ताजा समाचार

तत्काल राजदुत नियुक्त गर्न सरकारलाई श्रम समितिको निर्देशन

 

काठमाडौं, १८ माघ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिले खाली रहेका मुलुकमा तत्काल राजदुत नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समिति बैठकले धेरै देशमा राजदुत नहुँदा नेपालको कुटनीतिक भूमिका कमजोर भएको भन्दै तत्काल नियुक्त गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै अवैतानिक वाणिज्य दुत रिक्त रहेको ठाउँमा तत्काल पुर्ति गर्न, निश्क्रिय रहेकालाई सक्रिय बनाउन र नयाँ स्थानमा अवैतानिक वाणिज्य दुत नियमावली अनुसार नियुक्त गर्न पनि समितिले निर्देशन दिएको छ ।

यस्तै अवैतानिक वाणिज्य दुतले गरेका कामको प्रत्येक वर्ष वस्तुगत मूल्याङ्कन गरेर प्रभावकारी काम गर्न नसक्ने व्यक्तिको कार्य अवधी नथप्न तथा देशको आवश्यकताको आधारमा मात्र नियूक्त गर्न पनि परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति प्रभु साहले जानकारी दिनुभयो ।

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रकाश शरण महतले राजदुत रिक्त रहेका मुलुकमा चाँडै नियुक्त गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले मिति घोषणा गर्दा काम नभए असर पर्ने भन्दै चाँडै राजदुत नियुक्त गर्ने बताउनुभएको थियो । समिति सदस्यले राजदुत राजनीतिक भागवण्डाका आधारमा भन्दा पनि दक्ष र योग्य व्यक्ति चयन गर्न सुझाव दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org