शहिद परिवारको रकम मधेशी मोर्चाका नेताले खाइदिए !
सिरहा । बिहे गरेको नौ वर्ष नपुग्दै पति गुमाएकी उनलाई एक्लै चार सन्तान हुर्काउने भार पर्यो रामपरीदेवीलाई । उनले हुर्किसकेकी छोरी बिभाको जसोतसो गत फागुन २२ गते विवाह गरिदिइन्। अहिले बिहेको ऋणले थलिएकी छन्। अरू दुई छोरी र एक छोरालाई पढाउने खर्च जुटाउने पिरलो पनि छँदैछ।
सहिद परिवारलाई सरकारले दिएको १० लाख रुपैयाँबाट सहिदको प्रतिमा बनाउने भन्दै मधेसवादी नेताले एक लाख सापट लिएका थिए तर अहिलेसम्म फर्काएका छैनन्।
रामपरीको जीवनमा त्यति बेला बज्रपात भयो जब पति बेचन यादवको पहिलो मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी ज्यान गयो। लहान बजारमा घरको सामान खरिद गर्न आएका बेचनको २०६३ माघ ७ गते सुरक्षाकर्मीको गोलीले ज्यान गएको थियो। त्यस बेला छोरा आनन्द ६ महिनाका मात्रै थिए। छोरी शोभा सात वर्ष, बिभा चार वर्ष र मनतोरिया दुई वर्षका थिए।
घरका मियो बेचनको निधनले रामपरी धेरै दिनसम्म ओछ्यान परिन् तर लालाबाला हुर्काउने जिम्मेबारी सम्झेर मन थामिन्।
सरकारले मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गरी १० लाख क्षतिपूर्ति उपलब्ध गरायो। तर, रामपरीको हातमा नौ लाख मात्र पर्यो। एक लाख रुपैयाँ मधेसी मोर्चाका स्थानीय नेताले सापटी भनेर लिए। ‘यो रकम पछि फिर्ता गर्ने सर्तमा सहिदको प्रतिमा स्थापित गर्न भनेर उनले लिएका थिए। तर, अहिलेसम्म सहिद परिवारले फिर्ता पाएको छैन।
नौ लाख लिन जिल्ला प्रशासन र गाउँ विकास समितिमा कागजी प्रमाण जुटाउन दौडधुप गर्दा ५० हजार खर्च भयो। बाँकी आठ लाख ५० हजारबाट गाउँमै खेत जोडेकी रामपरी भन्छिन्, ‘१० कट्ठा जमिनको उत्पादनले गुजारा चलाउन धौधौ छ।’
फागनु २२ गत्ते रामपरीले छोरी बिभाको बिहे गर्दा कुनै मधेसी नेता उपस्थित भइदिएनन्। बिहेको जोरजाममा पनि कसैले सहयोग गरेनन्। ‘सहिद परिवारको दुःखमा मलम लगाउने त परको कुरा, सोधीखोजी गर्न समेत कोही आउँदैनन्’, उनले भनिन्।
सहिदको सम्मानमा प्रत्येक वर्ष माघ ५ गते लहानमा मनाइने बलिदानी दिवसमा समेत पछिल्लो दुई वर्षयता आफूलाई सोधखोज गर्न छाडिएको रामपरीको गुनासो छ। ‘हामी आफैं त्यो दिन सहिद पार्कमा पुगेर आँसुको भारी बिसाएर घर फर्किन्छौं’, आँखाभरि आँसु बनाउँदै उनले भनिन्, ‘आँसु पुछिदिनेसमेत कोही हुन्नन्।’
त्यति बेला सहिदका सन्तानलाई पठनपाठन निःशुल्क हुन्छ भनिएको थियो। तर, मासिक ४ हजार ५ सय रुपैयाँ खर्चेर छोरा पढाउनुपरेको उनी बताउँछिन्। उनका छोरा आनन्द यादव लहानस्थित रेन्बो बोर्डिङ स्कुलमा होस्टेल बसेर पढ्दै छन्। दुई छोरीलाई सामुदायिक विद्यालयमा पढाउँदैछिन्। निःशुल्क पठनपाठनको व्यवस्था भइदिए छोरीहरूलाई पनि गुणस्तरीय शिक्षा पढाउने उनको धोको छ।
पाँच वर्ष भयो उनी कार्यालय सहयोगीको रुपमा लहानस्थित भूमिगत सिँचाइ डिभिजन कार्यालयमा काम गर्न थालेको। ‘करारको जागिर, कति बेला हट्नुपर्ने थाहा छैन’, उनी भन्छिन्, ‘यो जागिर स्थायी भइदिए राहत पुग्थ्यो।’ उनले थपिन्, ‘पतिको बलिदानीको सिँढी चढेर धेरै अनुहार चर्चित नेता भए, कति मन्त्री भए तर हाम्रो दुःखमा मलम लगाउने कोही भइदिएनन्।’
पहिलो मधेस आन्दोलनको उद्गम स्थल लहानमा त्यस बेला मृत्युवरण गरेका बेचनको परिवार मात्र होइन, रमेश महतो, अनिस राई, प्रमोद सदाय र विजय सहनी परिवारको पनि उस्तै बेहाल छ। नागरिक दैनिकबाट
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












