३३ वर्षमा प्रवेश गरेको सार्क युवाअवस्थामा नै ८० वर्षको बृद्धजस्तै
काठमाडौँ, २२ मंसिर । दक्षिण एशियाको समृद्धि र यस भेगका गरिब जनताको जीवनस्तर उकास्ने लक्ष्यका साथ स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आजदेखि ३३ औँ वर्षमा प्रवेश गरेको छ ।
युवावयमा हिँडिरहेको सार्कले सदस्य देशका द्विपक्षीय विषयका कारण अपेक्षित गति लिन नसक्दा दक्षिण एशियाको विकास पनि कछुवाको गतिमा भइरहेको छ । गरिबीको दुष्चक्रबाट दक्षिण एशियाका जनताले मुक्ति पाएका छैनन् ।
आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एशियाका आठ मुलुकको साझा संगठनले यहाँका दुई अर्ब भन्दा बढी जनताको समृद्धिको सपना साकार पार्ने प्रयास भने नगरेको होइन ।
बितेका ३२ वर्षमा सार्कले सुखदुःखका बेला एकअर्कालाई नजिक मात्र ल्याएन कृषि, लगानी, व्यापार, यातायात, सञ्चार र जनस्तरको सम्पर्क विस्तारको क्षेत्रमा सराहनीय काम गरेको छ । सार्कको दक्षिण एशियाली पहिचानलाई शीर्ष नेताको ‘रिट्रिट’ले आपसी मनोमालिन्य र कटुतालाई मैत्रीमा परिणत गरेको छ भने भैंचालो र सुनामीका बेला आपत्कालीन सहयोग गर्ने परम्परा पनि सार्ककै सदस्य देशले बसालेका छन् ।
आर्थिक एवं सामाजिक क्षेत्रमा केन्द्रित सार्कले लक्ष्यित उद्देश्य हासिल गर्ने इमानदार प्रयत्न भने नगरेको होइन । सार्क बीउबिजन र खाद्यान्न भण्डार, सार्क प्रवेशाज्ञा, दक्षिण एशियाली विश्वविद्यालयलगायत पारस्परिक सहयोग अभिवृद्धिका लागि संयन्त्र निर्माणलाई सकारात्मक मान्नुपर्छ । शिखर सम्मेलन आयोजनामा विलम्ब भएपनि मन्त्रिस्तरीय बैठक भइरहेका छन् र तिनका निर्णय कार्यान्वयनको प्रक्रियामा गएका छन् ।
मानव संसाधन विकास तथा पर्यटन, कृषि तथा ग्रामीण विकास, वातावरण, प्राकृतिक विपत्ति र जैविक प्रविधि, अर्थ, व्यापार, वित्त, सूचना तथा सञ्चार प्रविधि एवं गरिबी निवारण, ऊर्जा, यातायात, विज्ञान तथा प्रविधिका साथै शिक्षा, सुरक्षा र संस्कृतिको क्षेत्रमा सार्कले काम गरिरहेको छ ।
सार्क बडापत्रमा हस्ताक्षर भएको र सार्क स्थापना भएको ३३ औँ वार्षिकोत्सवका अवसरमा सार्क मुलुकका नागरिकमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सार्क बडापत्रलाई आठ राष्ट्रको साझा इच्छा र संकल्पको अभिव्यक्ति भएको बताउनुभएको छ ।
आज दिनुभएको सन्देशमा उहाँले दक्षिण एशियाको शान्ति, स्थायित्व, आर्थिक विकास र सामाजिक–सांस्कृतिक विकासका लागि सार्क अपरिहार्य भएको बताउँदै सार्कको उद्देश्य हासिल गर्न लामो समय र ठूलो धनराशी लगानी भएको स्मरण गर्नुभएको छ ।
विकासका चाहना र चुनौती बढिरहेका बेला सार्कलाई गतिशील संगठन बनाउन सबै सदस्य मुलुकबाट अझ घनीभूत प्रयास हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले दक्षिण एशियामा उपलब्ध स्रोत र साधनको उपयोग हुन नसकेको सन्दर्भमा प्रगति र समृद्धिका निम्ति तिनको उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
दक्षिण एशियाका जनताको कल्याण, जीवनस्तरमा सुधारका साथै सकारात्मक प्रभाव पार्न परिणाममुखी परियोजनामा लगानी गर्नुपर्ने तथा यसका निम्ति सार्कका सदस्य राष्ट्रले साझा संकल्प गर्नुपर्ने प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।
सार्क बडापत्रको भावनाअनुसार यसका उद्देश्य हासिल गर्न अर्थपूर्ण क्षेत्रीय सहयोग अपरिहार्य भएको बताउँदै उहाँले सार्कप्रतिको नेपालको अटूट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सार्कलाई गतिशील संस्था बनाउन अध्यक्षका हैसियतले नेपालले रचनात्मक भूमिका निर्वाह गर्दै सार्कका लक्ष्य र उद्देश्य प्राप्तिमा सदस्य देशसँग सहकार्य गर्न सधैं तयार रहेको स्पष्ट गर्नुभएको छ ।
