अन्नपात र गाईभैँसी बेचेर विद्यालय पुनःनिर्माण
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनःनिर्माण गरिएको छ ।
विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन पुनःनिर्माण गरेर जनसहभागीतामूलक विकासको नमूना प्रस्तुत गरेका छन् । वि.सं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ । छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताएका छन् । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनःनिर्माणसँगै हटेको छ ।
गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए ।
“प्रवासमै रहनुभएका स्थानीयवासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, सङ्घ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो”, प्रअ जिसीले भने ।
विद्यालय भवन पुनःनिर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष रत्न जिसीले बताए। समुदायको अग्रसरतामा सङ्घ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुनःनिर्माणमा राहत भएको उनको भनाइ छ ।
भवन बनाउने अभियानमा नगद रु पाँच सयदेखि रु १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले जानकारी दिए ।उनका अनुसार, पुनःनिर्माण भएको विद्यालय भवनको एक समारोहका बीच उद्घाटन गर्ने तयारी छ । उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिनेछ ।
विद्यालय भवन पुनःनिर्माणमा समुदायका मात्रै दुई सय १२ चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा सङ्कलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनःनिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् ।
विद्यालय भवन पुनःनिर्माणमा करिब रु तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट रु तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कूल लागतको आधाभन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीवासीकै नेतृत्व र अगुवाइमा जुटाइएको हो । विद्यालयलाई चन्दादातामार्फत थप सहयोग आउने क्रम जारी छ । नेपाल सरकारका विभिन्न निकायबाट रु एक करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट रु ९५ लाख, विभिन्न सङ्घ संस्थाबाट रु नौ लाख र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा रु ६२ लाख सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमले रु ३८ लाख सहयोग गरेको विद्यालयले जनाएको छ ।
पुरानो भवन जीर्ण भएकाले गाउँका सबै सरोकारवाला र प्रवासीबीच बृहत् छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधासम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष पदमबहादुर पुनले बर्ताए । “विसं २०४५ मा बनाइएका साँघुरा भवनमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाइमा विद्यालय पुनःनिर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयवासी र प्रवासी भकिम्लीवासीले मन फुकाएर सहयोग गर्नुभयो, सङ्घ संस्था र सरकारी तवरबाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेको छ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ”, अध्यक्षले भने ।
यो विद्यालय भवन पुनःनिर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीवासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन् । वि.सं २०१६ पुस १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ । वि.सं २०१७ मा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आइपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतीलाई सामाना गर्दै अघि बढेको देखिन्छ ।
तत्कालीन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्व.नारायण देवी रोकाले एक रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो । वि.सं २०२८ मा प्रा.विबाट निमावि तहमा स्तरोन्नति भएको यो विद्यालयमा २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिएको थियो । लामो समयसम्म निजी स्रोतबाट मा.वि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनीय योगदान गर्दै आएका छन् । तत्कालीन समयमा पिपलको बोटमुनिको चौतारीबाट पठनपाठन गराउन सुरु भएको यस विद्यालय आजको अवस्थामा पुगेको हो ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड दैनिक चार घण्टा बन्द हुने !
काठमाडौं । धमाधम स्तरोन्नति भइरहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकको विजयपुर खण्ड बुधबारदेखि ९ दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको...
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान !
काठमाडाैं । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
रसुवामा फसेका १२ जनालाई स्याफ्रुवेशी ल्याइयाे, चारजना अझै बेपत्ता !
काठमाडाैं । अविरल वर्षाका कारण रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ ड्यामसाइड क्षेत्रमा फसेका व्यक्तिहरूमध्ये १२ जनालाई नेपाली सेनाको उद्धार टोलीले सकुशल...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












