संसद बैठक दुई साता स्थगित भएपछि यी विधेयक अलपत्रमा
काठमाडौं,२४ माघ । संविधान संशोधनपछिमात्र निर्वाचन मिति घोषणा गर्ने कांग्रेसले मधेशी मार्चालाई आश्वास दिएकै दिन संसद बैठक आगामी फागुन १० गतेसम्मका लागि स्थगित भएको छ ।
संसद बैठक स्थगित भएसँगै निर्वाचन मिति घोषणा गर्ने सरकारको तयारी, संविधान संशोधन र राजनीतिक दलसम्बन्धी विधेयक अलपत्र परेका छन् । स्थानीय तह निर्वाचन गर्ने प्रमुख कार्यादेश सहित गत साउन १९ गते गठन भएको पुष्पकलम दाहाल नेतृत्वको वर्तमान सरकारले ६ महिना बितिसक्दा समेत चार वटा विधेयक पारित गर्न बाहेक संविधान कार्यान्वयनको ठोस कार्ययोजना अघि सार्न सकेको छैन ।
संविधान संशोधन विधेयकलाई लिएर एमाले सहितका प्रतिपक्षी दलले लामो समय गरेको संसद अवरोध र लोकमानसिंह कार्कीबिरुद्धको महाअभियोग प्रस्तावका कारण संविधान कार्यान्वयनको ठोस कार्ययोजना ल्याउन नसकेको सरकारको स्पष्टोक्ति छ ।
सरकारले संसदमा प्रस्तुत गरेका पाँच वटा विधेयकमध्ये चार वटा पारित भएपनि थ्रेसहोल्डमा सहमति हुन नसक्दा राजनीतिक दलसम्बन्धी विधेयक पारित हुन सकेको छैन । प्रत्येक घण्टा एउटा निर्णयका साथ अघि बढेमात्र आगामी माघ ७ गते भित्र तीनै तहको निर्वाचन सम्भव रहेको सुझाव विज्ञले सरकारलाई दिएपनि सत्तारुढ दल भने सत्तासमर्थित र प्रतिपक्षलाई मनाउने ध्याउन्नमा समय खर्चिरहेछन् । गत बैशाख २० गतेबाट निरन्तर जारी रहेको संसद अधिवेशन पछिल्लो समय साना तिना एजेण्डामा केन्द्रित हुने गरेको छ ।
सभामुख ओनसरी घर्तीले संसदमा तत्काल महत्वपूर्ण विधेयक नभएकाले सरकारलाई थप सहमतिको समय उपलब्ध गराउन संसद बैठक स्थगित भएको बताउनुभयो । लामो समयदेखि जारी बैठकका कारण सम्बन्धित जिल्लामा सांसदहरुको कामकारवाही समेत प्रभावित भएकाले बैठक स्थगित भएको उल्लेख गर्दै उहाँले सांसदहरुको आग्रहमा फागुन १० गतेका लागि अर्को बैठक डाकिएको जानकारी दिनुभयो ।
सभामुख घर्ती संसद अधिवेशन नै अन्त्य गर्ने मनस्थितिमा रहेपनि संशोधन विधेयक अलपत्र पारी अधिवेशन अन्त्य गर्न नहुने मधेशी मोर्चाको अडानका कारण सरकार पछि हटेको संसद सचिवालय स्रोतको भनाई छ । प्रमुख प्रतिपक्षी एमालेले भने निर्वाचन नगराउने मनशायका साथ सरकारको आग्रहमा संसद बैठक लामो समयसम्मका लागि स्थगित भएको भन्दै आपत्ति जनाएको छ । मन्त्रीपरिषद् निर्णय विपरित प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चासँगको छलफलमा निर्वाचन मिति घोषणा नभएको बताउनु शंकास्पद भएको एमालेको भनाई छ ।
प्रमुख सचेतक भानुभक्त ढकालले थ्रेसहोल्डमाथि विवाद देखाएर संसद बैठक स्थगित हुनु दुर्भाग्यपूर्ण भएको बताउदै आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने समयसीमा चुनौतीपूर्ण भएको दावी गर्नुभयो । ढकालले भन्नुभयो, ‘बिजनेस नदिएर सरकार संसदलाई कमजोर बनाउन खोज्दैछ । निर्वाचनसँग सम्बन्धित चार वटा विधेयकको मस्यौदा तयार नहुनु र राजनीतिक दलसम्बन्धी विधेयक राज्यब्यवस्था समितिमा अलपत्र बनाउनुले निर्वाचन नगराउने सरकारको नियत प्रष्ट भएको छ ।’ यद्यपी सत्तानेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले भने एमालेको आरोप सरासर गलत भएको बताएको छ । केन्द्रका मुख्य सचेतक टेकहादुर बस्नेतले निर्वाचनको वातावरण बनाउनकै लागि संसद बैठक दुईसाताकालागि स्थगित भएको दावी गर्नुभयो । राजनीतिक दलसम्बन्धी विधेयकमा सहमति जुटाउन समय आवश्यक रहेको र बांकी विधेयकको समेत मस्यौदा निर्माण गर्नुपर्ने भएकाले बैठक लामो समय स्थगित गरिएको बस्नेतको दावी छ । संसदको अधिवेशन नै अन्त्य गर्ने अवस्था तत्काल नरहेकाले सांसदको नियमित कामका लागि समेत फागुन १० गतेमात्र बैठक बस्ने उहाँको तर्क छ । माओवादी केन्द्रका मूख्य सचेतक बस्नेतले भन्नुभयो, ‘सरकार निर्वाचन उन्मुख भईसकेकोछ, यसका कसैले शंका नगरे हुन्छ । निर्वाचनको वातावरण बनाउनकै लागि सांसदहरुलाई गाउँ जाने समय दिन बैठक दुई साताका लागि स्थगित भएको हो । ‘सत्तारुढ प्रमुख दलहरु माओवादी केन्द्र र नेपाली कांग्रेसको शीर्ष नेतृत्वले संविधान संशोधन पछि मात्र निर्वाचनको मिति घोषणा गर्ने आश्वासन सत्तासमर्थित मधेशी मोर्चालाई दिदै आएका छन् । सरकार गठनको समय भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि एक साता लामो अल्टिमेटम गत शनिवार सकिएपनि मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गरेको छैन । संविधान संशोधनपछि मात्र निर्वाचनको मिति घोषणा गर्ने सत्तारुढ दलको आश्वासनमा ढुक्क देखिएको मोर्चाले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीबारे समेत औपचारिक धारणा ल्याएको छैन । सरकारले प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र निर्वाचन क्षेत्र निर्धारण आयोगसम्बन्धी थप चार वटा विधेयकको मस्यौदा समेत तयार गर्न सकेको छैन । दलहरुबीच सहमति हुन नसक्दा स्थानीय तह पुनस्संरचना आयोगले गत पुष २२ गते सरकारलाई बुझाएको प्रतिवेदन समेत अलपत्र परेको छ । प्रतिवेदनमाथि पुनर्बिचार आश्वयक देखेको सरकारले तीन सदस्यीय समिति गठन गरेपनि त्यसले काम थालेको छैन ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












