा ल्याउन यहाँका राजनीतिक दल, उद्योगी, व्यापारी र सर्वसाधारणले समेत बेलाबेलामा सरकारसामु माग गर्ने गरे पनि त्यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन ।
त्यस्तै, उडान नभएपछि २०६२/६३ पछि बन्द अवस्थामा रहेको अर्को विमानस्थल मनाङको हुम्दे विमानस्थल हो ।
नियमित उडान गर्ने भन्दै केही वर्ष अघि करोडौं रुपैयाँ खर्च गरेर विमानस्थलको धावनमार्ग विस्तार र कालोपत्र गरिए पनि उडान नभएपछि सरकारको लगानी पनि खेर गएको छ ।
पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत पौडेलका अनुसार हुम्दे विमानस्थलमा हाल दुई जना कर्मचारीको दरबन्दी रहेकामा उनीहरू हाल भरतपुर र भैरहवा विमानस्थलमा काजमा रहेका छन् ।
अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने यो विमानस्थल स्तरोन्नति भएसँगै नियमित प्रयोगमा ल्याइए यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास लिइएको छ ।
नियमित उडान भए जहाजमा मनाङ पुगेका पर्यटक केही दिनको बसाइपछि थोराङपास पुगेर मुस्ताङको जोमसोम हुँदै पोखरा फर्कन सक्ने अवस्था भएकाले यो विमानस्थलको विशेष महत्व छ ।
हवाई सेवाको आवश्यकता अन्य समयका अतिरिक्त विभिन्न प्राकृतिक विपत्तिका समयमा बढी हुने भएका कारण सम्भावित प्राकृतिक प्रकोपका समयमा सञ्चालनमा ल्याउन सक्ने गरी विमानस्थल चुस्त दुरुस्त राख्नुपर्ने पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंको भनाइ छ ।
“भूकम्प जस्ता सम्भावित प्रकोपका समयमा सडक मार्गहरू भत्कने हुँदा हवाई मार्ग महत्वपूर्ण विकल्प हुन्छ,” उहाँले भन्नुभयो, “भएका विमानस्थलको संरक्षण गरिए आवश्यकतानुसारको उडान गर्न सकिने संभावनालाई दृष्टिगत गरी यिनीहरूको संरक्षण र विकास गरिनुपर्छ ।”
पोखरा क्षेत्रको पर्यटन उद्योगसँग यस आसपासका विमानस्थलहरु स्वतः जोडिएर आउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताउनुभयो ।
व्यावसायिक रुपमा यात्रुको अभावमा निजी कम्पनीले उडान गर्न नसक्ने अवस्थामा पनि नेपाली ध्वजावाहक नेपाल एयरलायन्सले यी क्षेत्रमा पुनः उडान सञ्चालन गर्न आवश्यक रहेको उहाँको धारणा छ । रासस
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...












