गौचरन बन्यो हवाई मैदान,राज्यको लगानी बालुवामा पानी

पोखरा। राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् ।
पोखरा आसपासका लमजुङ, गोरखा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो समयसम्म यसको संरक्षण हुन नसक्दा राज्यको लगानी बालुवामा पानी सरह भएको छ ।
विसं २०१६ सालमा निर्माण सुरु भै २०१८ सालमा सञ्चालित पालुङटार विमानस्थल २०३५ सालमा बन्द भई सञ्चालनमा आउन नसकेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।
विमानस्थल पुनः सञ्चालन हुन नसकेपछि यो विमानस्थल यतिखेर गौचरनमा परिणत भएको छ ।
उहाँले भन्नुभयो, “२०३२/३३ सालसम्म विमानस्थल राम्रैसँग सञ्चालन भइआएको थियो । पृथ्वी राजमार्गमा सडक यातायात सुरु भएसँगै उडान कम हुँदै गएपछि २०३६ सालतिर आएर पूर्ण रुपमा बन्द हुन पुगेको हो ।”
विगतमा सिमरा, काठमाडौं , भैरहवा र हेटौँडामा नियमित उडान हँुदा लगभग ४०० रोपनी क्षेत्रफलको यो विमानस्थलबाट लमजुङ, गोरखा, तनहूँ र मनाङका बासिन्दा निकै सुविधा पुगेको थियो ।
पृथ्वी राजमार्गको निर्माण पूर्व निकै चहलपहल हुने यो विमानस्थलमा चार जिल्लाका स्थानीयवासीको आउजाउका कारण तत्कालीन समयमा व्यापारिक दृष्टिबाट पनि यो निकै उपयोगी बनेको थियो ।
पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमको विमानले उडान भर्दा खुसीले गद्गद् भएका पालुङटारवासीलाई गौचरनमा परिणत भएको विमानस्थल हेर्नु यतिखेर दैनिकी बनेको छ ।
विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा भएपनि हवाइ सेवा बन्द भएपछि अहिले दिनप्रतिदिन अतिक्रमणको चपेटामा पर्दैगएको छ ।
यस्तै २०४८ सालदेखि बन्द बलेवा विमानस्थल पनि उडान सेवा चालु नहुँदा र संरक्षण हुन नसक्दा चरन क्षेत्रमा परिणत भएको छ ।
विमानस्थलमा हाल एक जना चौकीदारको दरबन्दी रहेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
बिहानदेखि साँझसम्म विमानस्थलको धावनमार्ग र त्यसको आसपासमा अहिले पशुचौपाया चरिरहेका देखिन्छन् ।
पूर्वाधार भएर पनि प्रयोगविहीन अवस्थामा रहेको विमानस्थलको सञ्चालनलाई चुनावी नारामा मात्र सीमित पार्ने काम भइआएको छ । यसलाई पुनः सञ्चालनमा ल्याउनेतर्फ सरकार एवम् राजनीतिक दलको खासै चासो नदेखिएको स्थानीयवासीको गुनासो छ ।
पोखरा–बाग्लुङ राजमार्ग सञ्चालनमा आउनुपूर्व धवलागिरि अञ्चलवासीको आवतजावत हुने यो विमानस्थल लामो समयदेखि बन्द हुँदा धावनमार्ग, टावरलगायत अन्य भौतिक संरचना पनि जीर्ण बन्दै गएका छन् ।
बाग्लुङको सदरमुकामबाट केही टाढा रहेको यो विमानस्थलसम्म सडक मार्ग व्यवस्थित गर्ने हो भने पनि यसको पुनः सञ्चालन सम्भव हरेको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाइँले जानकारी दिनुभयो ।
लगभग ४५० रोपनी क्षेत्रफल सहितको यो विमानस्थल पुनः सञ्चालनमा ल्याउन सकिए पर्यटकीय दृष्टिले लाभदायी बन्ने निश्चित छ ।
यो विमानस्थलको उडान क्षेत्रमा पवित्र कालीगण्डकी नदी, बाग्लुङको कालिका भगवती, म्याग्दीको गलेश्वर धाम, धवलागिरि हिमाल, मुस्ताङको मुक्तिनाथ मन्दिरलगायत प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थल रहनाले पनि यसको पर्यटकीय महत्व ज्यादा छ ।
विसं २०२२ मा निर्माण भएर सञ्चालनमा आएको यो विमानस्थलका उडान सेवा पोखरा–बाग्लुङ जोड्ने राजमार्ग सञ्चालनमा आएसँगै प्रभावित बनेको हो ।
बाग्लुङको नारायणस्थान गाविसमा पर्ने बलेवा विमानस्थल सञ्चालनमा ल्याउन यहाँका राजनीतिक दल, उद्योगी, व्यापारी र सर्वसाधारणले समेत बेलाबेलामा सरकारसामु माग गर्ने गरे पनि त्यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन ।
त्यस्तै, उडान नभएपछि २०६२/६३ पछि बन्द अवस्थामा रहेको अर्को विमानस्थल मनाङको हुम्दे विमानस्थल हो ।
नियमित उडान गर्ने भन्दै केही वर्ष अघि करोडौं रुपैयाँ खर्च गरेर विमानस्थलको धावनमार्ग विस्तार र कालोपत्र गरिए पनि उडान नभएपछि सरकारको लगानी पनि खेर गएको छ ।
पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत पौडेलका अनुसार हुम्दे विमानस्थलमा हाल दुई जना कर्मचारीको दरबन्दी रहेकामा उनीहरू हाल भरतपुर र भैरहवा विमानस्थलमा काजमा रहेका छन् ।
अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने यो विमानस्थल स्तरोन्नति भएसँगै नियमित प्रयोगमा ल्याइए यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास लिइएको छ ।
नियमित उडान भए जहाजमा मनाङ पुगेका पर्यटक केही दिनको बसाइपछि थोराङपास पुगेर मुस्ताङको जोमसोम हुँदै पोखरा फर्कन सक्ने अवस्था भएकाले यो विमानस्थलको विशेष महत्व छ ।
हवाई सेवाको आवश्यकता अन्य समयका अतिरिक्त विभिन्न प्राकृतिक विपत्तिका समयमा बढी हुने भएका कारण सम्भावित प्राकृतिक प्रकोपका समयमा सञ्चालनमा ल्याउन सक्ने गरी विमानस्थल चुस्त दुरुस्त राख्नुपर्ने पोखरा विमानस्थल कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंको भनाइ छ ।
“भूकम्प जस्ता सम्भावित प्रकोपका समयमा सडक मार्गहरू भत्कने हुँदा हवाई मार्ग महत्वपूर्ण विकल्प हुन्छ,” उहाँले भन्नुभयो, “भएका विमानस्थलको संरक्षण गरिए आवश्यकतानुसारको उडान गर्न सकिने संभावनालाई दृष्टिगत गरी यिनीहरूको संरक्षण र विकास गरिनुपर्छ ।”
पोखरा क्षेत्रको पर्यटन उद्योगसँग यस आसपासका विमानस्थलहरु स्वतः जोडिएर आउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताउनुभयो ।
व्यावसायिक रुपमा यात्रुको अभावमा निजी कम्पनीले उडान गर्न नसक्ने अवस्थामा पनि नेपाली ध्वजावाहक नेपाल एयरलायन्सले यी क्षेत्रमा पुनः उडान सञ्चालन गर्न आवश्यक रहेको उहाँको धारणा छ । रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