दक्षिण एशियाको शान्ति र विकासका निम्ति आपसी विश्वास, समझदारी, सहयोग र साझेदारीका साथै सुदृढ क्षेत्रीय सहयोग एवम् एकीकरणको मार्गमा अग्रसर हुन सार्क बडापत्र दिवसले सबैलाई प्रेरित गर्ने विश्वास पनि सार्कका अध्यक्ष प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाका बासिन्दालाई एकआपसमा जोड्दै व्यापार, विचार, मानिस र पुँजीको प्रवाह गरी समुन्नत दक्षिण एशिया बनाउने सार्कका लक्ष्य प्राप्तिमा केही प्रगति भए पनि अझै धेरै गर्न बाँकी रहेको बताउनुभएको छ ।
तेत्तीसौँ सार्क बडापत्र दिवसका अवसरमा आजै दिनुभएको सन्देशमा भारतका प्रधानमन्त्रीले क्षेत्रीय सहयोग र विकासको पहिलो शर्त शान्तिसुरक्षा हो भन्दै आतंकको अभिशाप सार्क मुलुकको विकासको बाधक भएका बताउनुभएको छ ।
सन्देशमा उहाँले आतंकवादलाई सघाउने प्रणालीलाई समूल नष्ट गर्नुपर्नेमा जोड दिँदै दक्षिण एशियाका जनताको शान्ति र समृद्धि सुनिश्चित गर्न सामूहिक सहकार्यका निम्ति आह्वान गर्नुभएको छ ।
काठमाडौँमा सम्पन्न १८ औँ सार्क शिखर सम्मेलनका बेला सार्कका निम्ति आफूले कोरेका खाकालाई व्यवहारमा अनुवाद गर्ने प्रयासस्वरुप हालै दक्षिण एशियाली भूृउपग्रह प्रक्षेपण, सार्क विपद् व्यवस्थापन केन्द्र र दक्षिण एशियाली विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउन भएका प्रयासको चर्चा प्रधानमन्त्री मोदीले गर्नुभएको छ ।
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले दक्षिण एशियाका छिमेकी मुलुकबीच क्षेत्रीय सहयोग प्रवद्र्धनमा सार्कले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै द्विपक्षीय सहयोग र साझोदारीलाई दिगो तुल्याउनसमेत सार्क उपयुक्त माध्यम बनेको विचार प्रकट गर्नुभएको छ ।
उहाँले सहकार्य र मैत्रीको भावना बोकेको सार्क बडापत्रप्रति श्रलिंकाको पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भुटानका प्रधानमन्त्री दासो छिरिङ तोब्गेले सार्कले आर्थिक विकासका प्राथमिकता प्राप्त क्षेत्रमा सदस्य मुलुकबीच नियमितरुपमा छलफल र विचार आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सामाजिक, आर्थिक विकासका साथै समझदारी, मैत्री र सहयोग अभिवृद्धिका लागि दक्षिण एशियाको अद्वितीय संस्थाका रुपमा सार्क रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।
बंगलादेशका विदेशमन्त्री अबुल हसन महमुद अलिले दक्षिण एशियामा आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक समृद्धिका लागि सदस्य मुलुकबीच समझदारी र सहयोगको मात्रा अधिक हुनुपर्नेमा जोड दिनुभएको छ ।
अफगानिस्तानका उपविदेशमन्त्री अडेला राजले क्षेत्रीय सहयोगका लागि सबल एवं सुदृढ बाहनका रुपमा रहेको सार्कलाई क्रियाशील तुल्याउन अफगानिस्तान सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्न दृढ रहेको बताउनुभएको छ ।
सार्कका महासचिव अमजद हुसैन बी सियालले दक्षिण एशियामा, शान्ति, स्थायित्व र मित्रता प्रवद्र्धन गर्ने सार्क महत्वपूर्ण माध्यम बनेको बताउँदै सदस्य मुलुकबीचहरुको प्रगति सार्वभौमिक समानता, क्षेत्रीय अखण्डता, राष्ट्रिय स्वाधीनता, बलको प्रयोग नगर्नुका साथै आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको अवलम्बनबाट नै सम्भव हुने विचार व्यक्त गर्नुभएको छ ।
सार्क बडापत्र दिवसको अवसरमा उहाँले गरिबी निवारण, आर्थिक तथा व्यापार विस्तार, कृषि, शिक्षा, ऊर्जा, संस्कृति, क्षेत्रीय सम्पर्क विस्तार, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तन, वित्त तथा लगानी, शान्ति सुरक्षा, दैवी विपत्ति न्यूनीकरण तथा व्यवस्थापन, आतंकवाद विरुद्धको लडाइँ, लागुऔषध ओसारपसार नियन्त्रण, सार्क देशका जनता–जनताबीचको सम्पर्क विस्तार, पर्यटनलगायत कैयौँ क्षेत्रमा सार्कका गतिविधि फैलिएका र तिनको प्राप्तिमा सार्क लागिपरेको बताउनुभएको छ । रासस
Comments
अरु समाचार
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...











