स्थानीय तहमा १५ हजार कर्मचारी भर्ना गर्ने तयारी !
काठमाडौं । सरकारले स्थानीय तहलाई करिब १५ हजार प्राविधिक कर्मचारी करारमा भर्ना गर्न अनुमति दिने तयारी गरेको छ ।
कर्मचारी नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेपछि सरकारले तत्कालका लागि करारमा भर्ना गर्न अनुमति दिन लागेको हो । सरकारले स्थानीय तहलाई अहिलेसम्म प्राविधिक र अन्य समूहका आवश्यक कर्मचारी दिन सकेको छैन । कानुनको अभावमा स्थानीय तहले कर्मचारी भर्ना गर्न पाएका छैनन् ।
‘स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४’ प्रस्ताव तयार गरेको छ । प्रस्तावित कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि स्थानीय तहले आवश्यक प्राविधिक सेवाका कर्मचारी आफैँ प्रक्रिया पूरा गरी भर्ना गर्न सक्नेछन् ।
मन्त्रालयले प्राविधिक सेवाअन्तर्गत इन्जिनियरिङ सेवा, कृषि सेवा, पशु सेवा, वन सेवा र स्वास्थ्य सेवामा कर्मचारी करारमा लिन अनुमति दिन लागेको हो । मन्त्रालयले यसरी करारमा नियुक्त गर्ने कर्मचारीको हरेक वर्ष करार नवीकरण हुने र त्यस्ता कर्मचारीले अस्थायी वा स्थायी नियुक्तिका लागि दबाब दिन नसक्ने व्यवस्थासमेत प्रस्ताव गरेको छ ।
इन्जिनियरिङ सेवाः सात हजार (दुई हजार इन्जिनियर, पाँच हजार जुनियर इन्जिनियर) स्थानीय विकास मन्त्रालयले एउटा गाउँपालिकामा कम्तीमा एकजना इन्जिनियर र दुईवटा वडालाई कम्तीमा एकजना ओभरसियर हुनुपर्ने जनाएको छ ।
गाउँपालिकाले इन्जिनियर नभई नक्सा पास गर्न नसक्ने र अन्य प्राविधिक कामका लागि ओभरसियर आवश्यक परेको मन्त्रालयको भनाइ छ । अहिले इन्जिनियर र ओभरसियर नहुँदा स्थानीय तहले पुँजीगत खर्च गर्न सकेका छैनन् । सरकारले जिल्ला प्राविधिक कार्यालयमा रहेका इन्जिनियरलाई स्थानीय तहमा खटाए पनि करिब सात हजार इन्जिनियर र ओभरसियर अझै अपुग छ ।
मन्त्रालयका अनुसार कृषि विकास र पशुपक्षी मन्त्रालयअन्तर्गतका जिल्ला कार्यालयका प्राविधिक कर्मचारीलाई स्थानीय तहमा खटाइएको छ । तर, अधिकांश स्थानीय तहमा कृषि सेवाका कर्मचारी अभाव छ । कर्मचारीको अभावमा कृषिसम्बन्धी कार्यक्रम प्रभावित बनेका छन् । मन्त्रालयले कृषि सेवाअन्तर्गत अमिन, सर्वेक्षक, जेटिए र भेटेरेनरीमा कम्तीमा चार हजार जनशक्ति चाहिने अनुमान गरेको छ ।
वन र स्वास्थ्य सेवाः चार हजार (नर्स, अहेव, एचए र वनसँग सम्बन्धित प्राविधिक कर्मचारी) मन्त्रालयले स्थानीय तहमा स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्रलगायतका स्वास्थ्यसँग सम्बन्धित सेवा प्रवाहका लागि करिब तीन हजार कर्मचारी भर्ना गर्नुपर्ने जनाएको छ । यस्तै, वन प्राविधिकको रूपमा करिब एक हजार कर्मचारी अपुग छन् ।
मन्त्रालयले प्राविधिक जनशक्तिको अभावमा स्थानीय तहले पुँजीगत खर्च गर्न नसकेको जनाएको छ । संघीय सरकारले आवश्यक पर्ने प्राविधिक कर्मचारी दिन नसक्ने र स्थानीय तह आफैँले कर्मचारी भर्ना गर्न नसकेपछि मन्त्रालयले करारमा कर्मचारी भर्ना गर्न स्वीकृति दिने तयारी गरेको हो ।
स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले स्थानीय तहलाई प्राविधिक कर्मचारी भर्ना गर्न अनुमति नदिए उनीहरूले बजेट खर्च गर्न सक्ने स्थिति नभएको बताए । संघीय सरकारले इन्जिनियरलगायतका प्राविधिक कर्मचारी दिन नसकेपछि अल्पकालीन व्यवस्थाका लागि यस्तो प्रस्ताव गरिएको उनको भनाइ छ ।
प्रस्तावित कार्यविधिअनुसार करार कर्मचारी छनोट गर्दा आवश्यक कर्मचारीको पद, योग्यता, सेवासर्त तोकी १५ दिने सूचना प्रकाशित गर्नुपर्नेछ । त्यसरी प्राप्त भएको निवेदन अध्ययन गरी कर्मचारी छनोट गर्न सम्बन्धित स्थानीय तहको कार्यकारी अधिकृत संयोजक रहेको समिति हुनुपर्नेछ ।
समितिमा जिल्ला समन्वय समितिको अधिकृत र स्थानीय तहको शाखा अधिकृत सदस्य हुनेछन् । तीन सदस्यीय समितिले करारमा कर्मचारी भर्ना गर्न सक्नेछ । कर्मचारी छनोट गर्दा शैक्षिक योग्यतालाई श्रेणीअनुसार ४० देखि ७० अंक, अनुभवका आधारमा बढीमा १० अंक र अन्तर्वार्तामा बढीमा २० अंक दिन सकिनेछ । यस्तै, स्थानीयवासीलाई थप २० अंक दिनुपर्नेछ । यस्तो विधिबाट करार कर्मचारी छनोट गर्नुपर्नेछ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












